|

बागलुङ : पातीहाल्ने बागलुङ, रोल्पा र रुकुमको सिनामा हो। केही वर्ष अगाडिसम्म गुमनाम रहेको पातीहाल्ने अहिले निकै चर्चामा छ। मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्ने केही वर्ष अगाडिसम्म सुनसान थियो। वर्षातको समयमा गोठालेहरूले भेडाबाख्रा र वस्तुभाउ चरनको रुपमा प्रयोग गर्थे।

हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो। तर अहिले विस्तारै बाह्रै महिना यहाँ आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ।

वर्षातको समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू घुम्न आउने गर्छन्। उच्च पहाडी हावापानी, शान्त वातावरण र यहाँबाट देखिने मनमोहक दृश्यहरूले धेरैलाई तान्ने गरेको छ। निसीखोलाको शिर मानिने पातिहाल्ने लोकमार्ग कालोपत्रे भएपछि बढी चर्चामा आएको हो। त्यसभन्दा अगाडि यसको त्यत्ति चर्चा थिएन। यहाँ हिउँदमा बजार क्षेत्रबाट थकान मार्न र गर्मी छल्न त्यहाँ पुग्छन् भने हिउँदमा हिउँ खेल्न जाने गर्छन्।

पातीहाल्नेमा हरेक दिन मान्छेहरूको आवतजावत बाक्लिँदै गएको छ। यहाँ बस्ती समेत विकास भइरहेको छ। पातिहाल्नेसँग जोडिएको रिगतालमा पनि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ। पातिहाल्ने पुग्ने मान्छे अधिकांश रिगताल पुग्ने गर्दछन्। ३२ सय मिटर उचाइमा रहेको यस तालसम्म पुग्ने सडक निर्माणसमेत भएको छ। सडकले तालसम्म पुग्नका लागि पर्यटकलाई सजिलो बनाइदिएको छ। सिमानाबाट गाडीमा ५ मिनेट र मैदल १५ मिनेटमा रिग ताल पुग्न सकिन्छ।

रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याउने गरेको छ। यहाँ खास गरि बिदाको दिन बढी आन्तरिक पर्यटकहरू पुग्ने गर्छन्। ताल र पातीहाल्ने क्षेत्र निसीखोलाको चिनारीका रुपमा लिइन थालिएको छ। यहाँ विशेष गरी दुई सिजनमा आन्तरिक पर्यटकको अत्याधिक भिडभाड हुन्छ।

५-७ वर्ष अघिसम्म गाउँका भेडी गोठालेहरूले पानी खाने ताल र घना जंगलले ढाकिएको पातीहाल्नेमा अहिले सडकले गर्दा बस्ती बिस्तार हुन थालेको स्थानीय मनबहादुर घर्ती मगर बताउँछन्।

‘अहिले जुन ताल छ, त्यो पहिलो भेडीगोठालाहरूले पानी खाने ठाउँ हो। अझै पनि यहाँबाट गोठालेहरूले पानी भरेर उपयोग गर्ने गर्छन्। तर पहिलेको जस्तो रहेन। अहिले त थप व्यवस्थित भएको छ। गाउँपालिकाले पनि संरक्षण गर्न थालेको छ। पर्यटकहरू आउन थालेका छन्, निकै प्रचार पो भयो’, उनले भने, ‘पातीहाल्ने र रिग ताल सडकले गर्दा यति धेरै चर्चामा आएको छ, पहिले त त्यस्तो केही थिएन, जो कोही पुगेका पनि थिएनन्।’

रिगतालको नाम खास गरि मगर खाम भाषाबाट बनेको हो। ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात एकै ठाउँ जमेको भन्ने बुझाउँछ। यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घाखाँची, पर्वत लगायतका ठाउँहरूको देख्न सकिन्छ भने माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका दर्जनौँ हिमश्रृंखला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ।

गुल्मीबाट सिमाना घुम्न गएकार महेश पौडेलले यो ठाउँ अत्यन्तै सुन्दर भएको भन्दै यहाँ पटक–पटक आउने गरेको बताए।

सडक राम्रो भएको हुँदा बुर्तिबाङबाट एक घण्टामै पुग्न सकिने भन्दै अहिले धेरै जसो मान्छेहरू बिदाको दिन यहाँ आउने गरेको उनको भनाई छ।

‘म अहिलेसम्म ६-७ पटक पुगेँ, तर यहाँ पुगेर फर्किएपछि फेरि जाउँ–जाउँ हुन्छ, समय मिलेसम्म साथीहरूसँग जाने गरेको छु’, उनले भने, ‘अहिले त बिदा भयो कि पातीहाल्ने जाने त ट्रेण्ड नै भयो, धेरै जसो मान्छेहरू परीवार र साथीहरूसँग जाने गर्छन्, अहिले त्यो ठाउँ निकै चर्चित भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.