गोरखा : जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार राति तीन जना थुनुवा भागेका छन्। राति १२ : ४५ बजे हिरासतभित्रको शौचालयको रड भाँचेर उनीहरु फरार भएका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए।
‘१२ बजेर ४५ मिनेट जाँदा उनीहरु त्यहाँबाट भागेको हुनुपर्छ’ उनले भने ‘पछि नयाँ ड्यूटीवाला प्रहरी गएर हेर्दा हिरासतमा उनीहरु नभएको देखेर खबर गरे।’
तीनै जना केही सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानका लागि पक्राउ परेका थिए। फरार हुनेमा गोरखा नगरपालिकाका ६ का दिपेश मजाकोटी, भीमसेन गाउँपालिका ३ का अभिषेक अधिकारी र भीमसेन गाउँपालिकाकै सन्दीप सुर्खेती रहेका छन्।
तीनमध्ये अधिकारी र सुर्खेती लागूऔषध सम्बन्धी कारोबारी रहेका थिए। मजाकोटी गत भदौ १८ गतेदेखि थुनामा थिए भने अधिकारी र सुर्खेती बिहीबारमात्रै पक्राउ परेका थिए। उनीहरु शौचालयको झ्यालको रड बंग्याएर कार्यालय पछाडिको कम्पाउण्डको बाटो भागेको हुन सक्ने शाहले जानकारी दिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।