काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्नका लागि स्वदेशी वस्तु उपभोग निर्देशिका चाँडै जारी गर्ने बताएका छन्।
बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोग जस्ता अभियानलाई राज्यले सरकारात्मक रुपमा लिएको बताए।
उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्थाको समेत तयारी अन्तिम चरणमा रहेको बताए। उनले नेपाली उत्पादन उपभोग अभिवृद्धिलगायत कार्यक्रममार्फत निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले उद्योग मन्त्रालय मातहतमा रहेका लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन महासंघको सुझाव अनुसार कार्यक्रम योजना तय हुँदै आएको आगामी दिनमा थप सहकार्य गर्ने बताए।
उनले लघु, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुलाई केन्द्रमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापनाका लागि भौतिक संरचना र सहुलियत राज्यले गर्ने उल्लेख गरे।
उनले महिलाले सञ्चालन गरेका उद्योगले धेरै रोजगारी सिर्जना गरेको भन्दै त्यस्ता उद्योगलाई प्रवद्र्धन गर्न अनुदान सहयता तालिम तथा प्रविधि हस्तारण गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।