बाढीलाई अवसरका रूपमा लिन्छन् कतिपयले

|

इटहरी : मनसुन लागेसँगै सप्तकोसी कति बढ्यो भनेर धेरैलाई चासो हुने गर्छ। नेपालकै ठूलो नदी सप्तकोसीमा बर्खा लाग्न थालेपछि पानीको बहाव बढ्नु सामान्य हो। 

सप्तकोसीको पानी मापन गर्ने प्रविधिले कति क्युसेक पानी भारततर्फ बगेर गयो भन्ने थाहा हुन्छ। जसलाई सञ्चारमाध्यमले निरन्तर प्रसारण गर्छन्। पानी बढेर मात्र कुनै असर नहुने कोसीमा क्युसेकको हल्ला निकै चल्ने गरेको छ।

कोसीमा बाढी बढ्यो भन्दा पनि बाढी बढेको समाचार थाहा पाएका आफन्तलाई फोनमा दिनुपर्ने स्पष्टीकरणले भने तनाव थप्ने गर्दछ। कोसीसँग परिचित स्थानीयलाई बाढीभन्दा यसले गर्ने कटानचाहिँ तनावको विषय हुने गरेको तटका स्थानीय विश्वास बराल बताउँछन्। 

‘कोसीमा पानी बढेको समाचार सुनेपछि आत्तिएर फोन गर्ने आफन्तलाई बुझाउँदा बुझाउँदा तनाव अलि हुन्छ, हामीलाई भने त्यति चिन्ता हुँदैन,’ बरालले भने, ‘बरु पानीको बहाव कम भएर किनारातिर कटानले बाढी फुटाउने डर हुँदा भने जोगिनुपर्छ।

​पानी बढेको तथ्यांकलाई मात्र आधार मानेर ‘सप्तकोसीको पानी यो वर्षकै उच्च’ भन्ने शीर्षकका मात्र आउने समाचारले भने स्थानीयमा तनाव थप्ने गर्छ। ‘सप्तकोसी हो, ७ वटा नदी मिसिएर आउँछन्। पानी त बढ्ने घट्ने भइहाल्छ नि। सूचना लिनु त ठिकै हो। तर सूचनालाई यथार्थ तरिकाबाट दिनु प¥यो नि’, स्थानीय आशीष राईले भने, ‘कति पानी कोसीले थाम्न सक्छ? कटान लाग्दा बढी डर हुन्छ कि बहाव बढ्दा समस्या हुन्छ? त्यो पनि जानकारी दिनुपर्छ।’

ब्यारेजका ढोका खोलिएका समाचारदेखि वाक्क भएका स्थानीय कोसीमा पानी बढ्ने विषयलाई सामान्य लिनुपर्ने  बताउँछन्। बहाब बढ्यो भन्दै कोसीको ढोका खोलेको विषय समाचारमा आएको दिन आफन्त फोन आउन थालिहाल्ने गरेको उनीहरूको अनुभव छ।

स्थानीयले भनेझैँ कोसीको बहाव बढेको बेलाभन्दा पनि कम बहाब भएको बेला क्षति गर्ने गरेको छ। २०६५ सालमा कोसीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा कोसीको बहाब एक लाख ६५ हजार क्युसेक मात्र थियो। जबकि यो वर्षकै उच्च भनिएको बेला कोसीमा मंगलबार ३ लाख ४२ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको कोसी ब्यारेजले जनाएको छ।

‘पानी कम भएको बेला भने कोसीमा कटानको समस्या हुन्छ, अहिले नेपाल तर्फको कोसीमा त्यस्तो समस्या कहीँ आएको छैन’, कोसी परियोजनाका राजाबास क्षेत्र हेर्ने भारतीय इन्जिनियर सुबोल दास भन्छन्, ‘बहाव नियमित छ, नियमित ठाउँबाटै बगेको छ, त्यसैले अहिले समस्या छैन।’

यो वर्ष कोसीका कारण खासै समस्या देखिएको छैन। तर, कोसीले चीनको ह्वांगहो नदीपछि धेरै बालुवा बोक्ने नदी भएकाले यसले कोसीको सतह बढाउन थालेको स्थानीयहरू बताउँछन्। 

धार परिवर्तन गरिरहने कोसीले ब्यारेजउत्तर बालुवा थुपार्दा नेपालतर्फको कोसीले पानी बोक्ने क्षमता घटाइरहेको छ। ‘पहिले कोसी निकै गहिरो थियो। कोसीको पूर्वी तटबन्ध बाहिर पर्ने बस्तीहरू कोसीभन्दा उचाइमा थियो। तर अहिले उल्टो भएको छ,’ बराहक्षेत्र ९ प्रकाशपुरका प्रकाश लिम्बु भन्छन्, ‘कोसीले बगाएर ल्याएको बालुवाका अहिले ठूला ठूला टापुहरू बनिसकेका छन्, बालुवाले गर्दा अहिले कोसी बस्तीभन्दा माथिबाट बग्ने गरेको छ।’

बाढी आउँदा बरु खुसी हुन्छन् स्थानीय

बाढी आएको बेला नदी तटीय क्षेत्रका स्थानीय त्रासमा हुन्छन् भन्ने आम अनुमान हुन्छ। तर सप्तकोसीको सवालमा भने नदी तटीय क्षेत्रका स्थानीयमा भने यस्तो देखिँदैन। बाढीले सताएको बेला सप्तकोसी नदी आसपास बस्नेले भने बाढीलाई अवसरको रूपमा लिने गरेका छन्।

बाढीमा आउने दाउरा निकालेर गुजारा चलाउनेका लागि कोसीको बाढी प्रतीक्षा रहन्छ। ‘कटान नलागी बाढी गाउँमा कोसीको पानी पस्दैन भने किन डराउनु र कोसीसँग ? स्थानीय भगलु चंद्रवंशी भन्छन्, ‘बरु कति बेला बाढी आएर दौरा बगाएर ल्याउँछ भनेर चाहिँ कोसी हेर्न आउँछु।’

चन्द्रवंशीले भनेझैँ सप्तकोसी नदी तट चतरा, ठाकुरवारि, राजावास, प्रकाशपुर क्षेत्रका स्थानीय कोसीको दाउरा संकलन गरेर पैसा कमाउने गर्छन्। बाढी आएको बेला पानीको बहाब नियन्त्रण गर्न बनाइएका बाँधमा बसेर दाउरा निकाल्नु स्थानीयहरूको दैनिकी नै बनेको छ अहिले।

उनीहरूले बाढीसँगै बगेर आउने काठ, दाउरा निकाल्छन्। कसैले वर्षभरि पुग्ने दाउरा बाढी आएको बेला एक दुई दिनमै संकलन गर्छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.