गत वर्षभन्दा ६ करोड बजेट घट्यो

|

काठमाडौं : रेबिज एक प्राणघातक रोग हो। मुख्य गरी कुकुर, स्यालजस्ता जनवारले टोकेपछि यो रोग लाग्न सक्छ।

मुख्य कुरा के हो भने रेबिज भाइरस भएको कुकुर वा अन्य जनवारले टोकेर मानिसमा रेबिजको लक्षण देखिन थाल्यो भने कुनै पनि चिकित्सा विज्ञानले काम नगर्ने हुँदा मानिसको मृत्यु हुन्छ तर यस्ता जनावरले टोक्ने वित्तिकै समयमा नै एन्टी रेबिज भ्याक्सिन (एआरभी) लगाउन सकियो भने पूर्णरूपमा रेबिजबाट बच्न सकिन्छ।

कुकुरसहितका जनवारले टोक्ना साथ ४८ देखि ७२ घण्टाभित्र भ्याक्सिन लगाउनुपर्ने हुन्छ तर देशभर हाल यो खोप पर्याप्त मात्रामा नरहेको पाइएको छ। मधेश प्रदेशमा त एक महिनादेखि एआरभी भ्याक्सिन अभाव रहेको पाइएको छ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार एक महिनादेखि एआरभी भ्याक्सिन नहुँदा बिरामीलाई लगाउन पाइएकाे छैन। मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाअन्तर्गतको आपूर्ति शाखा प्रमुख डा नागेन्द्र यादवले एक महिनादेखि एआरभी भ्याक्सिन अभाव रहेको बताए।

उनका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा पटकपटक ताकेता गर्दा बल्न अर्को हप्तासम्म ५ हजार भाइल खोप उपलब्ध हुने सुनिश्चित भएपछि आज उक्त भ्याक्सिन लिन सवारीसाधन काठमाडौं आएको बताए।

‘पछिल्लो समय १५ सय भाइल खोप हामीलाई उपलब्ध भएको थियो, त्यो सकिएपछि एक महिनादेखि हामीले भ्याक्सिन वितरण गर्न पाएका छौँ,जसले गर्दा कुकूर तथा अन्य जवनावरले टोकेर आएका बिरामीले एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य ठप्प छ’, डा यादवले भने।

मधेश प्रदेश प्रयोगशालाले मधेश प्रदेशको ८ जिल्लामा यो भ्याक्सिन वितरण गर्दै आएकोमा हाल ८ वटै जिल्लामा भ्याक्सिन पठाउन नसकेको डा यादवले बताए। अब आउन लागेको ५ हजार भाइल भ्याक्सिनले एक महिनालाई मात्रै पुग्ने डा यादवको भनाइ छ।

प्रदेश प्रयोगशालाले बताए अनुसार नेपालगञ्ज, कोशी, गण्डकी र लुम्बिनी सबैतिर भ्याक्सिन अभाव  जस्तै रहेको छ। कर्णाली प्रदेशमा भने केही समय अघि एआरभी भ्याक्सिनको अभाव रहे पनि हाल नरहेको कर्णाली प्रदेशका स्वास्थ्य  निर्देशक डा. रविन खड्काले बताए।

उनका अनुसार केही समय अघिसम्म रूकुम तथा सुर्खेत जिल्लामा एआरभी खोप अभाव रहेको भए पनि हाल छैन। डा खड्कालले भने, ‘केही समय अघि हामीलाई पनि एआरभी खोप अभाव थियो, हामीले केन्द्रसँग पटकपटक ताकेता गरेपछि भ्याक्सिन पाउन सफल भयौँ अहिले अभाव छैन।‘

एक लाख भ्याक्सिन मौज्दात

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक शाखाका अनुसार नेपालमा हरेक वर्ष ३ लाख जनाले रेबिजविरूद्धको भ्याक्सिन लगाउने गर्छन्। समयमा नै एआरभी भ्याक्सन खरिद नगर्दा वैशाखदेखि नै यो खोप सटेज जस्तै बन्न पुगेको थियो।

जसले गर्दा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सिफारिसमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाले हतारहतार एक लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

जसमा  ३० हजार भाइल एआरभी दुत मार्गबाट खरिद गरेर ल्याएको थियो। त्यसपछि अहिले १ लाख ८० हजार मौज्दात रहेको छ। यसमध्ये ३० हजार भने अगाडि नै खर्च भइसकेको छ।

पहिले १४ मात्रासम्म लगाउनु पर्ने उक्त खोप त्यसपछि पाँच मात्राको बनाइएको र अहिले भने तीन मात्रा मात्र लगाउँदा हुन्छ। भर्खरै ल्याइएको १ लाख डोज एआरभी भ्याक्सिन प्रदेशहरूमा पठाइने आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए।

‘वैशाखदेखि नै भ्याक्सिन प्रदेशहरूमा सकियो भन्ने खबर आइरहेको थियो, त्यसैले हामीले द्रुतरूपमा भ्याक्सिन खरिद गरेका हौँ, हाल हामीसँग एक लाखभन्दा बढी खोप आइपुगेको छ, अब केही समयलाई अलि सहज होल’, डा चौरसियाले भने। माग र आवश्यकताका आधारमा सबै प्रदेशमा हाल रहेको भ्याक्सिन वितरण गरिनेसमेत आपूर्ति शाखाले जनाएको छ। 

एउटै व्यक्तिलाई तीन पटकसम्म एआरभी भ्याक्सिन लगाउनुपर्ने हुँदा हाल भएको खोप पनि केही समयका लागि मात्रै पुग्छ। तर आगामी दिनमा समयमा नै भ्याक्सिन खरिद गरिने हुँदा अभाव नहुने आपूर्ति शाखाले जनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) स्रोतका अनुसार भने महाशाखाअन्तर्गतको जुनोटिक शाखाले समयमा नै ध्यान नदिँदा एआरभी भ्याक्सिन अभाव जस्तै बन्न पुगेको बताएको छ।

इडीसीडी स्रोतले भन्यो, ‘आरभी भ्याक्सिन प्राणघातक रोगविरूद्ध लगाउनुपर्छ जसले गर्दा अभाव हुनुहुँदैन तर यो वर्षकाे सुरूदेखि नै ताकेता गर्दा प्रदेशहरूले खोप सकिएको भनिरहेका छन, अब त खोप आएको छ केही समयलाई सहज होला, अबका दिनमा यस्तो हुनु हुँदैन’।

गत वर्षभन्दा ६ करोड बजेट घट्यो 

देशभर हरेक वर्ष करिब ३ लाख हाराहारीमा कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान महाशाखाको छ। नेपालमा रेबिजका कारण वार्षिक १०० जनासम्मको मृत्यु हुने गरेको छ।

यसरी कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने प्राणघातक रोग रेबिजविरूद्ध लगाउने एआरभी भ्याक्सिन खरिद गर्न सरकारले हरेक वर्ष बजेट छुट्याउने गर्छ। तर अघिल्लो आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा एआरभी भ्याक्सिन खरिद गर्नका लागि झन्डै ६ करोड रूपैयाँ बजेट घटेर आएको छ।

आपूर्ति शाखा प्रमूख डा चौरसियाका अनुसार गत वर्षमा ११ करोड बजेट छुट्याइएकोमा यो वर्ष एआरभी भ्याक्सिनका लागि भनेर ६ करोड बजेट छुट्याएर आएको छ। ‘गत वर्षभन्दा चालु आवमा एआरभी भ्याक्सिनका लागि बजेट घटेर आएको छ’ उनले भने।

यो भ्याक्सिन एउटा भारतीय कम्पनीले मात्र उत्पादन गर्दै आएको छ। जसले गर्दा खरिदका लागि समयमा नै ताकेता गर्नुपर्ने समेत डा चौरसियाले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ। एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। कतिपय देशले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन्।

यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने  हुदाँ टोकेको जनावर नमर्दै ४८ घन्टा भित्र अनिवार्यरूपमा ३ मात्रा एआरभी भ्याक्सिन लगाउनुपर्ने हुन्छ। यदि खोप लगाइएन र रेबिज संक्रमण देखियो भने मानिसको मृत्यु हुन्छ‚ जसकारण रेबिजलाई प्राणघातक रोग भन्ने गरिन्छ। रेबिजविरूद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल मंसिरदेखि रेबिजविरूद्ध दिइने एन्टीबडी सेवा सातै प्रदेशमा विस्तार गरिसकेको छ। कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरूद्धको इम्युनोग्लोबुलिन पाइने गर्छ।

त्यसैगरी बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिजविरूद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने गरेको छ।

काठमाडौँ उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्थामार्फत रेबिजविरूद्धको इम्युनोग्लोबुलिन नि:शुल्क लिन सकिन्छ। काठमाडौँमा भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको छ। जसले गर्दा टेकु अस्पतालमा एआरभी भ्याक्सिन लगाउन हाल  दैनिक १०० जनाभन्दा बढी पुग्ने गरेको अस्पतालले जनाएको छ।

के हो रेबिज?

रेबिज पशुबाट मानिसमा सर्ने रोग हो। प्राय: रेबिज कुकुरको टोकाइबाट मानिसमा सर्छ। यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई पानीबाट डराउने रोग वा हाइड्रोफोबिया पनि भनिन्छ। रेबिज रोग लागेको कुकुरको चटाइबाट मात्रै पनि प्राणघातक मानिने रेबिज रोग लाग्न सक्छ।

रोगी जनावरको र्‍यालद्वारा घाउमार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्छ भनेर सन् १८०४ मा जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए। रेबिजका लक्षणहरू ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झम्झमाउने, घोच्ने, पोल्ने हुन्छ र पछि भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसा सुन्निने हुन्छ।

मान्छेको क्रियाकलाप र व्यवहार अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्या भएर मृत्यु हुने सम्भावना रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.