बिजुली बस पनि सोह्रै आना शोषण गर्दै

|

काठमाडौं : सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले राजधानी काठमाडौं वायु प्रदूषण र ध्वनि प्रदूषण कम गर्न भन्दै बिजुली (विद्युतीय बस)बाट सेवा थाल्यो।

तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले २०७६ भदौमा उक्त बिजुली बसको उद्‍घाटन गरे। त्यसबेला पहिलो चरणमा दुईवटा सार्वजनिक विद्युतीय बसबाट सेवा सुरू भयो। 

अहिले साझा यातायातले पनि विद्युतीय बस सञ्चालनमा ल्याएको छ। तर, बिजुली बस सञ्चालनमा आएको ४ वर्ष भइसक्दा पनि डिजेलबाट चल्ने बसहरू बराबर नै भाडा लिइरँदा यात्रुहरूले कुनै किसिमको सहुलियत मिलेको महशुस गर्न सकेका छैनन्। 

विद्युतीय बसमा कुनै प्रकारको इन्धन खपत हुँदैन। त्यसैले यो बसबाट भाडा कम नै हुनुपर्ने हो। तर, डिजेलबाट जति भाडा लिन्छ, त्यति नै बिजुली बसले पनि भाडा असुल्छ।

साझा यातायात काठमाडौं उपत्यकाका यात्रुहरूका साथै अन्तर-प्रदेश यात्रुहरूलाई दक्ष र किफायती सार्वजनिक यातायात उपलब्ध गराउन सन् वि.स. २०१८ मा स्थापना भएको सहकारी सार्वजनिक यातायात संस्था हो।

साझाको मिसन छ,‘नेपालमा सहरी र अन्तर–जिल्ला सार्वजनिक यातायात सेवाहरू, साथै क्षेत्रीय शहरहरूमा झण्डा–वाहक क्रस बोर्डर सेवाहरूको सस्तो, प्रभावकारी र सुरक्षित तरीकाले प्रदान गर्ने अग्रणी यातायात एजेन्सी बन्न।’

तर,अहिले डिजेलबाट चलेका बसले चढ्नेबित्तिकै २० रूपैयाँदेखि ४० रूपैयाँसम्म भाडा लिन्छन्।

यसैगरी विद्युतीय बसले पनि यसै दरमा भाडा असुल्छन्। राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन बिजुली बस सस्तो भए पनि डिजेलबाट चलेको बसकै समान रूपले भाडा लिँदा यात्रुहरू ठगिरहेको बताउँछन्। 

उनी भन्छन्,‘डिजेलबाट चल्ने बसको भाडाभन्दा बिजुली बसबाट चल्ने बसको भाडा निकै कम हुनुपर्ने हो, तर डिजेल र विद्युतीय बसको भाडा बराबरी नै छ।’

उनका अनुसार अहिले यहाँ कम्तीमा ३० प्रतिशत सार्वजनिक विद्युतीय बस चल्छन्। यो अवस्थामा डिजेलकै मूल्य लिएर भाडा लिन्छन्। ‘यो भनेको उपभोक्तामाथि सोह्रै आना शोषण गर्दै आएका छन,’उनले भने।

उनका अनुसार काठमाडौंबाट बर्दिबास सम्म १ सय ५८ किमी छ। ‘दूरी पार गर्न डिजेल गाडीमा कम्तीमा २० लिटर डिजेल राख्नुपर्ने हुन्छ, यसमा ३३ सय छ, एक तर्फीको मात्रै हो, डबलमा ६६ सय डिजेलको पर्छ, जब कि एउटा विद्युतीय गाडीमा चार्ज गर्दा पाँच सय लाग्छ, यसले दुईतर्फी नै गुड्न पुग्छ, साढे चार सय किमी गुड्छ, त्यो अवस्थामा काठमाडौं उपत्यका, काठमाडौंदेखि बर्दिबाससम्म एक सुका घटाएको छैन,’उनले भने।

डिजेलको मूल्य घटे पनि घटेन भाडादर

यता,डिजेलको मूल्य घटेको दुई हप्ता बितिसक्दा पनि सार्वजनिक बसहरूले भाडा घटाएका छैनन्। नेपाल आयल निगम सञ्चालक समिति बैठकले गत चैत २० मा डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा प्रतिलिटर १०/१० र पेट्रोलमा ३  रुपैयाँ घटाउने निर्णय गरेको थियो।

त्यसपछि मूल्य घटेको भोलिपल्टै आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीले फ्युल सरचार्ज’ ५.९ प्रतिशतले घटाउने निर्णय गर्‍या। तर,सार्वजनिक बसमा भाडा घटेको छैन। अहिले सार्वजनिक बसहरूले चढ्यो  कि न्यूनतम् २० देखि ४० रूपैयाँसम्म भाडा लिने गरेका छन्।  

उपभोक्ताहरूमाथि शोषण भइरहेको छ

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले डिजेलको भाउ घटेको दुई साता बित्दा पनि भाडा नघटाएर सार्वजनिक यातायात व्यावसायीहरूले यात्रुहरूलाई शोषण गरिरहेको बताउँछन्।

‘सार्वजनिक यातायात व्यवसायीहरूले यो पेट्रोलियम पदार्थको मूल्यसँग आफ्नो भाडा समायोजन गर्न यतिसम्म भनेका छन् कि  ६ महिना अगाडि अब हामी अटो क्राइसिङमा जान्छौँ भनेर यातायात व्यवस्था विभागमा उनीहरूले लिखित रूपमा दिएका छन्,’उनले भने।

जसमा इन्धनको मूल्य बढेको अवस्थामा त्यही अनुपातमा भाडा बढ्ने र मूल्य घटेको अवस्थामा भाडा घट्ने भनेको छ।

‘यो निर्णय पालना गर्छौ भनेका थिए,तर,नेपाल आयल निगमले डिजेल १० रूपैयाँ घटाएको दुई हप्ता भइसक्दा पनि अहिलेसम्म यातायात व्यवसायहीहरूले मूल्य घटाउने आवाजसम्म उठाएका छैनन्, यो अत्यन्त गैरजिम्मेवार कुरा हो र दादागिरीपना हो, उपभोक्ता तथा यात्रुहरूमाथि शोषण भइरहेको छ,’उनले भने। 

सरकार मौन

उनले विद्युतीय बसको भाडाबारे पनि सरकार मौन रहेको बताए।  ‘यसमा सरकारको सम्बन्धित निकाय यातायात व्यवस्था विभाग, अन्य अनुगमन निकाय, प्रशासन चुप लागेर बसेको देख्दा यो देशमा उपभोक्ता हितका लागि काम गर्ने कोही पनि छैन जस्तो महसुस भयो,’उनले आक्रोश पोखे,‘त्यसैले सार्वजनिक यातायातमा बस्नेहरू नेपालको लागि जुके किरा हो, शोषण गर्नेबाहेक अरू केही गर्न जानेका छैनन्।’

उनले सार्वजनिक यातायात व्यावसायीहरूलाई सामाजिक उत्तरदायित्व के हो भन्ने केही पत्तो नै नभएको पनि सुनाए।

अर्कोपटक मूल्य घटेमा भाडा घट्छ : विभाग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडादरमा स्वाचालित प्रणालीबाट कायम हुने भएकाले भाडा नघटेको बताए।

‘अहिले स्वचालित प्रणालीबाट पेट्रोलियम पदार्थको मूल्य घटबड हुँदा मात्रै भाडा घटछ,स्वचालित प्रणाली छ,’उनले भने,‘डिजेलको मूल्य घटे पनि वैज्ञानिक भाडा सिष्टममा पुगेन, त्यसैले भाडा घटेन।’

उनले अब वार्षिक रूपमा भाडा समायोजन गर्न यातायात व्यवस्था विभागले होमवर्क गरिरहेको जानकारी दिए।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरू अर्कोपटक डिजेलको मूल्य घटेपछि मात्र सार्वजनिक यातायातको भाडा पनि घट्ने बताउँछन्। उनका अनुसार विभागले भाडाका लागि एउटा मापदण्ड बनाएको छ।

‘१३ वटा सूचकसहित मापदण्ड बनाइएको छ,जसमा स्वचालित वैज्ञानिक भाडा प्रणाली छ, यसमा इन्धनको हकमा ३५ प्रतिशत छुट्याएको छ, ५ प्रतिशत तलमाथि हुनुपर्छ,’उनले भने,‘५ प्रतिशत भन्दा बढी डिजेलको मूल्य घट्यो भने मूल्य घट्ने हो र ५ प्रतिशत वृद्धि भएमा भाडा बढ्ने हो।’ उनका अनुसार गत असारमा अन्तिमपटक भाडा समायोजन भयो। त्यसबेला इन्धनको मूल्य १७२ रूपैयाँ थियो।

‘अहिले १० रूपैयाँ घटेको देखिन्छ, अहिले घटेर १ सय ६५ भयो, दुई तीनपटक बीचमा घट्यो तर, बढाउँदा पनि बढाइएन, घटाइएन पनि, अहिले आधार मान्ने मूल्य १ सय ७२ भयो, १७५ लाई आधार मान्दा ५ प्रतिशत पुग्छ, नभए ४.०६ प्रतिशत पुग्न आयो, सूचक छोएन, त्यसैले भाडा समायोजन गर्न सकिएन,’उनले भने।

उनले अब इन्धनको मूल्य घट्नेबित्तिकै ५ प्रतिशत पुग्ने र त्यसपछि भाडा समायोजन हुने बताए। ‘सर्वसाधारणहरूले बुझ्नुपर्ने कुरा पनि यही हो, हामीले चाहेर घटाउन मिल्दैन,त्यो मापदण्डमा जाँदा घटाउन मिल्दैन,’उनले भने।

बिजुली बसको भाडाबारे एक-अर्कालाई दोष दिँदै 

विद्युतीय बसको भाडा कायमबारे एक-अर्कालाई दोष दिने गरेका छन्। साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले सरकारले नै भाडा दर तोक्ने गरेको र यहीअनुसार कायम भएको बताए।

‘भाडा दर भनेको सरकारले तय गर्ने हो, हामीले होइन, सरकारले जुन भाडा तोक्छ, हामीले त्यहीअनुसार लिने हो, प्राइभेटले पनि त्यही भाडा लिने हो,’उनले भने।

भाडा दर नघट्नुमा उनले विद्युतीय बसको लगानीलाई पनि देखाए। ‘यसको मूल्य नै डेढ करोडभन्दा बढी पर्न जान्छ, लगानी नै बढी हुन्छ,त्यसैले पनि हो,’उनले भने।

उनका अनुसार अहिले साझाका ३ वटा मात्रै विद्युतीय बस सञ्चालनमा छन्। यता, यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरूले विभागबाट भाडादर बारे हेर्ने नगरेको जवाफ दिए। ‘यो प्रदेश मातहतबाट चल्ने हो, भाडादरबारे त्यतै सोध्नू,’उनले भने।

प्रदेश कार्यालय भन्छ : भाडाबारे छलफल भइरहेको छ

यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश, हेटौँडाका सूचना अधिकारी राजु अर्यालले बिजुली बसको भाडाबारे जिज्ञासा आउनु स्वाभाविक रहेको बताए। भाडा विषयमा छलफल भइरहेको उनको भनाइ छ।

‘भाडाको विषयमा हामी छलफल गरिरहेका छौँ,यसको काम चाही श्रम रोजगार तथा यातायात मन्त्रालयले गर्ने हो, हामीमार्फत पनि पहल भइरहेको छ,’उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.