'९ बुँदे सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या'

|

काठमाडौं-  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अहिलेको समीकरण टुटनुमा एमालेभित्र अत्यन्त घमण्डी र दम्भ बोकेका व्यक्त्तिहरु नै जिम्मेवार भएको बताएका छन्।

थाहाखबरसँगको कुराकानीमा उपाध्यक्ष गौतमले माओवादी केन्द्रले समर्थन फिर्ता लिनुमा उसँग भएको ९ बुँदेलगायतका सहमति कार्यान्वयन नहुनु नै मुख्य कारण रहेको दावी गरे। 

उपाध्यक्ष गौतमसँगको कुराकानीको सारसंक्षेप : 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई एमालेले कसरी लिएको छ?

हाम्रो पार्टीले आज साँझ बैठक बोलाएको छ। त्यो बैठकले केही निर्णय गर्छ। मेरो विचारमा यो निर्णय सुखद होइन।

सुखद नभए माओवादीले किन यस्तो निर्णय गर्यो त?

हाम्रो पार्टी नेकपा एमालेमा अत्यन्त घमण्डी र दम्भ बोकेका व्यक्त्तिको बढी प्रभाव पर्‍यो। विगतमा भएका सहमति लागू गर्न दिइएन।

तपाईंको चाहना के थियो त?

माओवादीसँग यसअघि पनि खटपट हुँदा मिलाउने जिम्मेवारी दिइएको थियो। त्यसबेला ९ बुँदे सहमति भएको थियो। त्यतिखेरको सहमति कार्यान्वयनमा ध्यान दिइएन। मलाई जिम्मेवारी पनि दिइएन।

त्यतिबेला माओवादीसँग के कस्तो सहमति भएको थियो?

राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्ने र सरकारको नेतृत्व परिवर्तनका लागिसमेत सहमति भएको हो।

कसको नेतृत्वमा?

मेरो चाहना अहिलेको समीकरण टुट्नु हुँदैन भन्ने थियो। प्रधानमन्त्री परिवर्तन भएपनि यही समीकरण कायम राख्नपर्छ भन्ने थियो। सहमति पनि त्यही हो। तर त्यो लागू गर्न ध्यान पुगेन।

अब के हुन्छ?

अब एमाले सामु दुईवटा विकल्प छन्। एउटा विश्वासको मत लिने र अर्को राजिनामा दिने ।

कुन बाटो लिन्छ एमालेले?

त्यो त पार्टीले निर्णय गर्ला तर माओवादी फिर्ता भइसकेपछि विश्वासको मतमा जानुको अब के अर्थ रह्यो र?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.