|

बैतडी : आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको छ।

सोमबार  बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो।

जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनु पर्ने अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाएको छ।

संघमा नेपाली कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको छ।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसले टिकट नपाएमा गठबन्धन दलहरुसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णयका बिषयमा पनि जानकारी गराइएको छ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने निर्णय गरेको छ। समानुपातिकमा महिला, खसआर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो।

बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीका साथै पूर्व पार्टी सभापति शिवराज भट्ट, महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐर, सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य कान्ता चन्द, तेजबहादुर चन्दलगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

गठबन्धन दलहरुबीच बैतडीमा कसले टिकट पाउने भन्ने निर्णय नभइसकेको अवस्थामा नेपाली कांग्रेस बैतडीले गरेको निर्णयले यो बिषय झन् पेचिलो बन्ने देखिएको छ।

गठबन्धन दलहरुबीच सीट बाँडफाँडका बिषयमा सहमति नभइसकेको अवस्थामा बैतडी कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

स्थानीय तहको निर्वाचन बैतडीमा कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८ र नेकपा एकीकृत समाजवादीको ३ हजार १४० मत प्राप्त गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.