|

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर नभएको भन्दै आन्दोलन गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन्। 

कांग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैं लगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन्। 

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए। सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको पनि सभापति देउवाले आरोप लगाए।  

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनले बताए। 

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए।

सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत उनले माग गरे। कोभिड-१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग उनले माग गरे। 

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति विज्ञ र कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिसँग समन्वय गरी अनुगमन गरेको थियो। समितिले कोभिड-१९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.