धनकुटा : योजना सम्पन्न गरी पेश गरिएका बिल भरपाईको भुक्तानी प्रदेश सरकारले रोकेको भन्दै निर्माण व्यवसायीले धनकुटाका दुई सरकारी कार्यालयमा तालाबन्दी गरेका छन्।
मंगलबार धनकुटास्थित प्रदेश लेखा इकाई कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यालय धनकुटामा तालाबन्दी गरेका हुन्। आर्थिक वर्ष २०७६÷७७ मा निर्माण सम्पन्न भएका विभिन्न योजनाको करिब ३२ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै दुई सरकारी कार्यालयमा तालाबन्दी गरेका हुन्।
निर्माण व्यवसायी संघ धनकुटाको नेतृत्वमा गएको व्यवसायीको टोलीले दुवै कार्यालयका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका हुन्। विभिन्न समयमा काम सम्पन्न गरेका योजनामा उपभोक्ता समितिको भुक्तानी दिने तर निर्माण व्यवसायीको भुक्तानी रोकेको कारण तालाबन्दी गर्नुपरेको निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीले बताए।
यता प्रदेश लेखा इकाई कार्यालय धनकुटाका प्रमुख निशान राईका अनुसार प्रदेश मन्त्रालयले पाँच दिन अघिदेखि निर्माण व्यवसायीलाई भुक्तानी नदिनु भन्ने मौखिक निर्देशन दिएपछि भुक्तानी रोकिएको बताएका छन्। उनका अनुसार हाल करिब २५ करोड रुपैयाँ बराबरको रकम निर्माण व्यवसायीको रोकिएको छ। तर, उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काम, अनुदानका कार्यक्रम र कार्यालय सञ्चालनका भुक्तानी भने गरिएको भए पनि निर्माण व्यवसायीको रकम भने रोकिएको स्वीकार गरेका छन्।
निर्माण व्यवासयी संघ धनकुटाले भने बुधबारदेखि भुक्तानी नपाएसम्म चरणवद्ध आन्दोलन गर्ने तयारी गरेको जनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।