|

काठमाडौं : दलहरूबीच समीकरण बदलिएर नयाँ सरकार बनेसँगै फेरि वाम एकताको बहस शुरु भएको छ। त्यसको शुरुवात एमाले र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बीचको एकताबाट गर्ने चर्चा छ। केही दिन अघिसम्म सत्तामा रहेको समाजवादी अहिले सत्तापक्ष कि प्रतिपक्ष टुंगिएको छैन।

दुई वर्षअघि एउटै दलबाट छुट्टिएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकै ठाउँमा आइसकेको अवस्था छ। समाजवादी भने के गर्छ? भन्ने सर्वत्र चासोको विषय बनेको छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रहेर नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाँक्रीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : 

दलहरूबीच बनेको नयाँ समीकरणप्रति तपाईंको टिप्पणी के छ?

निर्वाचन पछाडि सरकार निर्माण र गठबन्धन भत्किन पुग्यो। नयाँ समीकरण बन्यो। समीकरण बन्ने कुरामा समाजवादी सामेल छैन।

निर्वाचनपछि पनि गठबन्धन नै अगाडि जान्छ र जनतासामु जाँदा पाँच वर्ष स्थिर सरकार दिने कुरा गरेको हो। परिस्थिति बदलियो। फेरिएको परिस्थिति के कारणले भएन? विकसित राजनीति कसरी अगाडि बढ्यो? भन्ने राजनीतिक अर्थ रहन्छ। यसको समीक्षा हाम्रो पार्टीले गर्नै बाँकी छ। अन्य पार्टीले पनि पक्कै गर्लान्। 

नयाँ समीकरण आवश्यकता थियो या थिएन 

वामपन्थीको ग्राउण्डका हिसाबले जहिले पनि नेपालमा वामपन्थीहरू एक ढिक्का हुन् भन्ने कुरा जनता सहमत नै देखिने गरेका छन्।

यो निर्वाचनमा वामपन्थीसँग भएको जनमत पनि अलिक घटेको  देखिएको छ। कारण वामपन्थी दलले जनताको पक्षमा काम नगरेको हो कि भन्ने देखिएको छ। इतिहासदेखि नै एक हिसाबले जनजीविकाको सवालमा, समाजको पिँधको कुरा, यी विषयहरू वामपन्थीले नै उठाउँदै आएका थिए।

दुनियाँ भरी वामपन्थीले यस्ता विषय उठाउँदै आएका छन्। यी विषयबाट हामी च्युत भएका छौं। जसकारण जनमत अरूतर्फ गएको छ। यी विषयको बारेमा समीक्षा गर्ने वेला भएको छ। 

तर, वामपन्थीहरूको ध्रुवीकरणको पूर्वएकताको एकचरणको कुरा त आफ्नो दस्तावेजमा पहिलो प्याराग्राफमा राख्छन्। राष्ट्रिय वा अन्तरराष्ट्रिय परिस्थितिको जगमा  नेपालमा वामपन्थीहरू एक ठाउँमा हुनुपर्छ भन्ने उद्देश्य राखिरहेका हुन्छन्। 

ती उद्देश्यहरू शक्ति र प्रवृत्तिको विश्लेषण हुन्छ। विश्लेषणका आधारमा उनीहरूसँग एकता गरी रूपान्तरण हुने न्यारेटिभ हुन्छ नै। 

ओली र प्रचण्ड मिल्नु वाम एकताको नयाँ अध्याय हो भन्न सकिएला

पहिलो कुरा त सरकार प्राप्तिसँग सम्बन्धित रह्यो। किनभने निर्वाचनअघिको गठबन्धनको दलभित्र त्यो कुरा मिलेन। गठबन्धन तोडियो।

त्यसकारण यो नयाँ समीकरण बन्यो। भविष्यमा वामपन्थीहरूले जनताका मुद्दा उठाउनुपर्छ। यसरी जाने क्रममा क्रमबद्ध रूपमा सरकारको निर्माण, योजना निर्माण, कार्यान्वयनका पक्ष, संरचनाको सही दिशा भयो भने अहिले भएको यो समीकरण ठिक थियो भन्न सक्छौं।

अहिले नै सरकार पूर्णता नभइसकेको अवस्थामा सरकारले के गरिरा’छ? यसका कार्यक्रमहरू के-के हुन्? भन्न हतारो हुन्छ। ग्रास लेभलमा रहेका वामपन्थीहरू मिलून् भन्ने चाहनालाई मुखरित गर्न कार्यक्रमहरुमा नीति, विचार, संगठन र संघर्षको क्षेत्रमा एकताबद्ध गरेर जान्छौं भन्ने कुराको क्रियाशीलता हुनुपर्छ।

यो सबै दलमा हुनुपर्छ। कुनै एक दलले गर्ने बित्तिकै हुने कुरा होइन। कसले ठूलो भूमिका खेल्छ भन्ने त होला तर एक दलको चाहना न वामपन्थीको एकता हुन्छ न गैरवामपन्थीसँग ध्रुवीकरण हुन्छ। सबैले महसुस गर्नुपर्छ। 

चुनाव अगाडि मिलेर जाने वातावरण थिएन। किनभने  हामी फरक एजेण्डामा थियौं। प्रतिनिधिसभाको विघटन पछाडि जुन हिसाबको राष्ट्रिय परिस्थिति बन्यो। संविधान कार्यान्वयनका लागि संसद्लाई पूर्ण कार्यकाल सक्रिय बनाउन, संसदीय प्रणालीलाई थप बलियो बनाएर सञ्चालन गर्नका लागि संविधानमा जे व्यवस्था थियो‚ त्यसको अक्षरसः पालनाका लागि विद्रोह पनि भएको थियो।

त्यसैको आधारमा अगाडि बढेका कारण चुनावअगाडि वामपन्थी मिल्ने न कुनै वातावरण थियो, न कसैले त्यसलाई स्वीकार गर्थ्यो। चुनावपछिको परिणाम र शक्ति सन्तुलनको फेरबदलको आधारमा चाहिँ नयाँ ढंगले वाम एकता सोच्न सकिन्छ भन्ने ठाउँ चाहिँ दियो। 

राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनमा बाँडफाँडका कुरा त होलान्। ती सबै प्रक्रियाबाट हामी बाहिर भएको कारणले गर्दा त्यतातिर चासो र रुचि नराखेका हौँ। 

तपाईंको पार्टीका अध्यक्ष माधव नेपालसँग एमाले नेताहरुको भेटलाई कसरी हेर्ने?

व्यक्तिगत भेटघाटको कुरा स्वभाविक हो। किनभने त्यसले पार्टीबीच सकारात्मक वातावरण बन्न सक्छ तर एकता परियोजनाका लागि कुनै पनि एजेण्डामा छलफल भएको मलाई थाहा छैन।

सरकारको सञ्चालन र निर्माणमा समाजवादी निर्णायक पार्टी होइन। त्यसकारण पनि समाजवादी पार्टी नहुँदा पनि सरकार बन्ने र एकदमै राम्रो बहुमत हुने माहोल बनिहाल्यो। त्यसकारण हामी हरेक प्रक्रियामा नभएको कारणले पनि अहिले पार्टी एकताको कुनै संवाद भएको छैन। बाहिर आएका कुराहरू केवल अनुमान मात्र हुन्। 

एकता हुन्छ भन्ने माहोल सिर्जना गर्न खोजिँदैछ। यो विषयमा न कुनै संवाद छ, न कुनै निर्णय नै। यो वेला एकताबारे बहस भएका छन् भनेर भन्नु हतार हुन्छ। वामपन्थी एक होऊन् भन्ने राष्ट्रिय चाहना हो तर आज मुखरित भएको छैन। भुलभुलैयामा आफ्ना सबै चिज भुलेर बस्न पनि हुँदैन। पार्टीको केन्द्रीय समितिको बैठक आह्वान हुँदै छ।

त्यसमा पार्टीको निर्मम समीक्षा हुन्छ। हतारमा कुनै पनि निर्णय गरेर फुर्सदमा पछुताउन नपरोस् । बरु पार्टीलाई सुदृढ गरौं। पाँच वर्षमा पार्टीलाई सुदढीकरण गरेर जाऔँ भन्ने लाग्छ।  

अहिले तपाईंहरुको सांसद संख्या एमालेका लागि अर्थपूर्ण छ नि !

गणितीय विषयले राजनीतिलाई कुनै असर गर्दैन किनभने सरकार बनिसकेको छ। संसद्‍ र सार्वजनिक ठाउँमा संसदीय संघर्षको माध्यमबाट हामीले जनताका विषय उठाउने, जनतालाई पुनः जागृत  गर्ने, व्यापक जनाधार निर्माण गरेर समाजवादी बनाउने  उद्देश्य लिएका छौँ।

त्यसो भएको हुँदा यसमा कुनै हतारो छैन। पार्टी एकता कहिले हुन्छ भनेर आफ्ना सारा काम छोडेर नबस्न हाम्रा सबै साथीहरूलाई आग्रह गर्छु।

माधव नेपाल अलि अन्योलमा हो कि जस्तो देखिन्छ, पार्टी गठन गर्दाको जस्तै तपाईँको केही भूमिका हुन्छ ?

उहाँ त्यस्तो अन्योलमा हुनुहुन्छ जस्तो लाग्दैन। जब पार्टी फुट्यो नेता तथा कार्यकर्ता तितरबितर भएको अवस्था थियो। अन्योल थियो। त्यो अन्योलमा हामी जति थियौँ। हाम्रो सांसद पदविरुद्ध संसद् सचिवालयमा दर्ता थियो।

त्यो हाम्रो राजनीतिक अवस्था खराब  स्थिति थियो। त्यो वेला हामी अगाडि बढेका थियौँ। अगाडि बढ्दै जाँदा हामीले जे काम गर्नुपर्थ्यो त्यो गर्न सकेनौं होला। १ वर्षको समय पर्याप्त थिएन।

वि.सं २००६ मा जन्मिएको कम्युनिष्ट पार्टी २०३५ मा आउँदासम्म रक्षात्मक अवस्थामा थियो। हाम्रो उपस्थितिले राष्ट्रिय राजनीतिको मोड फरक पर्ने भएको भए कुनै एक जिम्मेवारी लिएर काम गर्न सकिन्थ्यो तर त्यस्तो देखिएन। 

पार्टीको अवस्था जोखिममा रहेको महसुस हुँदैन? 

स्थानीय तहको निर्वाचनपछिको समीक्षामा हाम्रो भोट यो हो या त्यो हो भनेर नेताहरूले भन्दै गर्दा हाम्रो आन्तरिक मूल्यांकन छुट्टै थियो। किनभने बरु हामीले एउटा वडामा सय मत पाउँदा धेरै मत ल्याउन सकिन्छ।

अहिले बरु त्यो स्तरको संगठन बनाऔँ भन्ने अभियान थियो। मिडिया वा सोसल क्याम्पेनिङले भोट आउँदैन भन्ने थियो कम्युनिष्ट पार्टीको। कम्युनिष्ट पार्टीलाई संगठित फोर्सले मात्र भोट हाल्ने हो।

स्थानीय तहमा बाँडफाँड र गठबन्धन त्यति राम्रो भएन भन्ने मूल्यांकन थियो नै। टिकट लिने कुरा पनि पापड बेल्ने कुरा पनि आए। त्यसमा पार्टी निर्णायक थिएन। बाहिर जे आए पनि हामी रक्षात्मक छौं।

अब सरकारमा जाने कि नजाने ? 

मैले भनिसकेँ- हामी निर्णायक शक्ति नभएकाले हामी सरकारमा जाने वा नजाने कुराले खास फरक पार्दैन। तत्काल सरकारको नीति तथा कार्यक्रम हेरेर सरकारको समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा भने बैठकपछि निर्णय होला। 

केपी ओलीको प्रतिगमन सच्चियो भनेर बुझ्दा हुने हो? 

हामी त्यतिसम्मको विश्लेषणमा पुग्न त अझै समय छ। हतार किन गर्ने? ओलीको कदम प्रतिगमन थियो या थिएन? हिजो पार्टी फुटाउनु ठीक थियो या थिएन भन्ने सन्दर्भमा पनि छलफल होला। त्यसको समीक्षा होला। अहिले नै ‘फरगेट यस्टर्डे’ भन्दै  हिँड्ने अवस्था छैन।

हिजो जुन अवस्थामा पार्टीमा विद्रोह गरेर नयाँ पार्टी गठन गरेर आएका थियौं। हाम्रा विश्लेषणहरूमा बदलाव आएका छैनन्। नयाँ विश्लेषण गरिसकेका पनि छैनौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.