|

धनगढी : कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। 

कार्यालयका अनुसार लक्ष्य भन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको छ। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ।

कैलाली भन्सार कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिकमा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ। यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताए।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ। यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्यभन्दा पनि बढी राजस्व उठ्ने कार्यालयको दाबी छ। यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड २ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। 

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.