|

काठमाडौं :  नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण बिग्रिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार हुने संकेत देखिएको छ।

भारतीय विदेश सचिवको दुई दिने भ्रमणका कारण यो संवादहीनताको अवस्था हटेको हो।  यो भ्रमणले दुई मुलुकबीच कूटनीतिक संवादको बाटो खुला गरेको छ। भारत र नेपालबीच १५ महिनापछि परराष्ट्र सचिव स्तरीय वार्ता भएको छ। नेपाली भूमि मिचेर भारत आफैले बिगारेको सम्बन्ध सुधारका लागि यसले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेपछि दुई देशबीच भएको यो पहिलो कुटनीतिक वार्ता हो। वार्तामा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले गरे। दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवबीच एक्ला एक्लै वार्ता भएको थियो।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सीमांकन प्रमाणिकताको सरोकार उठाएका छन्।  

सीमा समस्यालगायत  विषयलाई  समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रलायले जनाएको छ। यस्तै भारतीय पक्षले पनि विज्ञप्ती जारी गदै सीमा समस्या वार्ताको माध्यमबाट हल गर्न भारत तयार रहेको जनाएको छ। 

गत वर्ष भदौ ४ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता सीमा विवादलगायतका कारण ‘संवादहीनता’ रहँदै आएको थियो। बैठकमा विदेश सचिव श्रृंगलासँगको बैठकमा परराष्ट्र मन्त्रालयले प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको अन्योल, द्विदेशीय रेल्वे लिंक प्रोजेक्ट, एक्जिम बैंकमार्फत दिइने भारतीय सहुलियत ऋणको उपयोग, अरुण तेस्रो जलविद्युत् आयोजनाको समीक्षा, एकीकृत जाँचचौकी सञ्चालनमा तदारुकता, पञ्चेश्वर परियोजनाको ढिलासुस्ती जस्ता विषयमा छलफल भएको थियो। 

सचिवस्तरीय बैठकबारे परराष्ट्र मन्त्रालयले बिहीबार राति जारी गर्दै विज्ञप्तिमा दुई पक्षबीच व्यापार, पारबहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनसम्पर्कलगायतका एजेन्डामा बृहत् छलफल भएको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.