सुर्खेत : कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुँदा खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ।
कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् तर ठूला खेलकुद प्रतियोगिता सञ्चालन तथा खेल प्रशिक्षण गर्न मिल्ने भरपर्दो रंगशाला भने एउटै छैन।
कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आए पनि कर्णाली सरकार भने बल्ल जागेको छ।
गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मद्देनजर गर्दै कर्णाली सरकारले गौरवको आयोजनाको रूपमा प्रदेश रंगशाला निर्माणको कामलाई अघि सारेको छ।
सबै खेल क्षेत्रका खेलाडीले एकैपटक र एकै ठाउँमा प्रशिक्षण गर्न र ठूला खेल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी सुर्खेतको वीरेन्द्रनगरमा रंगशाला बन्ने भएको हो। उक्त रंगशाला निर्माण कार्य अबको साढे दुई वर्षभित्र सम्पन्न हुनेछ।
रंगशाला निर्माण कार्य ठेक्का लिएको एमएसी एण्ड जीएसएल कम्पनीले बेसिक काम शुरु गरेको छ। कुल लागत १ अर्ब ५९ करोडमा रंगशाला निर्माण हुनेछ।
निर्माण कम्पनीका साइड इन्जिनियर गगन थापाका अनुसार रंगशालाको डिजाइनको काम र निर्माणको काम सँगसँगै लिइने भएको छ।
कर्णालीको गौरवको आयोजना अब बन्ने प्रदेश रंगशाला १० हजार दर्शक अट्ने क्षमताको रहने छ भने यसभित्र अन्तरराष्ट्रियस्तरको भलिबल खेलमैदान, स्विमिङ पुल, फुटबल, ह्याण्ड बल, बास्केट बल र एथ्लेटिक्स लगायतका खेल हुनेछन्।
प्रदेश रंगशाला जस्तो गौरवको आयोजना कार्यान्वयन गराउन कर्णाली सरकार गम्भीरताका साथ लागेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।
‘रंगशाला निर्माणको क्रममा आउने समस्याबारे सरकार जहिले पनि साथमा रहनेछ’, उनले भने, ‘रंगशाला निर्माण कार्य छिटो सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिएका छौं।’
पर्खाइमा खेलाडी
कर्णाली प्राकृतिक हिसाबले जति सुन्दर छ त्योभन्दा बढी यहाँ अनेक सम्भावना पनि छन्। यिनै सम्भावनाको खोजी गर्नु कर्णालीको दायित्व हो।
सम्भावना हुँदाहुँदै पनि खेल क्षेत्रमा भौतिक संरचनाको अभाव झेलेको कर्णालीले अबको साढे दुई वर्षभित्र खेल जगत्मा एउटा अभावको खुट्किलो पार गर्ने निश्चित छ।
कर्णाली सरकारले गौरवको आयोजनाको रूपमा लिएको प्रदेश रंगशाला अब छिट्टै बन्ने यहाँका खेलाडीको अपेक्षा छ। भौतिक संरचनाको अभावका कारण झेल्नुपरेको समस्या अन्त्य गर्न खेडालीहरू प्रदेश रंगशाला बनेको हेर्ने पर्खाइमा छन्।
‘जति वेला जुन चिजको अभाव परेको छ। त्यो वेला कर्णाली सम्झिनेहरूका लागि अब कर्णालीका खेलाडीहरूबाट त्यो परिचयको अन्त्य हुनेछ’, जिल्ला ब्याडमिन्टन संघ सुर्खेतका प्रशिक्षक टक्कबहादुर शाहीले भने, ‘स-सानो खेल प्रशिक्षणका लागि होस् या खेल खेल्नका लागि कर्णालीबाट बाहिर जानुपर्ने बाध्यता अब भोग्नुपर्ने छैन।’
कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वामित्र संज्यालले छिट्टै कर्णालीका खेलाडीहरूले प्रदेशको पहिलो रंगशाला पाएर खेल क्षेत्रमा पनि नयाँ आयाम थप्ने दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।