|

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने नकारात्मक सन्देश फैलाएको आरोप लगाएका छन्।

ताप्लेजुङको हिमाली गाउँ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए।

उनले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरे। 'हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो', प्रधानमन्त्री ओलीले भने।

 अर्को एक प्रसंगमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए। छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो। उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए। घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो। सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिने भएकी छन्। उनले ज्येष्ठ नागरिकलाई न्यानो कपडासमेत वितरण गरेकी थिइन्। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो।

प्रधानमन्त्रीसमक्ष घुन्सावासीका माग   

घुन्साबासीले प्रधानमन्त्री ओलीसमक्ष विभिन्न माग राखेका छन्। बुँदागत रुपमा नै तयार परिएको मागपत्र प्रधानमन्त्रीलाई स्थानियले बुझाए। मागपत्रमा घुन्सालाई नमुना गाउँका रुपमा विकास गर्न स्थानियले माग गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन्।

यस्तै, यस क्षेत्रको पहिलो बस्ती खम्बाचेनको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन्। घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो।

सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.