विचार

महामारीको फोहोर र व्यवस्थापनका चुनौती

जेठ ८, २०७७

    फोहोर- के हो र के होइन यसको परिभाषा आफैँमा जटिल छ। अझ सबैभन्दा ठूलो चुनौती यो कोभिड १९ महामारीको बेला फोहोरको वर्गीकरणलाई पुनः परिभाषित गर्नुपर्ने हुन्छ। हामीकहाँ बिभिन्न खालको बस्तीहरु, उनीहरुको बसाईको तरिका, सुकुम्बासी तथा अनौपचारिक रुपमा रहेका बस्तीहरु पनि छन्।

    फोहोर उत्पादन

    घरमै क्वारेंटाईनमा बसेको, संक्रमणको लक्षण धेरै देखिएको, कम देखिएको, सम्पर्क पहिचान सम्पर्क पहिचान गरेको ठाउँ र क्वारेन्‍टाइनस्थलमा र त्यसको वरिपरिको बस्तीहरुको फोहोर फरकफरक हुन्छ।

    अस्पतालमा संक्रमण भएका बिरामी र अन्य बिरामी, स्वास्थ्यकर्मिहरुका माझबाट निस्कने फोहोर, ल्याब तथा सार्बजनिकस्थलहरुमा थुप्रेका फोहोरहरु र तिनीहरुको अवस्थालाई विशेष ध्यान दिएर हेर्नुपर्ने हुन्छ। फेरी यसरी  बर्गिकरण गर्दै गर्दा कुनै स्थानमा कोभिड १९ संक्रमण भएको थाहा हुनुपर्छ।

    यस्तो अवस्थामा पनि कसरी सुरक्षित तरिका अपनाएर काम गर्नुपर्ने जानकारी चाहिन्छ। अनि मात्र सफाईकर्मीलाई पनि सुरक्षित ढंगले काम गर्न सजिलो हुन्छ।

    फोहोर संकलन

    यदि कसैलाई संक्रमण भएको छ भने बिरामी आफै सचेत हुनुपर्छ। आफूले  उत्पादित फोहोरलाई होसियारीपुर्बक अलग्गै संकलन गर्नुपर्छ। प्रयोग गरेका सम्पूर्ण सामान राम्ररी बन्द झोलामा पोको पारि राखिदियो भने फोहर संकलन गर्ने व्यक्तिलाई पहिल्यै अवगत हुन्छ।

    अझ त्यसमा बाहिरबाटै केहि चिन्ह लगाइ दिए अझ राम्रो। त्यसो भए आवश्यक मात्रामा सुरक्षा अपनाई त्यसको प्रबन्ध गर्न सकिनेछ। यसरि अलग्गै एउटा भाँडोमा राख्ने गरेमा संकलनकर्ताले त्यसलाई उचित प्रबन्ध गर्न सजिलो हुन्छ।

    यस्तो बेलामा झन् उत्पादित फोहोर राख्ने फरक रंगका भाडाको व्यवस्थापन गरिनु पर्छ। हामी फोहोर जेजे हुन्छ एकैठाउँमा दिने बानि परेको छ। यो एकदम अन्यायपूर्ण र खतरनाक कुरा हो। किनभने संकलनकर्ताले लगेर मिसिएको फोहोर फेरि छुट्याउने गर्दा उसलाई रोग सर्ने तथा घाउ चोटपटक लाग्ने सम्भावना थपिन्छ।

    सडक, पेटी गल्ली जस्ता सार्बजनिक स्थलमा थुप्रेका फोहोर धेरै खतरा हुन्छन। यसबाट रोग संक्रमण हुने कुरामा सावधानी अपनाउने कुरामा बढी सजग हुनुपर्ने हुन्छ। यदि त्यस्ता फोहोरमा रहेका कुनै कुरा साना नानीहरुले छोएर खेलाएर घरमा आउँदा परिवारका अरु सदश्यमा सजिलै संक्रमण हुन सक्छ।

    स्वस्थ्यजन्य फोहोर

    कोरोनाको संक्रमण बढेको बेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षित सामग्री (PPE) र अन्य सामानका कारण फोहोरको मात्रा बढ्ने हुन्छ।

    चीनको बुहानमा पनि पहिलो संक्रमण देखापर्दा यति धेरै फोहोर बढ्यो कि त्यहाको सरकारले स्थानान्तरण गर्न मिल्ने फोहोर प्रशोधन गर्ने केन्द्रहरुको व्यवस्था गरियो। पछी छुट्टै अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रको स्थापना गर्नुपरेको थियो।

    अहिले धेरै बिकसित देशहरुमा पनि यसरि छुट्टै स्थापना गरेको प्रसोधन केन्द्रमा पनि पर्याप्त क्षमताको व्यस्थापन गर्नेसक्ने अवस्था नभएर समस्या सिर्जना भएको छ। त्यसैले यस्तोबेला अत्यावश्यक व्यक्ति बाहेक अरुले पुनःप्रयोग गर्न मिल्ने खालको सुरक्षित सामग्रीहरुको प्रयोग गर्न थालिएको छ। त्यस्ता सामान आवस्यकता अनुसार निर्मलीकरण गरि फेरी फेरी प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुन्छ।

    फोहोरमा आउने प्लाष्टिक, कागज आदिमा पनि कोरोना भाईरस निश्चित समयसम्म रहने भएकोले काम गर्न अझ धेरै सतर्कता अपनाउनु आबश्यक हुन्छ। त्यसैले फोहोर संकलन गर्दा श्रोतमै राम्ररी छुट्याई राख्ने प्रणालीलाई अनुसरण गर्ने कुरामा दुईमत हुनुहुँदैन। फोहोर संकलन, प्रसोधन, ढुवानी, निर्मलीकरण, पुन:प्रशोधन गर्ने कामलाई सजिलो बनाइनु पर्छ।

    संक्रमित नभएको व्यक्ति र स्थानको सुक्खा फोहोरलाई एकठाउँमा संकलन गरिराख्न सकिन्छ। संक्रमित फोहोरलाई मात्र उपयुक्त माध्याममा अटोक्लेभ (Autoclave) गरेर मात्र संकलन गर्नुपर्छ भने अति संक्रमित बस्तुहरुलाई encapsulation वा उचित मापदण्ड पुर्याएको मेसिनको प्रयोगले निस्चित तापक्रममा बाल्नु पर्ने हुन्छ। यस्ता काममा संलग्न हुने सबैले उच्च सतर्कताका साथ आफ्नो सुरक्षामा ध्यन दिएर काम गर्नुपर्छ।

    सरसफाइ सेवा र नक्सांकन

    कोरोना संक्रमण भएको अवस्थामा घर समुदाय क्षेत्र/ वडास्तरिय रुपमा उचित तरिकाले अभिलेख राखी नक्सांकन गर्नुपर्ने हुन्छ। कामहरु आधुनिक तवरमा कम्प्युटर प्रणालीबाट गर्न सकिन्छ। यस संगै फोहोर संकलन तथा व्यवस्थापन गर्ने सेवा प्रदायकको पनि पूर्णविवरण सहित अभिलेखीकरण गरेको खण्डमा तुरुन्तै यदि कसैलाई कोरोना संक्रमण भएमा संक्रमित पहिचान गर्न सजिलो हुन्छ।  

    सफाइकर्मीको सुरक्षा र चेतना

    सफाईमा काम गर्ने कामदारलाई अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई जतिकै सुरक्षित राख्नुपर्छ। यिनीहरुका लागि समयसमयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्छ।

    फोहोर संक्रमित हुने भएकोले कुन बस्तुहरु, कस्तो किसिमले कुन स्थानमा लाने र त्यसको व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालाई उचित रुपमा पालना गर्नुपर्छ। नेपाल सरकार तथा सम्बन्धित निकायले उनीहरुलाई उपयुक्त खालको पिपिइलगायत व्यक्तिगत सुरक्षित सामग्री उपलब्ध गराउनु पर्छ। सुरक्षा सामग्री लगाउने, सफा गर्ने तरिका तथा नियमित रुपमा जतन गर्नेकुराको ज्ञान दिनु आवश्यक हुन्छ।

    स्वास्थ्य मन्त्रालय वा सम्बन्धित निकायबाट जारी भएको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको लागि छुट्टै निर्देशिका छ।

    स्वास्थ्य सेवाप्रदायक तथा अस्पताल आफैले त्यसको पूर्ण जिम्मेवारी लिनु पर्छ। अस्पतालले संक्रमण नफैलिने किसिमले वातावरण मैत्री प्रबिधि अपनाई व्यवस्थापन गर्नुपर्छ। स्वास्थ्य क्षेत्रबाट निस्कासन हुने संक्रमणजन्य फोहोर व्यवस्थापनको लागि नगरपालिकाको फोहोर उठाउने भन्दा अलग्गै गाडीको व्यवस्था गर्नुपर्छ।

    निरीक्षण र अनुगमन

    फोहरलाई संकलन गर्ने बाहेक फोहोर संकलन पश्चात कता लाने, के गर्ने, कसरि प्रसोधन गर्ने, निर्मलीकरण गर्ने, अन्तिम बिसर्जन गर्ने  पूर्ण रुपमा जानकारी सहित अभिलेख राख्नु आवश्यक छ।

    संक्रमित फोहोर जथाभाबी रुपमा मिल्काउने र जम्मा गर्न दिनु हुदैन। हुन त अस्पताल व्यवस्थापकहरु यसको जिन्मेवार हुन्छन। तरपनि संक्रमित फोहोरबाट यदि कहिँकतै कसैलाई सरिहाल्यो भने तुरुन्तै पहिचान गर्न सजिलो हुन्छ।

    स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनको छुट्टै निर्देशिकाको पालना गराउने, नगरेमा दण्ड जरिवाना तथा राम्रोसंग व्यवस्थापन गर्ने अस्पताल तथा सफाईकर्मिलाई उचित पुरस्कारको ब्यवस्था तहगत रुपमा गरिनु राम्रो हुन्छ। घरमा क्वारेंटाईनमा बसेको व्यक्तिको फोहोर पनि छुट्टै तरिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    पुन: प्रयोग तथा पुन: प्रशोधन

    त्यसैगरी पुन: प्रयोग तथा पुन: प्रसोधन गर्ने उधोग कलकारखानाहरु बन्द भएको अवस्थामा फोहोर छुट्याई कति मात्रामा कहाँ जम्मा गरि राख्ने भन्ने समस्या आउछ।

    त्यसको लागि स्थानीय निकायले स्थानको पहिचान गरि सरसफाइको सेवा प्रदायकलाई सहयोग गर्नुपर्छ। ति बस्तुहरु पछी सजिलोसँग वर्गीकृतरूपमा सम्बन्धित कलकारखाना खुले पछि कच्चा पदार्थको रुपमा प्रयोगको लागि सजिलै ढुवानी गर्न सकिन्छ। यसले गर्दा फोहोर यात्रतत्र छरिदैन र सफासंग काम गर्न मदत मिल्ने र जोखिम कम हुन्छ।

    नीति नियम

    बिश्वमा महामारीको अवस्थामा सरकारले तथा सम्बन्धित निकायले फोहोरमैला व्यवस्थापनलाई जनसुरक्षाको दृष्टिकोणले आवश्यकता अनुसार नीति नियम परिमार्जन गरेर भएपनि अबलम्बन गर्नुपर्छ। समय समयमा नयाँ किसिमका फोहोरको उत्पतिले गर्दा कति कुराहरु थपघट गर्नुपर्ने हुन्छ। यसमा सरकारले समयमै नियमन गरि आवश्यक नीतिनियम  तथा प्रविधिहरुको व्यवस्थापन सम्बन्धी कुराहरु लागु गर्नुपर्ने हुन्छ।

    अन्त्यमा हालको समयमा स्थानीय निकाय अस्पताल व्यवस्थापन समिति र सरसफाई  सेवाप्रदायक संस्थाहरुले एकआपसमा मिलेर कुन स्थानमा कसरी फोहर संकलन गर्ने, कसले गर्ने, संकलित फोहोरलाई के गर्ने, कसरी ढुवानी गर्ने, पुन: प्रयोग गर्ने, कता भण्डारण गर्ने, कता निर्मलीकरण गर्ने, कतिको सुरक्षित अपनाउने जस्ता कुराहरुको सहभागितामुलक योजना बनाई लागु गर्नुपर्छ।

    जति पनि जैविक वस्तुहरु अर्थात कुहिने फोहोर निस्कन्छ घर घरमै कम्पोस्ट मल बनाउने, बायो ग्यास बनाउने जस्ता तालिमहरु लिएको भए अति उत्तम हुन्छ। यस्ता तालिम अनलाइनबाट पनि लिन वा दिन सकिन्छ। यसो गरियो भने ६० देखी ७० प्रतिशत फोहरको उचित व्यवस्थापन हुन्छ।

    त्यसरी उत्पादित मल आफ्नो कौसी खेति वा करेसाबारीमा प्रयोग गर्न सकिन्छ। बाँकी नकुहिने फोहोरलाई संकलनको व्यवस्था गरि राम्ररी बोरा वा प्लास्टिकमा पोका पारेर संग्रह गरी सेवा प्रदायक फोहोर लिन आएका बेला दिनु उत्तम हुनेछ।

नविनविकास महर्जन

लेखक महर्जन फोहोरमैला व्यवस्थापन संघ नेपालका प्राविधिक सल्लाहकार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]