करिब साढे दुई लाख मानिस प्रदेश भित्रिए, ४ हजार ३ सयको मात्र परीक्षण

|
तस्बिर :  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा स्वाब नमुना संकलन गर्दै स्वास्थ्यकर्मी

बुटवल : प्रदेश ५ मा कोरोना परीक्षण सुस्त भएको छ । भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिको संख्या अत्याधिक भए पनि अन्य प्रदेशका तुलनमा यहाँ कोरोना परीक्षण हुन सकेको छैन। 

गत बुधबारसम्मको तथ्यांक हेर्दा प्रदेशभर ३ हजार ६ सय ६९ जनाको नमुना आरडिटीबाट र ४ सय ३८ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । 
प्रदेशमा तेस्रो मुलुकबाट फर्कनेको संख्या पनि ठूलो छ ।

चैत १७ सम्ममा भारतका विभिन्न ३५ नाका हुँदै प्रदेश ५ मा २ लाख ४ सय ४२ जना व्यक्ति छिरेका छन् । त्यसपछि चोर बाटो हुँदै कति आए भन्ने यकिन तथ्यांक प्रदेश सरकारसँग छैन। तर सामाजिक विकास मन्त्रालयले १५ हजार जना थप आएको हुन सक्ने अनुमान गरेको छ । 

तर भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरूको संख्याको तुलनामा प्रदेशले गरेको कोरोना परीक्षणको संख्या निकै न्यून देखिएको छ । प्रदेश ५ मा अहिलेसम्म संक्रमित फेला नपरे पनि ठूलो संख्यामा परीक्षण नै बाँकी रहेकाले जोखिम उस्तै भए पनि दैनिक औसतमा २ सय ४ जनाको मात्रै कोरोना परीक्षण हुने गरेको छ।

परीक्षण दर बढाउन प्रदेशका तीन स्थानबाट कोरोना परीक्षण सुरु भएको छ। सरकारले प्रदेशका १२ वटै जिल्लाको परीक्षण सहज गराउने उद्देश्यले तीन स्थानमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो। 

रूपन्देहीको भैरहवामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी चैत २३ गतेदेखि परीक्षण थालिएको छ। त्यहाँ दैनिक १२ जनाको परीक्षण हुँदै आएको छ। 
नेपालगञ्जको खजुरामा पनि प्रयोगशाला स्थापना गरेर एक सातादेखि परीक्षण सुरु भएको छ । त्यहाँ दैनिक तीनदेखि पाँच र दाङको राप्ती विज्ञान प्रतिष्ठानमा दैनिक तीन जनाको परीक्षण भइरहेको छ ।

तीनवटै प्रयोगशालमा पोलिमरेज चेन रियाक्सन (पिसिआर) परीक्षण हुन्छ । तर भैरहवाको तुलनामा अन्य दुई प्रयोगशालाको परीक्षण गति झन् सुस्त छ । संघीय सरकारको सहयोगमा प्रदेशका सबै जिल्लामा चैत २७ देखि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) भइरहेको छ । 

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले परीक्षण गर्नुपर्ने संख्या धेरै भए पनि जनशक्ति र उपकरणको अभावमा परीक्षण आशातीत हुन नसकेको बताए । उनले तीन वटै प्रयोगशालामा गरेर सरदर २० जनासम्मको दैनिक परीक्षण भइरहेको बताए । ‘तर, सामग्री र जनशक्ति अभावमा परीक्षणको गति बढाउन सकिएको छैन,’ उनले भने । 

हाल प्रदेशभरका क्‍वारेन्टाइनमा १२ हजार ५ सय १४ जना छन् । उनीहरूको पनि आरडिटी परीक्षण हुन नसकेको डा. गिरीले बताए । बुधबारको तथ्यांकलाई हेर्दा क्‍वारेण्टाइनमा बस्नेको संख्या ह्‍वात्तै बढेको देखिएको छ । गत शनिबार प्रदेशभरमा जम्मा ९ हजार ५ सय ६२ जना क्‍वारेन्टाइनमा थिए । 

स्थानीय तहको सक्रियतामा भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको खोजीकार्य धमाधम हुन थालेपछि क्‍वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या ह्वात्तै बढेको हो। बुधबारसम्मको तथ्यांक हेर्दा प्रदेशभर ५ सय ७५ वटा क्वोरेन्टाइन छन् । 

क्‍वारेन्टाइनमा बस्नेको संख्या बढेकाले परीक्षणमा थप चुनौती बढेको सामाजिक विकास मन्त्रालयको तर्क छ । यसअघि सामाजिक विकास मन्त्रालयले ६५ हजार आरडिटी किट माग गरेको थियो ।

उपचारमा खटिने स्वास्थ्यकर्मी, लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मी, क्‍वारेन्टाइनमा सहयोग गर्ने स्वयंसेवकसहितको संख्या हेरेर माग गरिएको उक्त संख्याको आरडिटीले नपुग्ने देखिएको छ । थप उपकरण आएपछि परीक्षणलाई पनि तीव्र पार्ने तयारीमा सरकार लागेको मन्त्री बरालले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.