|

बारा : काठमाडौंको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका कोरोना संक्रमित सात वर्षीय बालकको सम्पर्कमा आएका बाराको निजगढका सबैको रिपोर्ट नेगेटिभ आएको छ।

बालकलाई कोरोना पुष्टि भएसँगै उनीसँग सम्पर्कमा आएका निजगढ नगपालिका–१२ रामथलीका २६ जनाको कोरोना परीक्षण गरिएको थियो। पिसीआर विधिबाट गरिएको सातजना र आरडिटीबाट गरिएको १९ जनाको रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिए।

बालकको प्रत्यक्ष सम्पर्कमा आएका परिवारका सातजनाको सोमबार स्वाब संकलन गरेर परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा पठाइएकोमा मंगबार साँझ रिपोर्ट आएको हो। त्यसअघि बालकलाई काठमाडौं पु¥याएर फर्किएका एम्बुलेन्स चालकको सोमबार नै रिपोर्ट नेगेटिभ आएको थियो। 

त्यसैगरी संक्रमित बालकले एक महिना बिताएको निजगढमा १९ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमित बालकसँगै एम्बुलेन्समा गएकी एक महिलासहित उनको सम्पर्कमा आएका छरछिमेकको आइतबार आरडिटी परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको हो।बालक वार्षिक परीक्षा सकेर आमासँग चैत ८ मा निजगढ आएका थिए। आमाको दिदीको सम्धिनीको घर आएका उनीहरु लकडाउनका कारण रोकिएका थिए। लकडाउनकै बेला गत बैशाख ६ मा उनीहरु एम्बुलेन्सबाट काठमाडौं फर्किएका थिए।

जनप्रतिनिधि, स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ 

निजगढ नगरपालिकाका जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी, पत्रकार र कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ। 

नगरपालिका प्रमुख सुरेशकुमार खनाल, सातजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी, तीनजना पत्रकार, रोकथाम तथा नियन्त्रणमा खटिएका पाँचजना कर्मचारी, क्वारेनटाइनमा रहेका पाँचजना र अलपत्र परेका पैदल यात्रुको उद्धारमा खटिएका युवा अभियन्ता एकजनासहित २४ जनाको रिपोर्ट नेगेटिभ आएको संयोजक लामाले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा चारजनामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण पुष्टि भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.