'विदेशी हस्तक्षेपबारे थाहा छैन'
'विदेशी हस्तक्षेपबारे थाहा छैन'
काठमाडौं- एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख दलहरुबीच नयाँ ढंगको सहमति आवश्यक भएको धारणा राखेका छन्।
थाहाखबरसँग शुक्रबार विशेष कुराकानी गर्दै नेता नेपालले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकमा अस्थिरता र अन्योल बढाएकोले यो स्थिति चिर्न प्रमुख दलहरुबीच नयाँ ढंगको सहमति हुन आवश्यक रहेको बताए। 'यस्तो अवस्थाले देशलाई कहाँ पुर्याउँछ, यसबारे सबैले सोच्नुपर्छ', उनले भने, 'राष्ट्रिय सहमतिको वातावरण फेरि बनाऔं।'
पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा यो अवस्था आउनुमा आफ्नै दल एमाले नै जिम्मेवार भएको टिप्पणी गरे। 'माओवादीसँग सहमति गर्ने अनि ती सहमति कार्यान्वयनमा ध्यान नदिने। अनि समीकरण टिक्छ?' नेता नेपालको विश्लेषण थियो, 'प्रधानमन्त्रीप्रति माओवादीका गुनासाहरु थिए। प्रचण्डजीलाई सत्ताको नेतृत्व लिनु थियो। त्यो यथार्थ एमालेले बुझ्नुपर्थ्यो।'
उनले एमाले र सत्तासीन सबै दलहरुभित्र प्रधानमन्त्री परिवर्तन गरेर भए पनि अहिलेको समीकरणलाई निरन्तरता दिनुपर्ने मान्यता धेरैको रहेको जानकारी दिए। प्रधानमन्त्रीले अहिलेको संविधानबाट सरकार परिवर्तन हुन नसक्ने बताएको सन्दर्भमा सोधिएको प्रश्नमा नेता नेपालले जवाफ दिएनन् र भने, 'प्रधानमन्त्रीलाई कानुनविद्हरुले सुझाव दिएका होलान्। मैले त त्यसबारे बुझेको छैन।'
भारतीय डिजाइन र हस्तक्षेप भएको भन्नेबारे आफूलाई थाहा नभएको नेता नेपालले बताए। उनले भने, 'नेपालको राजनीतिमा यस्तो भए हुन्थ्यो भन्ने चाहना विदेशीको हुन सक्छ। त्यसैलाई हस्तक्षेप नै भन्न मिल्दैन। अनमिन फिर्ता पठाएकोले एक समय मसँग युरोपियनहरु टाढा थिए। यस्तो त भइरहन्छ। तर, उनीहरुले जे चाहना राखे पनि हामी आफैंले निर्णय गर्ने हो। आफैं बलियो हुनुपर्छ।'
नेता नेपालले प्रधानमन्त्रीबाट भारतीय हस्तक्षेपबारे कुन आधारमा कुरा आएको हो आफूले बुझिनसकेको टिप्पणी गरे।
नेपालको संविधान विश्वको उत्कृष्ट र समावेशी संविधान रहेको भनी वकालत गर्दै आएका नेता नेपालले संविधानमा धेरै त्रुटी रहेको बताए। उनले भने, 'अब समानुपातिक निर्वाचनले कहिले पनि स्थीर सरकार दिँदैन। प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता महसुस भएको छ।'
(एमाले वरिष्ठ नेता नेपालसँगको थाहा सम्वाद शनिबार प्रकाशित हुनेछ।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।