|

जाजरकोट : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले रुकुम घटनाका पीडितलाई न्याय दिलाएरै छाड्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत मृतक युवकहरुप्रति श्रदान्जली व्यक्त गदै हराएका बाँकी १ जनाको खोजीकार्य जारी रहेको बताएका छन्। 

‘चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबाट ५ जना युवाहरु नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार र सञ्जु विकको शव भेरीमा फेला परेको छ भने अर्का एकजना गणेश शाहीको खोजी जारी छ’, उनले भनेका छन्, ‘आधुनिक अनि समतामुलक समाज र मानवीय मूल्यलाईसमेत चुनौती दिने उक्त घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। सन्तान गुमाउनु परेका परिवारका निम्ति यो अझ बढी पीडादायी क्षण हो।’

उनले घटनापछि विकसित अवस्थाले पीडित परिवारलाई न्याय नपाइने हो कि भन्ने त्रासतर्फ आफूहरु सचेत रहेको बताएका छन्। बस्नेतले जनप्रतिनिधिहरु पीडितको साथमा रहेको बताउँदै न्याय दिलाएरै छाड्ने उल्लेख गरेका छन्। 

घटनासँगै सन्तानको मृत्युको पीडामा रोइरहेका परिवारलाई विभिन्न माध्यममा पढिने, सुनिने क्रिया, प्रतिक्रियाका कारण न्याय नपाइने हो कि भन्ने आशंकाले थप पीडाबोध भइरहेको हामिले देखिरहेका छौं’, उनले भने, ‘हामी विश्वास दिलाउँछौं, सरकारसहित सिंगो राज्य तपार्इंहरुको साथमा छ। हामी जनप्रतिनिधिहरु तपाईंहरुकै साथमा छौं।’

बस्नेतले न्याय दिलाएरै छाड्ने बताउँदै पीडितहरुलाई आश्वस्त पार्ने कोशिश गरेका छन्। ‘विभिन्न राजनैतिक एवम् सामाजिक संघ संस्थासमेत तपाईंहरुको साथमा छन्’, उनले भनेका छन्, ‘घटनाको जानकारी पाएलगत्तै खोजीकार्य र अनुसन्धानलाई प्रभावकारी ढंगले बढाउन हामी जिल्लाका जनप्रतिनिधिसमेत सरकारी संयन्त्र र अन्य स्थानिय जनप्रतिनिधिसँग समन्वय गर्दै आइरहेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.