|

काठमाडाैं : नेपाली राष्ट्रिय फुटबल टिम विश्वकपको तयारीका लागि इराकसँग हुन लागेको मैत्रीपूर्ण खेलका लागि इराकको बस्रा पुगेको छ।

नेपाल र इराकबीच १५ जेठमा बस्रा रंगशालामा मैत्रीपूर्ण खेल हुने कार्यतालिका छ। नेपाली टिम मंगलबार राति त्रिभुवन विमानस्थलबाट दोहा हुँदै बुधबार इराक पुगेको हो। २३ सदस्यीय खेलाडीसहित ३५ सदस्यीय टोली छ।

फुटबल टिमसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल पनि भ्रमणमा छन्। नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेतमा हुने कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटका बाँकी खेलमा पनि सहभागिता जनाउने छ। इराकबाट नेपाल १६ जेठमा स्थलमार्गबाटै कुवेत जाने कार्यक्रम रहेको एन्फाले जनाएको छ।

कुवेतमा नेपालले विश्वकप छनोटका ३ वटा खेल खेल्ने छ। नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल कोरोना महामारीका कारण कुवेतमा सारिएपछि नेपाल सबै खेल घरेलु भूमिबाहिर खेल्न बाध्य भएको हो।

नेपालले २० जेठमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दा २५ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल अहिले तीन अंकका साथ अंक तालिकाको चौंथो स्थानमा छ।

चाइनिज ताइपेईलाई नेपालले उसकै मैदानमा पराजित गरेको थियो। नेपालको समुहमा अष्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। नेपालले अंक तालिकाको चौथो स्थान कायम राखेको खण्डमा एसिया कप छनोटको तेस्रो राउन्डमा स्थान बनाउने छ।

इराकसँग इतिहास बनाउने अवसर

नेपालले इराकसँग तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल इराकसँगको सबै तीन भेटमा पराजित भएकाले यो पटक इराकविरुद्ध नयाँ इतिहासको खोजीमा छ।

पछिल्लो पटक २००१ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको नेपाल २० वर्षपछि इराकसँग मैत्रीपूर्ण खेलमा सहभागी हुन लागेको हो। २००१ को अप्रिल १४ मा पहिलो खेल खेलेको नेपालले ४-२ ले पराजित भएको थियो भने २३ अप्रिलमा भएको अर्को खेलमा नेपाल ९-१ हार बेहोर्न बाध्य भयो।

पहिलो पटक नेपालले १९८२ मा इराकसँग प्रतिस्पर्धा गरेको थियो। जतिबेला नेपाल ३-० ले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.