|

पर्वत : पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्गको हेम्जा क्षेत्रलाई ‘भाइरल रोड’ का नामले पनि चिन्ने गरिन्छ।

मध्यपहाडी लोकमार्गको काम सकेर सडकमा रङरोगन भयो, ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्न हेम्जाको सडकमा राखिएका छन्। त्यही सडकमा बसेर ‘टिकटक’ का लागि ‘भिडियो’ खिच्नेहरूका कारण सडकको नाम नै ‘भाइरल रोड’ बन्यो।

भिडियो खिच्नेहरूका लागि उक्त सडक रङ्गीबिरङ्गी भए पनि ट्राफिक प्रहरीको लागि भने ‘भाइरल’ चिन्ताको विषय बनेको छ।

पोखरा–बागलुङ सडक मध्यपहाडी लोकमार्गमा रूपान्तरण हुनुपूर्व पनि हेम्जा क्षेत्र अत्यधिक दुर्घटना हुने स्थलको रूपमा चिनिँदै आएको थियो। हेम्जाको समथर भूभागमा डोरी तन्काएजस्तो सीधा सडक पाएपछि चालकले एक्सिलेटर दबाएको थाहै पाउँदैनथे। 

सवारीको गति तीव्र भइसक्दा पनि चालकलाई सहजै लागेको हुन्थ्यो तर अचानक सडकमा केही देखा परे ब्रेक लगाउँदा सवारी रोकिने स्थिति हुँदैनथ्यो।

हेम्जाको सडक अहिले ६ लेनको बनेको छ। सडकमा स्पष्ट रेखा र ट्राफिक सङ्केत अनि परसम्मको अवस्था वरैबाट देख्न सक्ने सीधा सडक भएपछि ‘भाइरल रोड’ मा चल्ने सवारीहरू पहिलेको तुलनामा अझ तीव्र गतिमा गुड्न थालेका छन्।

केही वर्ष पहिलेसम्म केही घर रहेको हेम्जा अहिले करिब करिब बजारमा परिणत हुन लागेको छ। यही कारण सडकमा पैदल यात्री, सवारीसाधन र चौपायाको सङ्ख्या पनि बढ्दै गएको छ।

दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले त्यहाँ अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि हेम्जाको सडकमा विशेष निगरानी बढाएको छ।

कार्यालय प्रमुख प्रकाश शाह ठकुरीका अनुसार उक्त सडकमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो। सडकमा दुर्घटनाको सङ्ख्या बढ्दै गएको र चालकहरूले पनि तीव्र गतिमा सवारी हाँक्ने क्रम नघटेपछि ‘राडार गन’ सहितको ट्राफिक प्रहरीले छड्के जाँच शुरु गरेको हो।

‘राडार गनमा गति नापेर हेर्दा प्रति घण्टा १ सय १५ किलोमिटरसम्मको गतिमा सवारीहरू कुदेको देखियो। यो स्पिडमा रहेका सवारीहरू चाहेको ठाउँमा कसरी रोकिन्छन्? दुर्घटना बाहेकको विकल्प नहुने अवस्था आउन सक्छ,’ ठकुरीले भने, ‘गनमा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ। चालकले हामीलाई देखेको हुँदैन तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ।’

शुक्रबार गरिएको आधा घण्टाको छड्के जाँचमा ४० ओटा सवारीसाधनलाई कारबाही गरेर सम्झाइबुझाई पठाइएको उनको भनाई छ। नियन्त्रणमा लिइएकामध्ये अति तीव्र गतिमा रहेकाहरूलाई प्रति सवारी हजार रुपैयाँ जरिवाना गरिएको छ भने सामान्यभन्दा केही माथिको गतिमा रहेकाहरूलाई सम्झाएर छाडिएको छ।

मध्यपहाडी लोकमार्ग ‘हाइवे’ भए पनि हेम्जा खण्डमा भने चालकले चाहेको गतिमा सवारी कुदाउन नपाइने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ठकुरी बताउँछन्। ‘भाइरल रोड’ रहेको हेम्जा क्षेत्रमा बस्ती बाक्लो भइसकेको र पदयात्रीको चाप पनि निकै बढीसकेका कारण ‘हाइवे’ को गतिमा सवारी गुडाउन नपाउने उनको भनाइ छ।

हेम्जा क्षेत्र शुरु हुने घट्टेखोलादेखि नै बस्ती रहेका कारण त्यो सडकमा प्रति घण्टा ४० किलोमिटरभन्दा माथिको गतिमा सवारी गुडाएको पाइए ‘राडार गन’ सहित बसेको ट्राफिक प्रहरीले कारबाही गर्नेछ।

‘राडार गन’ ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्तिको अन्त्य हुने र दुर्घटनाको सङ्ख्या बढ्दै गएको हेम्जाको ‘भाइरल रोड’ यात्राका लागि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.