|

ओखलढुंगा : १० वर्षका बालकले बलात्कार गरे भनेर सुन्दा अचम्म लाग्छ तर ओखलढुंगामा यस्तै घटना भएको छ। नाबालक पनि बलात्कारमा संलग्न ! जोकोहीलाई पत्याउन गाह्रो हुन्छ। त्यसमा चार वर्षीया बालिकालाई बलात्कार गरेको कुरा।

पटक पटक बालिका बलात्कारको विषयलाई लिएर एक हप्तादेखि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा एक जना नाबालक प्रहरी निगरानीमा रहेका छन्। उनलाई बलात्कारको आरोपमा गाउँले र पीडित बालिकाको आफन्तले केही दिनअघि प्रहरीको जिम्मा लगाएका थिए।

करिब ९–११ वर्षका बालक प्रहरीसँगै बस्छन्, प्रहरीसँगै खान्छन्। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानका लागि राखिएको आफूसँगै राखिएको प्रहरीको भनाइ छ। उनलाई नाबालक भएकै कारण हिरासतमा नराखी अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्का बताउँछन्।

बालकविरुद्ध छिमेकीकै छोरी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। गत हप्ता प्रहरीमा परेको उजुरी अनुसार असारको ३१ गते उनले बलात्कार गरेका हुन्। उजुरीकै आधारमा ती नाबालकलाई प्रहरीमा ल्याएपछि प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। बालक र उनको उमेर हेर्दा पत्याउनै नसकिने घटनाले आफैंलाई आँशु आएको प्रहरी प्रमुख खड्काले बताए। 

यस्तो उमेरको बच्चाले कसरी बलात्कार गर्ला भन्ने प्रश्न आई रहेको भए पनि बलात्कृत भनिएकी बालिकाको बयान र उनीहरुका आफन्तको उजुरीले गर्दा उनलाई प्रहरीकोमा ल्याउनुपरेको खड्काले बताए। 

प्रहरीसँगको बयानमा बालकले आफूले अन्य मान्छेहरु यौन क्रियाकलापमा संलग्न भएको देखेको र त्यसैको आधारमा यस्तो क्रियाकलाप गरेको बताएका छन्। यसबाट अभिभावक वा अरु जोकोहीले बालबालिकाले देख्ने गरी यौन क्रियाकलापमा संलग्न हुँदा बाल मानसिकतामा कस्तो असर पर्ने रहेछ भन्ने विषय सोच्न बाध्य बनाएको डिएसपी खड्काले बताए।

बालकलाई सरकारी वकिलकहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाएर घर पठाउने तयारी छ। जिल्ला सरकारी वकिल लेखनाथ ढकालले यो घटना अहिले अनुसन्धानकै क्रममा रहेको कारण उनको जन्मदर्ता मगाउने काम गरेको छु। त्यसपछि बयान लिएर के गर्ने भन्ने अहिले भन्न सकिने अवस्था नरहेको बताए।

शारीरिक र मानसिक दुवै अवस्थालाई आधार मान्ने हो यस घटनाका अभियुक्तलाई प्रहरीसम्म ल्याउनै नपर्ने केही अधिकारकर्मीले बताए। कानुनी रुपमा ती बालकलाई सरकारी वकिलले बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने अधिवक्ता गुरुबहादुर बस्नेतले बताए। १२ वर्षभन्दा माथिकालाई सुधार गृहमा पठाउनुपर्ने र १० वर्ष मुनिकालाई अपराध नमानिने भएकोले यस बीचका नाबालकलाई बयान लिएर अभिभावकको जिम्मा लगाउन सकिने उनले बताए।

पछिल्लो समय सहमतिमा हुने शारिरिक सम्बन्धमा दरार आएपछि बलात्कारको आरोपमा मुद्दा दर्ता गर्ने चलन बढेको समेत कानुन व्यवसायी बताउँछन्। पहिले सहमतिपछि नमिलेर बलात्कारका उजुरी आउने क्रम बढेको उनीहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.