तथ्याङ्क लिन मोबाइल एप

|

बुटवल : प्रदेश पाँच लगायत नेपालभरबाट रोजगारी र विद्यार्थी भिसामा विदेश गएका व्यक्तिहरु कोरोना कहरपछि ठूलो संख्यामा स्वदेश फर्कने निश्चितजस्तै छ। स्वदेश आउने श्रमशक्तिको ३० प्रतिशत तत्काल विदेश नजाने गरी फर्कनसक्ने प्रदेश पाँच सरकारको आंकलन छ। 

ठूलो संख्यामा श्रमशक्ति फर्कने भएपछि एकातर्फ विप्रेषण आप्रवाहमा ठूलो धक्का लाग्नेछ। अर्कातर्फ स्वदेशमा रोजगारीको समस्या झनै बिकराल हुने जोखिम बढेको छ। 

यो जोखिमलाई मध्यनजर गर्दै प्रदेश पाँच सरकारले फर्कन सक्ने श्रमशक्तिलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा आवद्ध गराउन आकस्मिक योजना बनाउने भएको छ। प्रदेश योजना आयोगका अनुसार विदेशबाट फर्कने श्रमशक्तिको तथ्याङ्क लिई उनीहरूको दक्षता र उपयोगिताको आधारमा कृषि, उद्योग, स्वास्थ्य लगायतका क्षेत्रमा दिगोरुपमा आवद्ध रोजगार सिर्जना गर्ने गरी योजना बनाउन थालिएको हो। 

‘बाहिरबाट आउनेले केही न केही सीप ल्याएर आएका हुन्छन्, त्यस्ता सीपको मुल्याङ्कन गरेर श्रमशक्तिलाई दक्षताको आधारमा उत्पादनमुलक क्षेत्रमा एलोकेशन (बाँडफाँड) गर्ने गरी योजना बनाइरहेका छौं,’ योजना आयोगका उपाध्यक्ष प्राडा ईश्वर गौतमले बताए। 

अहिले प्रदेश सरकारले विदेशबाट फर्कने व्यक्तिहरुको तथ्याङ्क लिन मोबाइल ‘एप’ निर्माण गरेको छ। उनीहरूको स्थायी ठेगाना, सीप, दक्षता भएको क्षेत्रलगायतका विवरणहरु संकलन गर्न उक्त एपको निर्माण भएको हो।

सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानले बनाइरहेको एप आउने आइतबारबाट विश्वभर छरिएर रहेका नेपालीहरुले चलाउन मिल्ने गरी सञ्चालनमा आउने छ। प्रदेश पाँचको सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशक अनुप बास्कोटाका अनुसार नेपाल फर्कने व्यक्तिहरुले ‘एप' मार्फत विभिन्न प्रश्नावलीसहितको फारम भर्न सक्नेछन्‌। 

प्रदेश योजना आयोगले बनाएको प्रश्नावलीमा नेपाल फर्कन चाहने व्यक्तिहरु पुनः विदेश जाने हो कि होइन? नेपालको स्थायी ठेगाना कहाँ हो? उनीहरूको दक्षता के हो? तथा हाल विदेशमा गरिरहेको काम के हो? भन्ने जस्ता प्रश्न समावेश गरिएका छन्।

‘एप’ सञ्चालनमा आएपछि विदेशबाटै त्यहाँ रहेका नेपालीहरुले उक्त फारम भर्न सक्नेछन्‌। उनीहरूले भरेको विवरण यता प्रदेश सरकारले राख्नेछ। प्रदेश योजना आयोगका अनुसार करिब एक हप्तासम्म एपमार्फत् स्वदेश फर्कने व्यक्तिहरुको तथ्याङ्कको नमूना संकलन गरेर त्यसको अध्ययन गरिने छ। ‘जुन संख्यामा एपमा फारम भरिएको हुन्छ, सोही संख्यालाई नै नमूनाको रुपमा अध्ययन गरेर एउटा प्रतिवेदन तयार गर्छौं,’ डा. गौतमले भने। 

उक्त प्रतिवेदनको आधारमा सरकारले छोटो अवधिका लागि एक आकस्मिक योजना तयार पार्ने छ। दक्षता र उपयोगिताको आधारमा श्रमशक्तिलाई कृषि, उद्योग, आपूर्ति तथा स्वास्थ्यलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरेर बाँडफाँड गरिनेछ।

श्रम तथा रोजगार मन्त्रालयले सन् २०१८ मा तयार पारेको तथ्याङ्कअनुसार प्रदेशका १२ वटा जिल्लाबाट ६२ हजार तीन सय १० जनाले वैदेशिक रोजगारीका लागि संस्थागत र व्यक्तिगतरुपमा श्रम स्वीकृती लिएका छन्। यो सन् २०१५ देखिका तीन वर्षको मात्रै तथ्याङ्क हो। 

यसबाहेक प्रदेश पाँचका १२ वटा जिल्लाबाट औपचारिक र अनौपचारिक रुपमा रोजगारी तथा विद्यार्थी भिसामा करिब आठ लाखको मानिसहरू विदेशमा रहेको प्रदेश सरकारको आंकलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.