अनियमितता भएको नभएकाे मेयरकाे दाबी, तर अख्तियारसम्म पुग्यो उजुरी

|

सिन्धुपलञ्चोक : मेलम्ची नगरपालिकाले स्वास्थ्यकर्मी नियुक्ति नियमविपरीत गरेको आरोप लागेको छ। तर नगरपालिकाको प्रमुख डम्बर बहादुर अर्यालले आफू र उपप्रमुख भगवती नेपालमाथि लागेको आरोपमा कुनै सत्यता नभएको भन्दै आरोपको खण्डन गरेका छन्।

नगरप्रमुख अर्यालले नगरपालिकाको प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, २०७७ बमोजिम नै सहभागी परीक्षार्थीहरुबाट छनोट गरिएको बताए। रिक्त पद पूर्तिको विज्ञापन नं. २÷०७७÷७८ मा भदौ २३ गते हेल्थ असिस्टेन्ट, अहेव र अनमी पदका लागि विज्ञापन गरेकोमा निवेदन परेकाहरुबाट शैक्षिक प्रमाणपत्र, नगरबासी प्राथमकिता आदि लगायतका विषयलाई आधार बनाएर सर्टलिस्टमा नाम निकालिइएको र तिनैबाट परीक्षा सञ्चालन गरिएको उनले बताए। 

‘मेलम्ची नगरपालिकाको कार्यविधि, २०७७ अनुसार नगरपालिकाभित्रका निवेदकले स्वतः १० नम्बर पाउँछ भने बाहिरबाट आउने निवेदकको हकमा लागु नहुने हँुदा छनोटमा यसले पनि केही फरक पर्ने हुन्छ,’ नगरप्रमुख अर्यालले भने, ‘निवेदन दिने सबैलाई तोकिएको सीमित कोटाभित्र अटाउन सकिँदैन। जति कोटाका लागि विज्ञापन गरेको हो, त्यही कोटामा १० अंकबाहेक परीक्षार्थीले प्रस्तुत गरेको क्षमताका आधारमा पाउने हो। हामीले पनि त्यही अनुसार नै छनोट गरेका छौँ, उजुरी र बाहिर हल्ला भएजस्तो कुनै गलत तवरबाट छनोट गरेको छैन।’

अख्तियारमा पुग्यो उजुरी

अन्तिम नजिता र सर्ट लिस्टमा नाम नपरेका परीक्षार्थीले नगरप्रमुख अर्याल र उपप्रमुख नेपालले आफू निकटका मान्छे राखेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी पाउँ भनी बोधार्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राखी नगरपालिकामा उजुरी दर्ता गरेका छन्। 

आफूहरुले अधिकांश वस्तुगत प्रश्न मिलाए पनि अन्तिम नतिजामा नाम नअटाएको र कार्यविधिभन्दा बाहिर रहेर पदपूर्ति समितिले शैक्षिक योग्यता, अनुभव आदिको आधारमा परीक्षार्थीलाई दिनुपर्ने अंकमा मनोमानी गरी प्रभाव र दबाबका आधारमा अन्तिम नतिजा निकालेको भन्दै असन्तुष्ट परीक्षार्थीहरुले बिहीबार नगरपालिकामा उजुरी दिएका हुन्। 

नगर प्रमुखको प्रत्यक्ष संग्लग्नतामा अनियमितता भएको हुँदा उनीबाट निष्पक्ष छानबिन हुनेमा आशंका रहेको भन्दै असन्तुष्ट परीक्षार्थीहरुले आयोगमा समेत उजुरी दिएको नगरपालिकमा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ। 

तर हामीले निवेदन दर्ता गराउने असन्तुष्ट परीक्षार्थीहरुलाई सम्पर्क गर्ने क्रममा कसैसँग पनि सम्पर्क हुन सकेन। उनीहरुले उजुरीमा नगरप्रमुख अर्याल र उपप्रमुख नेपालले आफ्नो मान्छे राख्नलाई मात्रै परीक्षाको प्रक्रियाको औपचारिकता गरेको आरोप लगाएका छन्। ​

नगरपालिकामा परेको उजुरी र आरोपबारे थाहा खबरले नगरप्रमुख अर्यालसँग थप बुझ्दा उनले अनुसन्धान आयोगलाई नै बोधार्थ गरेपछि नगरपालिकामा नभई आयोगमा नै छलफल हुने हुँदा आयोगले बोलाएको खण्डमा आफू उपस्थिति हुन तयार रहेको बताए।

‘मेलै उजुरी हाल्ने परीक्षार्थीलाई पनि नगरपालिकालाई नै उजुरी हालेपछि नगरले छलफल गर्ने कुरा हुँदैन, अब आयोग बोलाउनोस् उतै आउँछु भनेको छु,’ उनले भने।

त्यस्तै नगरपलिका उपप्रमुख नेपालसँग बुझ्दा उनले उजुरी परेको साँचो भएको तर आरोप निराधार रहेको बताए पनि अन्य थप विषयमा भने आफूलाई जानकारी नभएको बताइन्। 

त्यसैगरी नगरपालिकाका सूचना अधिकारी जितबहादुर कार्कीले रिक्त पदको छनोट परिक्षा कार्यविधि तथा कानुनअनुसार नै भएको बताए। उनले अन्य बेला सिपालु देखिए पनि परीक्षाको बेला बिगार्ने हुँदा सोचेजस्तो नतिजा नआएको पनि हुन सक्ने बताए।

‘परीक्षा सञ्चालन र छनोट दुबैमा पारदर्शिता छ,’ उनले भने, ‘आवश्यक परे नगरपालिकाले सञ्चालन गरेको परीक्षा लगायतका सबै विधि तथा छनोट प्रक्रियाबारे स्पष्ट पार्न र देखाउन नगरपालिका तयार छ।’ उनले थपे, ‘पुष्टि नहुने झुठो आरोप लगाएर मात्रै हुँदैन।’ यसबारे थप बुझ्न नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। 

नगरपालिकाले विज्ञापन गरेको रिक्त पदका लागि भएको परीक्षाको अन्तिम नतिजामा नाम निकाल्नेमध्ये केहीलाई आफूले रामेसँग चिनेको र उनीहरु अध्ययनमा राम्रो विद्यार्थी भएसँगै राम्रो अंक ल्याएर पास भएको विद्यार्थी पनि रहेका मेलम्ची नगरपालिका–५ एक स्थानीयले बताए। 

‘नाम निकालेकाहरुमा केही सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयको इन्ट्रान्स टपर भएर एजए र र बिपिएज दुबैमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका पनि छन्,’ उनले भने, ‘उनीहरुमा क्षमता भएर नै त छात्रवृत्ति पाउन सफल भएको हो भने रिक्त पदको लागि भएको परीक्षामा पनि राम्रो गरेको हुन सक्छ।’ 

उनले अध्ययनमा राम्रो भएको र नगरपालिकाले लिएको परीक्षामा पनि सफल भएका उम्मेदवारको परिवार केही हदसम्म सम्पन्नजस्तो देखिएकाले पनि आशंका गरिएको हुनसक्ने बताए। त्यस्तै अन्तिम नतिजामा नाम परेकामध्ये एक उम्मेवारले भने आफ्नै क्षमताले नाम निकाल्न सफल भएको बताएका छन्। 

उनले भने, ‘म पूर्वाञ्चल युनिभर्सिटीको इन्ट्रान्समा सहभागी सबैलाई जित्न सफल भएकै कारण पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको छु।’ उनी विश्वविद्यालयको छैटौँ सेमेस्टरमा अध्ययनरत छ।

नगरपालिकाले पाँच जना हेल्थ असिस्टेन्ट माग गरिएकोमा नगरको कार्यविधि, २०७७ अनुसार २० जना सर्टलिस्टमा परेका थिए। ती २० जना निवेदकबीच गरिएको लिखित परीक्षामा ९ जना छनोटमा परेका थिए। लिखितमा छनोट भएका ९ जनामध्ये असोज २६ गते अन्तर्वार्ता लिएसँगै नगरपालिकाले उनीहरुको सक्षिप्त सूची, लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्तांकका आधारमा २६ गते नै अन्तिम नतिजा सार्वजनिक गरेको थियो। 

नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नतिजामा ५ जना सिफारिसयोग्य, २ जना वैकल्पिक र २ जनालाई अस्थायीमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.