|

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारले १ वर्षे कार्यकाल सफल भएको दाबी गरेको छ।

प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले आइतबार मुख्यमन्त्री  केसीको नेतृत्वमा गठित सरकारको १ वर्षे कार्यकाल सफल भएको दाबी गरेका हुन्।

केसी नेतृत्वमा गठन भएको प्रदेश सरकारले १ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष ०७८/७९ मा आर्थिक वृद्धिदर ५ दशमलव ३६ प्रतिशतले प्रतिव्यक्ति आय र १ हजार १०३ युएस डलर तथा राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा १४ दशमलव १ प्रतिशत योगदान रहेको बताए।

उनले बजेट कार्यान्वयनको सन्दर्भमा पुँजीगत ७७ दशमलव ४७ प्रतिशत र चालूमा ७० दशमलव २२ प्रतिशत कुल खर्च ७४ दशमलव २० प्रतिशत भएको पनि बताए।

उनले  प्रदेश सरकारले गरेका कामको ५२ बुँदे कार्य प्रगति प्रस्तुत गरेका थिए। उनले प्रदेश सरकारले प्रदेशवासीहरूको जीवन समृद्ध बनाउने गरी काम थालेको पनि बताए।

उनले नेपालमा संघीयता कसैको व्यक्तिगत चाहना र इच्छाले नआएको भन्दै ठूलो बलिदान र आन्दोलनबाट प्राप्त आएको संघीयतालाई कमजोर बनाउने लागेको पनि आरोप लगाए। उनले प्रदेश सरकारलाई कमजोर ठान्ने प्रवृत्तिविरुद्ध प्रदेश सरकार आन्दोलनमा जाने पनि बताए।

उनले भने, ‘प्रदेश सरकारलाई कमजोर बनाउने गरी संघीय सरकार पनि लागेको छ, हामीले भर्खरै जग बसालेको प्रदेशले नै खर्च बढी गरेको छ। संघभन्दा त प्रदेश नै कामकाजी भएको छ।’

अर्थसचिव नेत्रप्रसाद सुवेदीले ४० अर्ब ९५ करोडको बजेटमा ३७ अर्ब ११ करोड आम्दानी भएको बताए। आन्तरिक राजश्वको क्षेत्रमा आफ्नो प्रदेश सरकारको प्रशासनिक खर्च सञ्चालनका लागि नै धान्न कठिन भएकाले त्यसलाई प्रदेश मन्त्रालय हल गर्ने गरी अगाडि बढाउने तयारी गरिरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.