|

इलाम : इलाममा उत्पादन हुने दुधजन्य परिकार छुर्पी, बम्बइसन र ललिपपले ‘इलामको कोसेली’को पहिचान बनाएको छ। त्यसैले त इलाम भ्रमणमा आउने पर्यटकहरूको मुख्य रोजाइमा यी वस्तु पर्छ।

इलाम आउँदा चिया बगानमा फोटो खिचेर मात्र हुँदैन‚ इलामबाट छुर्पी, बम्बइसन र ललिपप पनि खरिद गरेर लग्नैपर्छ भन्ने मान्यता नै स्थापित भएको छ। काठमाडौंमा पत्रकारिता गरिरहेका भोजपुरका ज्ञानेन्द्र खड्का चिनजानका कोही इलामबाट काठमाडौं आउने सूचना पाए इलामे कोसेली मगाइहाल्छन्।

‘छोरीले इलामको मिठाई भनेपछि मरिहत्ते गर्छिन्‚’ खड्काले भने‚ ‘ इलामको ललिपप र छुर्पी नमगाइ हुँदैन।’

पाहुना जानेहरूले समेत बाटो छेउमा कलात्मक रुपमा सजाएर राखिएका मिठाई खरिद गरेर लग्ने गरेका छन्। मेची राजमार्ग आसपासमा खोलिएका एकाधबाहेकका पसलअगाडि इलामे कोसेली सजाएर राखिएको हुन्छ। दुध र चिनीको मिश्रणबाट बन्ने ललिपप र बम्बइसनले अहिले इलामको घरेलु उद्योगलाई उकासेको छ। गाउँ–गाउँमा छुर्पी, ललिपप र बम्बइसन बनाइन्छ। यी मिठाई अहिले ‘इलाम ब्रान्ड’ को रुपम स्थापित भएको छ।

इलाममा सञ्चालनमा रहेका दुई दर्जनको हाराहारीमा ललिपप उद्योगबाट उत्पादन हुने मिठाइको माग स्थानीय बजारका साथै काठमाडौं र भारतलगायत अन्य मुलुकमा समेत रहेको उद्यमी शिवलाल प्रधान बताउँछन्। सानो एक प्याकेट ललिपपको खुद्रा मूल्य ५० रुपैयाँ र ठूलो १०० रुपैयाँमा बिक्री हुँदै आएको छ। उपहारका लागि कलात्मक ढंगले प्याकेजिङ गरिएको ‘गिफ्ट ललिपप’ समेत इलामका बजारमा पाइन्छ।

‘इलाम घुम्न आउने जहाँ सुकैको पर्यटकले इलामे मिठाइ भनेर खरिद गर्नुहुन्छ‚’ फिक्कलमा व्यवसाय सञ्चालन गर्दै आएकी बन्दना प्रधानले भनिन्‚ ‘ दैनिक जसो ५ हजारमाथिको दुग्द्यजन्य परिकार नै बिक्री गर्दै आएकी छु।’

रोजगारी सिर्जना

ललिपप उद्योगहरूले इलामको अर्थतन्त्रलाई सहयोग मात्र पुर्‍याएको छैन‚ गाउँगाउँमा रोजगारीको अवसर समेत सिर्जना गरेको छ। बहान घरधन्दा सकेर दिउँसो फुर्सद हुने महिलाहरूलाई आम्दानीको बाटो समेत खोलिदिएको छ।

इलाममा पहिलो पटक ललिपप उत्पादन गर्ने सूर्योदय नगरपालिका–३ का शिवलाल प्रधानको कोसेली ललिपप उद्योगमा अहिले ११ जनाले रोजगारी पाएका छन्। उनीहरूमध्ये अधिकांश महिला छन्। प्रधानले खाजा चियासहित मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको सुनाए।

ललिपप बनाउन महिलाहरू सिपालु हुने भएकाले उनीहरूले रोजगारी पाएको प्रधानको भनाइ छ। ललिपप, पुष्टकारी, खुवा, बम्बइसन, पनिरजस्ता दुधजन्य पदार्थ उत्पादन गर्ने उद्योगमा बिहानको घरधन्दा सकेर महिलाहरू दिउँसो काम गर्दै आएका छन्। गाईको दुधबाट यी परिकार बनाइन्छ।

नयाँ उद्योगले पनि महिलाहरूलाई तालिम दिएर काम लगाउँदै आएको लक्की डेरीका सञ्चालक तुलु तामाङले बताउँछन्। धेरै जसो उद्योगमा ३ देखि १५ जनासम्मले रोजगारी पाएका छन्। इलामको मुख्य बजार र ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादनले बजार धान्न नसकेको इलामका सञ्चालित ग्रिनसिटी ललिपप उद्योगकी सञ्चालक दीपा गुरुङ बताउँछिन्।  

जिल्लाका अधिकांश कृषकहरूले व्यावसायिक रुपमा गाई–भैँसी पालेर प्रतिघर ४ देखि ४० लिटरसम्म दुध उत्पादन गर्दै आएका छन्। यो दुध सरदर ४५ रुपैयाँ प्रतिलिटरका दरले स्थानीयस्तरमै सञ्चालित ललिपप र चिज उद्योगले खपत गर्ने गरेका छन् भने केही बाहिर निकासी हुन्छ। फिक्कल बजारमा पसल सञ्चालन गर्दै आएकी संगीता प्रधान इलामबाहिरका मानिसहरूको सबैभन्दा मन पर्ने परिकारको रुपमा छुर्पी र ललिपप रहेको बताउँछिन्। उनले दैनिक रुपमा ३ हजार रुपैयाँभन्दा बढीको छुर्पी र  ललिपप बिक्री गर्ने गरेको सुनाइन्।

इलामका १८ वटा चिज कारखानाले दैनिक २७ हजार लिटर दुध संकलन गर्दै आएका छन्। स्थानीय बजार क्षेत्रमा दैनिक ५ हजार लिटर दुध बिक्री हुने गरेका थियो। छुर्पी बनाउने उद्योगले दैनिक १५ हजार लिटर खपत गर्ने गरेका थिए। ललिपप, बम्बइसनजस्ता मिठाइ उद्योगले ५ हजार लिटर र भारतीय बजारमा ३ हजार लिटर दुग्ध बिक्री हुने गरेको छ।  इलाममा १८ चिज कारखाना, १५० को हाराहारीमा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाइ बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ। 

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार ३७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.