सुक्ष्म अनुसन्धान गर्न माग

|

जनकपुरधाम : सर्लाहीको बह्मपुरी गाउँपालिकामा दुई सन्तानसहित आमाको पोखरीमा डुबेर मृत्यु भएको घटनामा हत्या गरेर पोखरीमा फालेको आरोप माइती पक्षले लगाएका छन्।

साउन १३ गते ​ बह्मपुरी गाउँपालिका -३, भेल्ही निवासी संजीव कापरकी २५ वर्षीया श्रीमती रितेवादेवी कापर, डेढ वर्षीया छोरी र ९ दिन मात्रको नवजात शिशु (छोरा) को शव पोखरीमा फेला परेको थियो।

घर पक्ष र वडाध्यक्षका अनुसार करिब ११ बजे राति रितेवादेवी आफ्ना बच्चाहरूसहित घरबाट निस्किएकी थिइन्‌। भोलिपल्ट बिहान बच्चाहरूसहित रितेवाको शव घरबाट टाढा चौरमा रहेको सूर्यवंश पोखरीमा मृत अवस्थामा तैरिरहेको भेटिएको थियो। पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

तर, माइती पक्षले तीनै जनाको हत्या भएको आरोप लगाएको छ। तीन वर्षअघि बिहे भएकी छोरीको दाइजो र पैसाको लालचमा हत्या गरिएको माइती पक्षले आरोप लगाउँदै आएको छ।

यसो भन्छिन्‌ मृतकको आमा नागिनादेवी

‘ज्वाइँ लागुऔषध दुर्व्यसनमा लागेका कारण छोरीको कान, नाकमा लगाउने गरगहना, लत्ता कपडा समेत बेचेर सखाप पारिसकेका थिए, हामीले दिन बाँकी रहेको भैंसी र पैसा मागिरहेका थिए, तर हामीले दिएका थिएनौँ, लागुऔषध दुर्व्यसनको सिकार भएका ज्वाइँले पैसा र भैंसी ल्याउन भन्दै छोरीलाई सधैँजसो शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए।

बिहेमा करार भएको सबै दाइजो र नगद दिइसकेको, जेठी छोरीले एउटा पाडी (भैंसीको बच्चा) दिने वाचा गरेकाले पाडी र अतिरिक्त रकम माग राख्दै पटकपटक फोनमा धाकधम्की दिने गरेका थिए। थप दाइजो दिने सामर्थ्य नभएका कारण ‘केही महिना प्रतिक्षा गर्नुस्’ भने पनि दाइजो नल्याएको निहुँमा छोरीलाई कुटपिट गर्दै आएको हामीले थाहा पायौँ।

साउन १३ गते राति छोरीसहित नाति र नातिनीको हत्या भएपनि घर पक्षले घटनाबारे हामीलाई कुनै जानकारी दिएनन्‌। आफू खेतमा काम गरिरहँदा स्थानीयले घटनाबारे थाहा दिएपछि सदरमुकाम मलंगवास्थित सर्लाही अस्पतालमा पुगेर छोरीको अनुहार हेर्न म छटपटाइरहेँ। वियोगमा पटकपटक बेहोस पनि हुन पुगेँ। अस्पतालमा छोरीलाई हेर्न नपाएपछि छोरीको कहाँ पोस्टमार्टम हुँदैछ भनी प्रहरीलाई सोधेँ। प्रहरीले छोरीको नाम, बिहे भएको गाउँको ठेगाना साधेपछि मलाई ‘तपाईंकी छोरी मानसिक सन्तुलन बिग्रिएर पागल भइसकेको थियो, त्यही भएर दुईवटा बच्चाहरूसहित पोखरीमा गएर आत्महत्या गरिन्’ भन्यो।

म सम्हालिन सकेको छैन। छोरी पागल भएर सन्तानसहित आत्महत्या गरेको कुरा बिल्कूल गलत हो। छोरीको श्रीमानन्‌सहित अन्य मिलेर पैसाको लालचमा छोरीले आत्महत्या गरेको बताइरहँदा प्रहरीले छोरीको अनुहार समेत हेर्न दिएनन्।​ छोरीको मुख हेर्न छट्पटाइरहेकी देखेर एकजना एम्बुलेन्स चालकले छोपेर राखेको शवको अनुहार हेर्न सहयोग गरे। छोरीको अनुहार हेर्दा सुकेको मुखबाट फिँज र नाकबाट रगत बगेको थियो। पेट फुल्लिएपनि छोरीले पोखरीमा डुबेर पानी पिएको जस्तो लागेन।

जसको परिवार बालबच्चासहित तीनजनाको मृत्यु भएको छ, उसको परिवारमा कुनै चिन्ता रहेको पाइँन। छोरीको सासु, ससुरा र ज्वाइँ कोही पनि मेरासामू आएनन्‌, घरमा ३ जनाको ज्यान जानेगरी परिवारलाई नै स्तब्ध बनाउने घटना घटेपनि उनीहरूको अनुहारमा कुनै चिन्ता र दुःख मैले देखिनँ। उनीहरूको ध्यान घटनालाई मिलाउन र पोस्टमार्टमलाई प्रभावित बनाउन केन्द्रित भएको मैले महसुस गरेँ।’ 

मृतक रितेवाको माइती गाउँका कृष्णनन्दन मिश्रको अनुसार मृत्यु भएको ५ दिन बितिसक्दा पनि घर पक्षले घटनाबारे कुनै जानकारी गराएका थिएनन्‌।

​‘पोस्टमार्टम भएको रिपोर्ट २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा पठाउनुपर्ने नियम भएपनि ६ दिन बितिसक्दा पनि पठाइएको थिएन। यसमा चिकित्सकको समेत मिलोमतो रहेको देखिएको छ, मिश्रले भने, ‘अस्पतालले पैसाको आश्वासन पाएको हुनसक्छ, तर पैसा नपाएको कारण पोस्टमार्टम रिपोर्टमा ढिलाइ गरिएको हो।’

डुबेर मृत्यु भएको भएको मानिसको पेट र छाती फुकेको हुनुपर्ने, तर शवको प्रकृति हेर्दा पेटमा पानी पसेको नदेखिएको मिश्राले बताए। लागुऔषध दुर्व्यसनमा फसेका रितेवाको श्रीमान्‌ संजीवले नशा सेवन गर्न रकम माग्दै श्रीमतीलाई पटकपटक कुटपिट गर्दै आएको आफूहरूले थाहा पाएको उनले जानकारी दिए। सबै पृष्ठभूमि हेर्दा श्रीमतीको हत्या गरेर घटना लुकाउन पोखरीमा फालेको हुनसक्ने पर्याप्त आधार देखिएको मिश्राले दाबी गरे।

छोरा पाएपछि सेवा र सहयोगका लागि बहिनी पिंकी कापर भेल्ही दिदीको घरमा पुगेकी थिइन्‌। घरमा पुगेको रातसमेत दिदीको घरमा पैसा र पाडीको लागि झगडा भएको बहिनी पिंकीले बताइन्‌। पाडी र भान्जाको न्वारानमा भोजका लागि पैसाको माग राख्दै दिदीसँग भिनाजुले झगडा गरेको उनले बताएकी छन्‌।​

बहिनी पिंकीका अनुसार दिदीले ‘मेरो भाग्य नै बिग्रियो ! यस्तो घरमा बिहे भयो, सबै दिन झै झगडा र गाली गलौज हुन्छ ! तिमी बलरा गइहाल, म त मर्छु नै ! यी राक्षसहरूले तिमीलाई समेत मार्छन्’ भनेकी थिइन्‌।

पिंकीले आफू दिदीको घरबाट फर्केको भोलिपल्ट नै दिदीसहित भान्जा भान्जीको पोखरीमा डुबेर मृत्यु भएको खबर पाएकी थिइन्‌। उनले भनिन्, ‘दिदी र भान्जा भान्जीको हत्या भएको हो। दिदीमा कुनै मानसिक समस्या थिएन। उनि एकदम स्वस्थ्य थिइन्‌। भिनाजुहरूले तीनै जनालाई मारेर पोखरीमा फ्याँकेको हुनुपर्छ।’

वडाध्यक्षको बोली फेरियो

मानसिक सन्तुलन बिग्रेको कारण रितेवादेवीले आत्महत्या गरेको बयान दिएका वडा न. ३ का वडाअध्यक्ष श्याम इन्दल साहले भोलिपल्ट गरिबीको कारण आत्महत्या गरेको भन्दै आफ्नो बोली फेरेका थिए। फेरि अर्को दिन सम्पर्क गर्दा महिला पूर्ण रूपमा स्वस्थ्य भएको बताएका थिए।

यसरी वडाअध्यक्षको पटकपटक बयान फेर्नुले पनि घटनाबारे थप प्रश्न उब्जाएको छ। एउटा स्वस्थ महिलाले १८ महिनाकी छोरी र ९ दिनको नवजात शिशु लिएर आत्महत्या गरेको घटनाबारे आफनो पनि सन्देह रहेपनि घर पक्षले हत्या नगरेको भन्दै वडाअध्यक्षले बचाउ गरिरहेका छन्‌।

मिलापत्र गर्न दबाब

घटनाबारे मिलापत्र गराउन भेल्हीबाट ७ जना मानिसहरू आएको माइती गाउँ बलराको स्थानीय नन्दकिशोर मिश्राले बताए।

मिश्राले भने, ‘७ जना आएर हाम्रो गाउँको वडाअध्यक्षलाई खोज्दै थिए, मैले सोधेँ-किन आउनुभएको? उहाँहरूले वडाध्यक्षलाई खोजिरहेको र पोखरीमा डुबेर मृत्यु भएको घटनालाई स्थानीय स्तरमा नै मिलापत्र गरौँ भनेर कुराकानी गर्न आएका बताए।’

यस्तो कुरा सुनेपछि शंका झनै बढेको उनले बताए। कुनै पनि हालतमा मिलापत्र हुँदैन भनेर कडा रूपमा प्रस्तुत भएपछि उनीहरू फर्केर गएको मिश्राले बताए। 

यद्यपि; प्रहरीले मृतक महिलाको सासु, ससुरा, श्रीमान्‌ र श्रीमान्‌को जेठो दाई गरी ४ जनाविरुद्ध घटना भएको ७ दिनपछि जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।

पोस्टमार्टम रिपोर्ट सम्बन्धित कार्यालयबाट नआएका कारण जाहेरी दर्ता गर्न ढिला भएको बताउँदै एसपी राठौरले पोस्टमार्टम रिपोर्ट पाएलगत्तै जाहेरी दर्ता गरी मृतक महिलाको श्रीमान्‌लाई पक्राउ गरी अनुसन्धान थालिसकेको उनले बताए।

राठौरले भने, ‘घटनाबारे अनुसन्धान शुरू गरिसकेका छौँ। थप जानकारीका लागि मृतक महिलाको घरमा समेत पुगेका थियौँ। स्थानीयबाट मृतक महिलाका पति लागुऔषधमा दुर्व्यसनमा लागेकोबारे जानकारी प्राप्त भएको छ। थप अनुसन्धान हुँदैछ।’

मधेसमा खासगरी बिहे भएपछि महिला घरबाट बाहिर निस्कन पाउँदैनन्। तर ३ वर्ष अघिमात्र बिहे भएर आएकी र भर्खरै ९ दिनअघि मात्र बच्चा जन्माएकी महिला घरबाट टाढा रहेको पोखरीमा आत्महत्याका लागि कसरी पगिन्‌? घटना भएको ५ दिन बितिसक्दा पनि माइती पक्षलाई केही जानकारी नगराउनु, हतारहतारमा महिलाको शव जलाउनु, घर पक्षमा दुःख र चिन्ता नदेखिनु र मिलापत्र गर्न माइती घरमा मान्छे पठाउनुजस्ता कुराले समेत यो घटनालाई थप शंकास्पद बनाएको माइती पक्षले बताइरहेका छन्‌।

९ दिने नवजात शिशु र १८ महिनाकी छोरीसहित आमाको शव एकै ठाउँमा भेटिनु रहस्यमय भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न मानवअधिकारकर्मी तथा इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि बुधन साहले माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.