|

विराटनगर : शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै  पुनः परीक्षा गराउन परीक्षार्थीहरूले माग गरेका छन्।

विराटनगर-१८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा रिक्त रहेको ३ जना शिक्षक पदपूर्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेलका कारण निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग राख्दै आइतबार विद्यालय परिसरमा परिक्षार्थीहरू भेला भए।

परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीले शिक्षक पदपूर्तिको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लगाउँदै आएका छन्।

१४४ जना विद्यार्थी अध्ययरत रहेको श्रीराम आधारभूत विद्यालयमा २ जना करार र १ जना राहत शिक्षकको दरबन्दी २ वर्षदेखि रिक्त रहेको थियो। रिक्त रहेको शिक्षकको पदपूर्तिको लागि विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको थियो। जसमा २२ जनाले आवेदन दिएका थिए।

आवेदन दिएकामध्ये १० जनामात्र परीक्षामा सामेल भएको र अन्य १२ जनालाई विद्यालयले परीक्षाको मिति जानकारी नै नगराएको कारण परीक्षा दिनै वन्चित हुनुपरेको उनीहरूको भनाई छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संयोजक रहेर परीक्षा हुनुपर्ने हो तर नभएको परीक्षार्थी विरेस यादवले बताए। उनले वडाध्यक्षको संयोजत्वमा परीक्षा भएको आरोप लगाउँदै विधिसंगत नभएको गुनासो गरे।

पदपूर्तिमा सुनियोजित तरिकाले वडाअध्यक्षले आफ्नो मान्छे शिक्षक नियुक्त गरेको आरोप लगाउँदै उनले भने, ‘पुनःपरीक्षा हुनुपर्छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रकाश ऋषिदेव उपस्थित नभएपछि विराटनगर-१८ का वडाध्यक्ष जितेन्द्रकुमार शाहको संयोजत्वमा परीक्षा भएको व्यवस्थापकले जनाएको छ।

परीक्षाबाट उत्कृष्टको आधारमा एलिना सिंह, सरस्वती राजवंशी र कल्याणी मण्डललाई नियुक्त गरिसकेको छ।

उनीहरूमध्ये सिंह राहतका शिक्षक हुन् भने राजवंशी र मण्डल करारका हुन्। उनीहरूलाई विराटनगर महानगरपालिकाले आइतबार नियुक्ति दिएको छ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाबाट विज्ञ टोली ल्याएर परीक्षा गराएर उत्कृष्ट हुनेलाई नियुक्ति दिएको विद्यालयका प्रधानाध्यापक राजिवकुमार यादवले बताए।

‘परीक्षाको मिति तय गरेपछि शिक्षा महाशाखाले उत्कृष्टको आधारमा शिक्षक नियुक्त गरेको हो,’ उनले भने।

विराटनगर-१८ का वडाध्यक्ष जितेन्द्रकुमार साहले आफू विद्यालयको पदेन सदस्य भएको र वडाध्यक्ष बिरामी भएको भन्दै अनुपस्थित भएको कारणले आफू संयोजक रहेर शिक्षक पदपूर्तिको लागि परीक्षा गराएको बताए।

विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले परीक्षाको लागि विज्ञको टोली माग गरेपछि परीक्षा भएको र उत्कृष्ट नतिजा ल्याउनेलाई छनोट गरिएको बताए।

२ वर्षदेखि पदपूर्ति हुन नपाउँदा पठनपाठनमा समस्या भएको थियो। विद्यार्थीको पठनपाठन सहज बनाउन विधि र प्रक्रिया पूरा गरेर नै शिक्षक नियुक्त गरिएको उनले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.