क्‍वारेन्टाइनमा व्यवस्थापन सकस

|

अछाम : भारतसँगकाे सीमावर्ती धारचुलामा एक महिना बढी क्‍वारेन्टाइनमा बसेर फर्किएका ५० जनालाई अछामका क्‍वारेन्टाइनमा राखिएको छ। रोजगारीका लागि भारत गएका ढकारी र तुर्माखाँद गाउँपालिकाका ५० जना शनिबार बिहान जिल्ला आइपुगेका हुन्। 

ढकारीका ३२ र तुर्माखाँदका १८ जनालाई सम्बन्धित स्थानीय तहको क्‍वारेन्टाइनमा राखिएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। पाैडेलका अनुसार उनीहरुले थप २१ दिन क्‍वारेन्टाइनमा बिताउनुपर्ने छ। 

तीमध्ये ३२ जनालाई ढकारी गाउँपालिकाको गुरुकुल माध्यमिक विद्यालय र १८ जनालाई तुर्माखाँद १ स्थित विन्द्रासैनि माविमा राखिएको सम्बन्धित स्थानीय तहले बताएका छन।

तुर्माखाँदका अध्यक्ष पुष्षराज शर्माका अनुसार उक्त क्‍वारेन्टाइनस्थलमा व्यवस्थापनमा सकस भएको छ। नजिक बजार नहुनु र बजारमा समेत लुगा कपडा नपाइएकोले उनीहरुको बसाइ असहज हुन सक्ने उनले बताए। उनका अनुसार गाउँमा घरघरबाट लुगाकपडाको बन्दोबस्तकाे पहल भइरहेकाे छ। उक्त क्‍वारेन्टाइनमा यसअघि पनि १२ जना बस्दै आएका छन्।

ढकारीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीका अनुसार उक्त गाउँपालिकामा अहिले ३८ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। भारतबाट अछामलगायत छिमेकी जिल्लाका १ सय ६७ जना शनिबार बिहान अछामको सिमाना चौखुट्टे आइपुगेका थिए।

तीमध्ये ५० जना अछाम, २२ जना सुर्खेत र ९५ जना बाजुराका रहेका छन्। उनीहरुको सामान्य स्वास्थ्य जाँचपछि गन्तव्यतर्फ पठाइएको थियो। अछाम भित्रिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.