|

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई नोक्सान पार्ने कामलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

सरकारलाई कामचलाउ, आवधिक र म्यादी सरकार संज्ञा दिदै अध्यक्ष ओलीले चुनावको वातावरण गराएर सत्ता सुम्पिनुपर्ने सरकारले हतार हतारमा मुलुकलाई अहित गर्ने कामलाई प्राथमिकता दिन थालेको आरोप लगाए।

अपरिचित व्यक्तिको गोली प्रहारबाट हत्या भएका युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको सम्मानमा संयुक्त संघर्ष समिति र युवा संघ रुपन्देही क्षेत्र नम्बर १ ले रुपन्देहीको देवदहमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले भने– ‘यो सरकारले चुनावी वातावरण बनाएर छाड्नुपर्ने हो, तर त्यसो गरिरहेको छैन, प्रभुको चित्त बुझाउने काममा बढी ध्यान दिएको छ।’

पहाड र तराईलाई अलग गर्ने प्रस्तावको सन्दर्भ कोट्याउँदै उनले राष्ट्रहित विपरीतको प्रस्ताव संसदमा लगेर छलफल गर्न नपाइने बताए। 'हामीहरुले सुनिरहेका छौं ५ नम्बर त सुरुवात मात्रै हो, अरु पनि बाँकी छन्, त्यहाँ पनि पहाड र तराई अलग गर्नुपर्छ भन्न थालिएको छ', अध्यक्ष ओलीले भने, 'त्यसलाई हामीले अघि बढ्न दिदैनौं।’

उनले पछिल्लो समयमा मुलुकमा अपराधका घटनाहरु बढेको भन्दै सरकारले अपराधलाई संरक्षण गर्न खोजेको आरोप लगाए।

‘देशको राजनीतिलाई, त्यसप्रकारका प्रयासहरु भइरहेका छन्', उनले भने, ‘शान्तिको प्रतीक मानिएको लुम्बिनीमा आफ्नै दाजुभाई, आफ्नै छिमेकीलाई मार्ने, आततायी व्यक्तिहरु यहीँ जन्मिएका छन्।’

उनले तत्काल सुरक्षा चुस्त पार्न माग गर्दै भने, ‘प्रदेश विभाजनको राष्ट्रघाती प्रस्तावको विरुद्धमा लडिरहेको एउटा योद्धा दुर्गा तिवारीको हत्या भएको छ, अपराधीलाई पक्राउ गर्न र कारबाही गर्न यो सरकारले कमजोरी नगरोस्, हामी चेतावनी दिन चाहन्छौं।’

कार्यक्रममा एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटि सदस्य छविलाल विश्वकर्मा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले बोल्दै अपराधीलाई कानुनी दायरामा ल्याउन कुनै कसुर बाँकी नराख्न सरकारलाई आग्रह गरे।

ओली सम्बोधनको अडियोः

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.