सरुवा रोग अस्पताल बनाउने तयारी

|

काठमाडौं : अन्ततः प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज किन्ने टुङ्गो लागेको छ। काठमाडौंको स्वयम्भूमा रहेकोको नेपाल स्वास्थ्य सेवा सहकारीमार्फत सञ्चालनमा आउन लागेको प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज सरकारले खरिद गर्ने विषयमा निर्णय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालक समितिमार्फत सरकारलाई कलेज किन्न निवेदन आएपछि सोही अनुसार कलेज खरिद प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाएको बताए। ‘हामीलाई कलेज खरिद गर्नका लागि निवेदन प्राप्त भएको थियो। सोही अनुसार खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाइएको हो’‚ उनले भने।

यता सो कलेज खरिद गरेर त्यहाँ सरुवा रोग अस्पताल बनाउने तयारी अघि बढाइएको समेत उनले बताए। ‘प्रस्तावित मनमोहन कलेज खरिद गरेर त्यहाँ सरुवा रोग अस्पताल बनाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ तर यसमा निर्णय भने भएको छैन। हामी छलफलकै चरणमा छौँ’‚ डा. पौडेलले भने।

‘हाल कोभिड महामारीको प्रकोपका वेला नेपाल सरकारले पटक पटक प्रतिबद्धता गरे अनुसार सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्ने उद्देश्यका लागि दहचोकमा रहेको संस्थाको ६२ रोपनी जग्गा खरिद गर्दा सरकारको सह्रानीय कामको रूपमा सर्वत्र प्रशंसा हुने साथै देशी विदेशी सहयोग जुटाउन सम्भव भई स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने भएकाले चिकित्सा शिक्षा ऐनको दफा १२ को उपदफा ३ क अनुसार सम्पत्ति खरिद गरी सहयोग पुर्‍याउन अनुरोध गरिन्छ’‚ प्रस्तावित मेडिकल कलेजको सञ्चालक संस्था नेपाल स्वास्थ्य सेवा सहकारीले सरकार समक्ष पेश गरेको निवेदनमा भनिएको छ।

यसअघि एउटै विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेज सञ्चालन गर्न नपाउने र मनशाय पत्र लिएर सञ्चालनको तयारीमा रहेको मेडिकल कलेजको सम्पत्ति नेपाल सरकारले किन्ने भनेर डा. गोविन्द केसीको अनशनको समयमा सम्झौता भएबमोजिम स्वास्थ्य मन्त्रालयले मनमोहन मेडिकल कलेज खरिद गर्ने निर्णयको प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाएको बताइएको छ।

केदारभक्त माथेमा आयोगको प्रतिवेदन र सोही अनुसार बनाइएको चिकित्सा शिक्षा आयोगको ऐनमा समेत बेच्न चाहेको खण्डमा राज्यले खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त नीति अनुसार खरिद गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रस्तावित मनमोहन कलेजले मेडिकल कलेज सञ्चालनको आशय पत्र पाएर २०७० सालबाट सञ्चालन हुँदै आएको थियो । त्यसका लागि एमबीबीएस कार्यक्रम सचालन गर्न नेपाल मेडिकल काउन्सिलले पनि अगाडि बढ्न बाटो खोली दिएको थियो।

हाल मनमोहन मेमोरियल मेडिकल कलेजले मनशाय पत्र बमोजिम १ सय रोपनी जग्गा खरिद गरी बेसिक साइन्स भवन निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वका सातवटा बैंकको कन्सोर्टियमबाट त्यतिवेला १ अर्ब ३० करोड लिएको ऋण करिब १ अर्ब ब्याज चुक्ता गर्दा पनि २ अर्ब ३५ करोड तिर्न बाँकी भएको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.