छपकैयालाई फेरि शिल गर्ने तयारी

|
फाइल तस्बिर

पर्सा : वीरगन्जस्थित छपकैया क्षेत्रमै फेरि २ महिनाकी शिशुसहित १७ जना कोरोना संक्रमित फेला परेका छन्। उनीहरु सबैमा बुधबार संक्रमण भएको पुष्टि भएको हो । 

गत वैशाख २१ गते आइतबार वीरगन्ज महानगरपालिका–३ छपकैयामा फेला परेका ३६ वर्षीय पुरुषको सम्पर्कमा रहेका मानिसको पहिचान गरी स्वाब परीक्षण गर्दा एकै पटक यत्रो संख्यामा संक्रमित भेटिएका हुन्।

सबै एकै परिवारका 

उनीहरु सबैजना आफन्त हुन्। वीरगन्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदनकुमार उपाध्यायले सबैजना एकै परिवारका भएको पुष्टि गरेका छन्। 

गत वैशाख २१ गते संक्रमित पुष्टि भएका वीरगन्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषकै परिवारका सदस्यहरु रहेको उनले बताए। 

उनीहरुलाई अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेशन कक्षमा ल्याउने तयारी भइरहेको छ । संक्रमितमा २ महिने शिशु पनि छन्। त्यो परिवारलाई एकै ठाउँमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । 

२८ जनाको उपचार सम्भव 

नारायणी अस्पतालमा जम्मा २५ जनाको उपचार गर्ने सक्ने गरी आइसोलेशन कक्ष बनाइएको थिो। तर त्यसलाई आन्तरिकरुपमा विस्तार गरी २८ जनासम्मलाई उपचार गर्न सक्ने बनाइएको छ। त्यसैले अहिलेलाई सबैको यहीँ उपचार गर्न सकिने मेसु डा. उपाध्यायले बताए ।  

‘यसअघि अस्पतालको आइसोलेसनमा ९ जनाले उपचार गराइरहेका थिए । यो संख्या थपिँदा पनि अहिलेलाई  समस्या भएन’, उनले भने, ‘तर अब यसैगरी थप संख्या बढ्ने हो भने समस्या हुन सक्छ।’

आइतबार संक्रमित पुष्टि भएका ३६ वर्षीय पुरुष र बुधबार भेटिएका संक्रमितलाई एकै ठाउँमा दूरी कायम गरी राख्ने तयारी भइरहेको नारायणी अस्पतालले जनाएको छ। 
एकै दिन यतिका संख्यामा संक्रमित थपिन थालेकोले अब हरेक परिवार वा ठूलो समुदायलाई समेटेर जाँच गर्नुको विकल्प नभएको उनको तर्क छ ।

संक्रमित ठीक भएकै दिन थपिए बिरामी 

गत वैशाख १४ गते वीरगन्जबाट ४ जना डिष्चार्ज गर्न ठीक्क परेका दिन थप तीनजना थपिए जस्तै आज विराटनगरबाट एकपटक ६ जना संक्रमित डिस्चार्ज भएकै दिन वीरगन्जमा एकै पटक १७ जना संक्रमित फेला परेका छन् । 

मुलुकमा लगाइएको लकडाउन खुकुलो गर्ने कि भन्ने चर्चा चलिरहेका बेला सरकारले बुधबार लकडाउन बढाएको छ। त्यही दिन यत्रो संक्रमित फेला पर्नुले लकडाउन खुकुलो नगरेको सान्दर्भिक देखिएको छ । 

लकडाउनलाई खुकुलो पारिन नहुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत बताउँछन्। ‘हामीले छपकैया एरियाको शिल खोली केही खुकुलो बनाएका मात्र थियौं, त्यहीँ बिरामी फेला परेका छन्’, उनले भने, ‘अब सुरक्षा सर्तकतालाई अझै कडाइ गरिन्छ।’

छपकैया शिल गरिँदै 

अहिले वीरगन्ज–३ छपकैया क्षेत्रमा नै संक्रमित फेला परेपछि वीरगन्ज क्षेत्रमै जोखिम बढेको छ। छपकैयामा पहिले शिल गरी दुई दिनबाट केही खुकुलो गरिएको थियो। ठूलो संख्यामा संक्रमित भेटिएपछि पुनः शिल गर्ने तयारी भइरहेको छ। 

अहिले जिल्ला सुरक्षा समितिको बैठक चलिरहेको कोभिड–१९ कमाण्ड पोष्ट पर्साका सदस्य सचिवसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.