|

सिमरा : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल संघीय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ लाई भेट्न उनकै निजी निवासमा पुगेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त निकटस्थ मानिने तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई भेट्न पूर्वप्रधानमन्त्री नेपाल सिमरास्थित श्रेष्ठकै होटल क्लासिक प्लाजा पुगेका थिए। केन्द्रमा नेकपाका शीर्षस्थ नेताबीच देखिएको आन्तरिक विवादलाई लिएर भेटघाट केन्द्रित रहेका संघीय सांसद श्रेष्ठले जनाएका छन्।
भेटमा नेता नेपालले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका थिए। भेटघाटमा नेकपा स्थानीय नेताहरुले पार्टीभित्र देखिएको आन्तरिक विवादले कार्यकर्तामा पार्टी नेतृत्वप्रति नैराश्यता देखिएको गुनासो गरेका थिए। 

‘पार्टीभित्र समस्या छ भने समाधान पनि निस्कन्छ, यदि कोही मूर्खतापूर्वक चल्छ भने परिणाम दुखद् हुन्छ’, भेटमा वरिष्ठ नेता नेपालले भने, ‘म सर्वेसर्वा हुँ भन्ने प्रवृत्ति त्याग्ने हो भने समाधानको उपाय अवश्य निस्कन्छ।’ नेकपा पार्टी नेतृत्वबीच देखिएको आन्तरिकका कारण कार्यकर्ताले ‘अब हामीले के गर्ने, कहाँ जाने? भन्दै नेपालसँग दुखेसो पोखेका थिए।

विवाद समाधान नेतृत्वले नै खोज्नुपर्छ : श्रेष्ठ

किसानले पार्टीभित्र देखिएको समस्या कार्यकर्ताहरुको कारण नभएर शीर्षस्थ नेताहरुले ल्याएकाले समाधान पनि उनीहरुबाटै खोज्नुपर्ने बताए। ‘अध्यक्षद्वयसहित शीर्ष नेताहरुले पार्टीको आन्तरिक विवाद एउटै टेबलमा बसेर समाधान गनुपर्छ भनेर जोडदार रुपमा कार्यकर्ताहरुले उठाएका छन्, अहिले पार्टी फुट्न÷फुटाउन दिन हुँदैन, नेताहरु पनि त्यो बाटोमा जानुपर्छ’, नेता नेपालसँगको कुराकानी उद्धत गर्दै श्रेष्ठले भने, ‘भेटमा उहाँले के छ परिस्थिति भनेर सोध्नुभयो मैले देशभरमा तल्लो स्तरका कार्यकर्ता चिन्तित छन्, त्यसकारण खबरदार पार्टी फुटाउन हुँदैन, जे जे विवाद छ, सचिवालय सदस्यहरु एक ठाउँमा बसेर मिलाउनुस् भनें।’

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट श्रेष्ठसँग पार्टीभित्र देखिएको आन्तरिक विवादलाई लिएर यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भेटघाट गरेका थिए। 

नेकपा वरिष्ठ नेता नेपाल कोभिड १९ पछि पहिलोपटक बुधबार नेपाल निजामती कर्मचारी संगठन पर्साको नवनिर्मित भवन उद्घाटन गर्न वीरगन्ज आएका थिए। बिहीबार बाराका नेकपाका नेता, कार्यकर्तासँगको भेटघाटपछि काठमाडौं फर्किएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.