|
दानास्थित विद्युत सबस्टेसन।

म्याग्दी : विश्वभर महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनका कारण बन्द भएका म्याग्दीका पाँच जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ। विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरी निर्माण कार्यलाई पुन: निरन्तरता दिइएको हो।

लकडाउनका कारण निर्माण कार्य रोकिएको ४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको नीलगिरी खोला, र ६२ मेगावाटको नीलगिरी-२ आयोजनाको निर्माण फेरि थालिएको हो।

रघुगंगा गाउँपालिकाले अनुमति दिएपछि राहुघाटको काम सुचारु गरेको आयोजना प्रमुख गणेश केसीले बताए। ‘५०० कामदार आयोजना स्थलमै थिए,’ उनले भने, ‘प्रशासनसँग समन्वय भएपछि बाह्रय व्यक्तिको प्रवेश हुन नदिइ स्टोर गरिएको निर्माण सामाग्रीबाट काम अघि बढाएका छौं।’ उनले आयोजना स्थलमा भएका सबै कामदार परिचालन गरेको बताए।

आयोजनाको बाँध, सुरूङ र विद्युतगृहको निर्माण एकसाथ सुरू गरेको पनि उनले बताए। जिल्ला प्रशासन कार्यालयले आयोजनाका ६ वटा गाडीलाई बिस्फोटक पदार्थ आयात गर्नका लागि पास उपलब्ध गराएको छ। निर्माण सामाग्री आयात गर्ने गाडीका लागि पनि पास लिने प्रक्रिया अघिबढेको रघुगंगा हाइड्रो पावर कम्पनीले जनाएको छ।

आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ। आयोजनाबाट उत्पादित विद्युत ६०० मिटर दूरीमा निर्माण हुने २२० केभी कालीगण्डकी कोरिडोरको टावरमा ट्यापिङ लाइन जोडेर विद्युत प्रसारण गरिनेछ।

यस्तै, निर्माण अन्तिम चरणमा पुगेको मिस्त्री खोलाको काम पनि भइरहेको सिभिल ठेकेदार हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनीका कार्यकारी निर्देशक तारानाथ सापकोटाले बताए।

‘लकडाउनका कारण दुई साताजति काम रोकियो,’ उनले भने, अहिले २५० कामदार आयोजना स्थलमा खटिएका छन्।’ निर्माण सामाग्रीको अभाव नभए पनि केही साना उपकरण सञ्चालन गर्न लकडाउनले असर गरेको उनले बताए। यो आयोजनाको विद्युत चालू आर्थिक वर्ष्भित्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ।

यसैगरी नीलगिरी खोला, र नीलगिरी खोला-२ को निर्माण पनि तीन दिनअघिबाट सुचारु भएको आयोजनाका आवासीय इन्जिनियर रत्न बम्जनले बताए। उनका अनुसार नीलगिरी खोलामा पहुँच मार्ग निर्माण हुँदैछ भने नीलगिरी खोला-२ को संरचना निर्माण गर्न सुरू गरिएको छ। घारखोलाको अवरूद्ध काम पनि अघि बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.