|
सबै तस्वीर सौजन्य : रोयटर्स

‘किङ अफ रक एण्ड रोल’ मानिने अमेरिकी गायक एल्भिस प्रेस्लीकी छोरी लिसा मेरी प्रेस्लीको बिहीबार (स्थानीय समयअनुसार) मृत्यु भएको छ।

उनकी आमा प्रिसिला प्रेस्लीले विज्ञप्ति जारी गरि छोरीको मृत्यु भएको जानकारी दिएकी हुन्। गायिका लिसा ५४ वर्षकी थिइन्।

हलिउडको मनोरञ्जनसम्बन्धी वेबसाइट टिएमजेले लस एन्जलसको बाहिरी नगरक्षेत्र कालाबासासस्थित आफ्नै घरमा लिसालाई हृदयाघात भएको जनाएको छ।

हृदयाघात हुनासाथै उनलाई अस्पताल लगिएको र उनको मृत्यु भएको उनकी आमा प्रिसिलाले विज्ञप्तिमा उल्लेख गरेकी छन्। लिसा एल्भिस-प्रिसिला दम्पतीकी एकमात्र सन्तान हुन्।

आफ्नी सुन्दर छोरीले संसार छाडेको हृदयविदारक समाचार दिनुपर्दा आफू अत्यन्त मर्माहत भएको प्रिसिलाले विज्ञप्तिमा उल्लेख गरेकी छन्। यस्तो दुःखद क्षणमा आफूलाई सम्हाल्न कठिन हुने भएकाले आफ्नो एकान्त नबिथोल्न पनि उनले सबैसँग अनुरोध गरेकी छन्।

लिसा यसै साता बेवर्ली हिल्समा आयोजित गोल्डन ग्लोब अवार्ड समारोहमा सहभागी भएकी थिइन्। समारोहमा उनका पितामाथि निर्मित फिल्म ‘एल्भिस’ मा एल्भिस प्रेस्लीको अभिनय गरेका अभिनेता अस्टिन बटलरले बेस्ट एक्टरको अवार्ड जितेका थिए। बटलरले अवार्ड थाप्दै लिसा र उनकी आमा प्रिसिलाप्रति आभार व्यक्त गरेका थिए।

‘एल्भिस’ मा अस्टिनका सहअभिनेतासमेत रहेका टम ह्यांक्ससहित जोन ट्राभोल्टा र रिटा विल्सनलगायत हलिउड अभिनेता/अभिनेत्रीका साथै फेशन डिजाइनर दोनातेला वर्सासेले लिसाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रिटा टम ह्यांक्सकी पत्नी हुन्।

‘आज राति भएको लिसाको अकल्पनीय‚ दुःखद निधनले हाम्रो मन छियाछिया भएको छ। टम र मैले फिल्म ‘एल्भिस’ को प्रवर्द्धनका दौरान लिसाको परिवारसँगै समय बिताएका थियौं‚’ रिटाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्‚ ‘लिसा स्पष्ट‚ शिष्ट र अत्यन्त सरल थिइन्। उनी फिल्मले राम्रो गर्ने अपेक्षामा थिइन्।’

लिसाको गायन करियर र विवाह

लिसाको जन्म सन् १९६८ फेब्रुअरी १ मा टेनेसी राज्यको मेम्फिसमा भएको थियो। उनी नजन्मिँदै एल्भिसको घर ‘ग्रेसल्याण्ड म्यान्सन’ पर्यटकीय आकर्षणको केन्द्र बनिसकेको थियो। उनका बुवा एल्भिसको त्यही घरमा मृत्यु हुँदा उनी ९ वर्षकी थिइन्।

एलबम ‘टु हुम इट मे कन्सर्न’ बाट सन् २००३ मा उनको गायन यात्रा शुरु भएको थियो। त्यसपछि सन् २००५ मा ‘नाऊ ह्वाट’ निस्केको थियो। दुवै एल्बम बिल्बोर्ड एल्बम चार्टको टप टेनमा रहँदै लोकप्रियता कमाउन सफल भएका थिए।

सन् २०१२ मा उनको तेस्रो एल्बम ‘स्टोर्म एण्ड ग्रेस’ सार्वजनिक भएको थियो।

चार पटक विवाह गरेकी उनले सुप्रशिद्ध गायक माइकल ज्याक्सनसँग सन् १९९४ मा लगनगाँठो कसेपछि औधी चर्चित भएकी थिइन्। उनले पहिलो पति संगीतकार डानी किओसँग सम्बन्धविच्छेद गरेको २० दिनपछि नै ज्याक्सनसँग बिहे गरेकी थिइन्।

ज्याक्सनसँग उनले सन् १९९६ मा पारपाचुके गरिन् जतिवेला ज्याक्सन बाल यौन दुर्व्यवहारको आरोपका झमेलामा फसेका थिए।

एल्भिसका प्रसंशक अभिनेता ‍निकलस केजसँग उनले सन् २००२ मा तेस्रो विवाह गरिन्। बिहेको ४ महिना बित्दा नबित्दै केजले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका थिए।

यसपछि लिसाले चौथो विवाह आफ्नै गीतमा गिटार बजाएका गिटारवादक तथा निर्माता माइकल लकउडसँग गरिन्। लकउडसँग सन् २०२१ मा उनको सम्बन्धविच्छेद भएको थियो।

लिसाका एकमात्र छोरा बेन्जामिन किओको मृत्यु सन् २०२० मा भएको  थियो। संगीतकार बेन्जामिन त्यस वेला २७ वर्षका थिए। लस एन्जलसका काउन्टी कोरोनर (अनुसन्धान अधिकारी_ले किओको मृत्युलाई आत्महत्या घोषणा गरेका थिए।

लिसाले पिपल म्यागाजिनमा यसै वर्षको शुरुवातमा लेखेको एउटा निबन्धमा छोराको मृत्युले आफ्नो जीवन ध्वस्त भएको उल्लेख गरेकी थिइन्।

पहिलो पतिबाट उनकी ३३ वर्षीया अभिनेत्री छोरी राइली किओ छन् भने चौथो पतितर्फबाट उनका १४ वर्षीया जुम्ल्याहा छोरी हार्पर लकउड र फिन्ली लकउड छन्।

तस्वीरमा लिसा प्रेस्लीः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.