|

काठमाडौँ : नेकपा एमाले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक २२ प्रस्ताव पारित गर्दै आज (बिहीवार) सकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षताको बैठकले पार्टीमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक २२ प्रस्ताव पारित गरेको छ।

बैठकको निर्णयमा गठबन्धन सरकारको राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु सङ्कटग्रस्त बन्दै गएको, मुलुकको अर्थतन्त्र मन्दीमा फँस्दै गएको, मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको उल्लेख छ।

ललितपुरको बालकुमारी घटनाका दोषीहरुलाई कारबाही गर्न, मृतकहरुका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि बैठकले माग गरेको छ। 

मिटरब्याज पीडितहरुप्रति न्याय माग गर्दै बैठकले मिटरब्याज पीडितहरुका मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्ने निर्णय पनि गरेको छ।

विभिन्न स्थानमा भइरहेको सहकारी सदस्यहरु र लघुवित्त पीडितहरुको आन्दोलनप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। 

बैठकले दुग्ध उत्पादक किसानहरुका समस्याहरु अविलम्ब समाधान गर्न र जलवायु परिवर्तनका असरहरुबाट नागरिकहरुको रक्षा गर्ने विषयमा गम्भीर कदम चाल्न माग गरेको छ।

बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको जानकारी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले दिए।

बैठकमा पार्टी अनुशासन, आर्थिक पारदर्शिता, नैतिक आचरणका विषयहरू कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.