|
ठेकेदारको चरम लापरबाहीका कारण अलपत्र चाँगे स्वास्थ्य चौकी भवन ।

ताप्लेजुङ : ठेकेदारको चरम लापरबाहीका कारण ताप्लेजुङका दुई स्वास्थ्यचौकी भवन ६ वर्षदेखि अलपत्र परेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ हाङपाङ र ४ को चाँगेमा स्वास्थ्यचौकी भवन अलपत्र परेको हो।

निर्माण सुरु गरेको २ वर्षमा भवन तयार पार्नुपर्ने सम्झौता भएपनि ६ वर्ष बितिसक्दा समेत अझै तयार भएको छैन। दुवै योजनाको सम्झौता २०७१ कात्तिक २५ गते भएको थियो। यी दुई भवन बनाउने ठेक्का हिमालयन विल्डर्स प्रालि जोरपाटी काठमाडाैं र कबिर कन्स्ट्रक्सन प्रालि काठमाडौं (जेभी) ले हात पारेका थिए।

हाङपाङ स्वास्थ्य चौकी भवन निर्माणका लागि १ करोड ९१ लाख र चाँगे स्वास्थ्य चौकीको २ करोड २ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। ठेकेदार कम्पनीका किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए। कार्की तेह्रथुम सदरमुकामस्थित सिंहबाहिनी उच्च माविमा कार्यरत शिक्षकसमेत हुन्।

कार्कीले तेह्रथुम इसिबु निवासी डिल्ली फम्बोलाई निर्माणकार्यको रेखदेख तथा कामदार परिचालनको जिम्मेवारी दिएका थिए। तर, अहिले कार्की र फम्बो दुवैजना निर्माणस्थलमा छैनन्। हालसम्म दुवै योजनाको म्याद ४ पटकथप भैसकेको छ। पछिल्लो पटक चाँगेको २०७७ जेठ १० गते र हाम्पाङको बैसाख ३० गते म्याद थप गरिएको हो।

दुवै भवनका लागि बालुवा, सिमेन्ट, ढुंगा र काठपात लगायतका निमार्ण सामग्री ढुवानी वापत आफूले २४ लाख रुपैयाँ भुक्तानी नपाएको स्थानीय अर्जुन आङ्बुहाङले बताए। आङ्बुहाङले भने, ‘कहिलेकाहीं सम्पर्क हुँदा दिन्छौं भनेका छन्, यतिका वर्ष भवन त नबनाउनेले अब कहिले देला र ?’ आङ्बुहाङ सहित अन्य स्थानीयको पनि रकम बुझाउन बाँकी रहेको चाँगेका गोपाल प्रसाईंले बताए।

‘हामीले माननीयज्यू हरुलाई पनि पटक पटक पहल गरिदिन आग्रह गर्‍यौं, तर पहल भएन,’ प्रसाईले भने, ‘अहिले त अधकल्चो पारेर छाडेको भवन पनि जीर्ण भैसक्यो।’ बर्थीङ सेन्टरसहितको सेवा प्रदान गरिरहेको चाँगे स्वास्थ्य चौकीले अहिले साँघुरो भवनबाट सेवा प्रदान गरिरहेको छ।

ठेकेदार कम्पनीले २०७३ अन्त्यतिर काम छाडेका हुन्। ठेकेदार कम्पनीले हाम्पाङ स्वास्थ्य चौकी भवनको ८० प्रतिशत र चाँगेको ६५ प्रतिशत भौतिक प्रगति हासिल गरेको सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ।

आयोजना प्रमुख राजेन्द्र खतिवडाले कम्पनीलाई ३ पटकसम्म काम सम्पन्न नगरे कालोसूचीमा राख्ने सुचना प्रकाशित गरेको बताए। ‘हामीले पटक पटक ठेकेदारलाई ताकेता गरेका छौँ, बैंक जमानत रकम १७ लाख रुपैयाँ बैंकबाट खिची राजश्व दाखिला पनि गरेका छौँ,’ आयोजना प्रमुख खतिवडाले भने, ‘अहिले लकडाउनका कारण ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाउन व्यावहारिक नभएकाले आगामी असोज मसान्तसम्ममा काम सम्पन्न नगरे ठेक्का तोडी कालोसूचीमा राख्न पठाउँछौँ।’ कार्य सम्पन्न गर्न  सम्बन्धित निमार्ण व्यवसायी र कार्यालयबीच ४ पटक सम्म छलफल भएको पनि उनले बताए।

ठेकेदार किशोर शेर्पाले भदौ १५ गतेदेखि काम थाल्ने बताएका छन्‌। ‘केही आन्तरिक समस्याका कारण निमार्ण कार्य रोकिएको छ,’ शेर्पाले टेलिफोनमा भने, ‘स्थानीयलाई केहि रकम तिर्न बाँकी नै छ, त्यो पनि मिलाउछौँ र भदौ १५ देखि काम थाल्छौँ।’

सम्झौताअनुसार अब चाँगेको ४२ प्रतिशत र हाङपाङको ४६ प्रतिशत रकम भुक्तानी बाँकी छ। भवन नहुँदा चाँगेमा साविकको गाविस भवन र हाङपाङमा पुरानै भवनबाट सेवा प्रवाहमा समस्या भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.