|
धादिङबेसी सदरमुकामबाट रुवीभ्याली गाउँपालिक तर्फ जाँदै गरेका सर्वसाधारण किम्ताङ खोलामा कष्टकर यात्रा गर्दै।

धादिङ : अविरल वर्षापछि चलेको बाढी-पहिरोले धादिङको राजमार्ग क्षेत्रमा मात्रै होइन, ग्रामिण र दुरदराजका बस्तीमा समेत क्षति पुर्‍याएको छ। ग्रामीण भेगका  खोला उर्लिएपछि धादिङको उत्तरी भेगका बासिन्दालाई हिँडडुलमा समस्या भएको छ। 

खोलामा पानीको सतह बढ्दै जाँदा आवतजावत नै गर्न नसकिने अवस्था छ। जिल्लाको उत्तरी भेगमा पर्ने साविकको तिप्लिङ, सेर्तुङ, लापा, रिगाउँ र झार्लाङका गाउँबस्ती पुग्न अझै पनि पैदलयात्रा गर्नु पर्ने बाध्यता रहेको छ। भरपर्दो सडक नपुगेका यी स्थानसम्म पुग्ने बाटोमा पर्ने खोलानाला बढेपछि स्थानीयहरू समस्यामा परेका छन्‌।

सदरमुकाम धादिङबेँसीबाट दार्खा र झार्लाङको सिमानामा रहेको डुण्डेरेसम्म हिउँदमा मोटर पुगेपनि बर्खा लागेपछि खोलामा बाढी आउने भएकाले सवारीसाधन आवागमन ठप्प हुने गर्छ। लकडाउन सुरू भएपछि गाउँ जान रोकिएका यात्रुवाहक सवारीसाधन अब बर्खा सकिएपछि मात्रै चल्नेछन्। 

सदरमुकाम धादिङबेँसी आउन र सदरमुकामलगायत बाहिरी ठाउँबाट गाउँ पुग्न किम्ताङदेखि तिप्लिङसम्म दर्जनौं स्थानमा खोला तर्नुपर्ने भएपछि पैदलयात्रामा समेत कठिनाई भएको रुवीभ्याली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रशान्त तामाङले बताए। 

खोलामा पानी बढेपछि आवत जावतमा समस्या भएको र सडक सञ्जालले छुन नसकेका विकटका बासिन्दाहरू समस्यामा परेको उनले जानकारी दिए। अति जरुरी काम परेर गाउँ बाहिर निस्कन र काम भ्याएर घर फर्किँदा कति बेला के हुने हो भन्ने त्रास रहेको उनी बताउँछन्‌।

निकै बढेको ​खोला तर्न नसक्दा स्थानीय महिला, बालबालिका, बिरामी र अशक्तहरू गन्तव्यमा पुग्न नसकी समस्यामा पर्ने गरेको गाउँलेहरु बताउँछन्। सडक सञ्जालमा नजोडिएका विकटका गाउँबस्तीमा बर्खा लागेपछि सदरमुकाम धादिङबेँसीसँग सम्पर्क-विच्छेद जस्तै हुने गरेको रुवीभ्याली गाउँपालिका लापाका पुरन तामाङ बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.