|

सुर्खेत : कात्तिक १७ गते मध्य रात गएको भूकम्पले नलगाड नगरपालिका –८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ। घरको आधा भाग भत्किएपनि जोखिम मोलेर पशुचौपाया देखि केही घरियासी सामानहरू घरभित्र राख्ने गरिएको छ। परिवारका सदस्यहरू खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन्।

विभिन्न निकायबाट प्राप्त १ थान त्रिपाल र घरमै रहेको कपडाको सहारामा यो परिवारले खुला आकाशमा चिसो तथा अभावसँग संघर्ष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठ देखि अन्य सामान निकाल्न १ लाख भन्दा बढी खर्च हुने अनुमान छ।

भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि प्रयाप्त ठाउँ पनि छैन उहाँले भन्नुभयो। नयाँ अस्थायी आवास निर्माण गर्न भन्दा भूकम्पबाट छिया,छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित भएको छ। अस्थायी आवास निर्माण गर्नका लागि खत्रीको खातामा अहिले सम्म रकम समेत आएको छैन। राज्यले पठाउने भनेको रकम देखि अन्य प्रहरी ,सेना कोही पनि त्यहाँ केही पनि पुगेको छैन।

त्रिपालमा दैनिक सुत्ने देखि खाना पकाउने गर्दा स्वास्थ्यमा गम्भिर असरहरू सर्वसाधारणहरूमा देखा पर्न थालेका छन्। परिवारका ठूला व्यक्ति घर नहुँदा त्रिपालमा आगलागीको समस्याा उत्तिकै रहेको खत्रीको भनाइ छ। अस्थायी टहरा निर्माण देखि घर पन्छाउने कार्य एकै पटक गर्नुपर्दा ठूलो समस्या निम्तिएको भूकम्प पीडितहरू बताउँछन्। भारत लगाएतका अन्य मूलुकमा गएर कमाइ गरेर परिवारका भारी समस्याहरू टार्ने यहाँका सर्वसाधारणहरू अहिले अस्थायी आवास देखि भत्किएका संरचना हटाउन समय खर्चिनु पर्दा आर्थिक उपार्जनको समय चौपट भएको छ। कमाएर परिवारको समस्या हल गर्ने समयमा अर्को तीर समय खर्चिनु पर्दा यहाँका भूकम्प पीडितहरू खाद्यान्न देखि अन्य घरको समस्या कसरी हल गर्ने भन्दै चिन्तामा रहेका छन्।

आफ्नै खेतबारीमा उत्पादन हुने अन्नले ४ महिना खाना नपुग्ने सर्वसाधारणलाई आर्थिक रुपमा बलियो हुने समय नपाउँदा अब कसरी परिवारका समस्या हुल गर्ने भन्दै चिन्तामा परेको बारेकोट गाउँपालिका –१ सिल्र्पाचौरका कालीबहादुर बुढाले बताए। उनले भने ,‘ यत्ता घर भत्किएका छन् , उता त्रिपालमा बस्नु परेको छ। छोराछोरीले विद्यालयमा पढ््न जाँदा समेत त्रिपालमै बसेर पढ्नु परेको छ। बाबा , हाम्रो घर कहिले बनाउने भन्दै छोरा,छोरीले हजार पटक प्रश्न गर्छन् ? अब के उत्तर दिनु?’

बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरी भन्छन् , ‘बारेकोटमा प्रयाप्त मात्रामा राहत सामग्री नआउँदा हैरान खोजेका छौँ। दाताहरू पनि जहाँ सजिलो छ , त्यहाँ पनि पुगेको हामीलाई अनूभुती भएको छ। विद्यालय सञ्चालन गर्नका लागि त्रिपाल आएको छ तर त्यसलाई जोडने कुनै पनि सामग्री आएको छैन। विद्यार्थीहरू भित्र बस्नका लागि कुनै सामग्री समेत उपलब्ध गराएको छैन। खुला आकाशमै विद्यालय सञ्चालन गर्नुपरेको छ। वर्षायाम सम्म ठूलो विपती आउने सम्भावना मैले देखेको छु।’

 उत्ता नलगाड नगरपालिकामा अहिले सम्म अस्थायी आवास निर्माण गर्नका लागि बजेट पुगेको छैन। जिल्ला प्रशासन कार्यालयले रकम नभएको भन्दै बजेट निकासा नगरेको हो। त्यस्तै जुनिचाँदे गाउँपालिकामा पनि रकम निकासा पठाएको छैन।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकामा २ हजार ५४९ परिवार , नलगाड नगरपालिकामा ८ हजार ९७ , छेडागाड नगरपालिकामा ३ हजार ६६४ , बारेकोटमा ५ हजार ५८६ परिवार , कुशेमा ५ हजार २८६ , जुनिचाँदेमा २ हजार ५३६ , शिवालयमा ३ हजार ३०९ गरि जम्मा ३१ हजार ५५ घर परिवारले अस्थायी आवास निर्माण गर्नका लागि छनोट भएका छन्।

अहिले सम्म अस्थायी आवास निर्माणका लागि भेरी नगरपालिकामा ६ करोड ३७ लाख २५ हजार , ९ करोड १६ लाख , बारेकोटमा १३ करोड ९६ लाख ५० हजार , कुशेमा १३ करोड २१ लाख ७५ हजार , शिवालयमा ८ करोड २७ लाख २५ हजार पठाएको छ। नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा रकम अभावका कारण अहिले सम्म पठाउन सकिएको छैन।

अहिले सम्म १ हजार ६२ वटा मात्र अस्थायी आवास निर्माण भएको सूचना अधिकारी शर्माले जानकारी दिए। दुइ पालिकामा रकम अभावका कारण अहिले तत्काल ५० करोड मागेर पठाएको शर्माले जानकारी दिए। भेरीमा ६४ वटा , नलगाडमा ८०० , बारेकोटमा १५० , कुशेमा ३० , जुनिचाँदेमा १८ वटा आवास निर्माण भएको पाइएको छ। भेरीमा १३१ जनालाई मात्र रकम पठाएको छ भने बारेकोटमा ९३ जनालाई पठाएको छ। हाल सम्म २२४ जना भूकम्प पीडितलाई अस्थायी आवास निर्माण गर्नका लागि रकम पठाएको छ।

सुरुमा विभिन्न सहयोगी निकायहरू सहयोगका लागि आए पनि अहिले पछिल्लो समय दात्ताहरू पनि बिस्तारै कम हुँदै गएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। संघ ,संस्थाहरूले मनपरी तरिकाले काम गरिरहेको समेत उनले आरोप लगाए। आफूले तोकिएकै ठाउँमा मात्र जान जोड बल गर्ने अन्यत्र जान मन नगर्दा समस्या भएको उनको भनाइ छ। दैनिक भूकम्प पीडितहरू बिरामी पर्ने देखि मृत्युसम्म हुने संख्या बढेको छ। औषधि देखि स्वास्थ्यकर्मीको समेत अभाव हुँदै गएको पालिकाले बताएका छन्। भारी मात्रामा बिरामीको संख्या बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.