अमृत बोहोरा भन्छन् : हचुवामा आरोप लगाएर हुँदैन

|

काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गत बिहीबार गोरखामा एक कार्यक्रममा सार्वजनिक रुपमै बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब भ्रष्टाचार भएको बताए। 

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा नौ अर्बको भ्रष्टाचार गरेको प्रमाण दिन सक्ने दाबी गरेका थिए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईको भनाइपछि विभिन्‍न क्षेत्रबाट टिकाटिप्पणी भइरहेको छ। कसैले प्रमाण पेश गर्न आग्रह गरेको छन्। कसैले नेता भट्टराईले चर्चामा आउन विभिन्‍न 'प्रोपोगान्डा' गरिराख्ने भएकाले अहिले यस मुद्दालाई उचालेको आरोप लगाइरहेका छन्। 

नेता भट्टराईले नौ ओली, प्रचण्ड र देउवाले नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएपछि नेपाली कांग्रेसले विज्ञप्तिमार्फत प्रमाणित गर्न चुनौती दिइसकेको छ। कांग्रेसले पार्टी सभापति देउवामाथिको आरोप प्रमाणित गर्न चुनौती दिइसक्दा सत्तारुढ नेकपाले अझै पनि मुख खोलेको छैन। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालमाथि लागेको आरोपबारे केही नेताहरुले सत्यतथ्य बाहिर ल्याउन आग्रह गरे पनि पार्टीले अहिलेसम्म औपचारिक रुपमा धारणा राखिसकेको छैन। यद्यपि, नेकपाले ओली-प्रचण्डबीच भट्टराईको भनाइको चर्चा भइरहेको जनाएको छ। 

भट्टराईले आफ्नै गृहजिल्लामा बन्‍न लागेको बूढीगण्डकी जलविद्युत् आयोजनामा ओली, प्रचण्ड र देउवाले नौ अर्ब रूपैयाँ भ्रष्टाचार गरेको प्रमाण दिनसक्ने बताएका थिए। ‘ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढी गण्डकी जलविद्युत् आयोजना अलपत्र प्रमाणित गर्न सकिन्छ,’ उनले भनेका थिए। 

छानबिनमा सघाउँछु : भट्टराई

नेता भट्टराईले आफूले लगाएको आरोपमाथि छानविन गर्न सहयोग गर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको थप आरोप लगाएका छन्।

‘हचुवामा बोलेर हुँदैन’

नेकपा अनुसाशन आयोगका प्रमुख अमृत कुमार बोहोराले यस्तो गम्भीर विषयमा हचुवाको भरमा बोलेर नहुने बताएका छन्। ‘कसैले हचुवाको भरमा बोलेर हुँदैन। उहाँले के आधारमा बोल्नुभयो? प्रमाण चाहिन्छ। त्यसको सत्यतथ्य प्रमाण दिन सक्नुपर्छ’, उनले भने। 

‘बाबुरामजीले केही गरी प्रमाणसहित आउनुभयो भने त्यसको छानविन होला तर, हचुवाको भरमा कसैलाई आरोप लगाउन पाइदैन’, उनले अगाडि भने।  

प्रमाण अख्तियारलाई नदिए गैरजिम्मेवार 

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले तीन प्रमुख नेताले ९ अर्ब खाएको प्रमाण सार्वजनिक गर्नुपर्ने बताएका छन्। 'उहाँले भन्‍नुभएर मात्रै हुँदैन, भएको प्रमाण सार्वजनिक गरेर उहाँले अख्तियारलाई बुझाउनुपर्छ', उनले अगाडि भने। 

‘नेता भट्टराईले देशका तीन प्रमुख नेताहरूले ९ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घोषणा गर्नु भएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन सक्नुपर्छ’, रावलले थपे, ‘प्रमाण भए त्यसो किन गरिएन? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ।’

कांग्रेस बोल्यो 

नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाणित गर्न पूर्वप्रधानमन्त्री भट्टराईलाई चुनौती दिएको छ। नेपाल कांग्रेसको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर प्रमाणित गर्न चुनौती दिएका थिए। 

‘डा. बाबुराम भट्टराईको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। प्रमाणको दाबा पुष्टि गर्न चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्चारमाध्यम र अख्तियारलाई अपील गर्दछौँ’, शर्माले निकालेको विज्ञप्तीमा भनेका छन्, ‘बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको छ। त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

डा. भट्टराईले क्षणिक आवेगमा टिप्पणी गरेको भन्दै कांग्रेसले त्यसलाई कपोलकल्पित र झुट ठहर गरेको छ। तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुने औंल्याएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.