|

पर्वत : जमाना सेल्फीको छ। अलिकति मात्रै रमाइलो दृश्य देखियो कि मान्छेहरू सेल्फी खिच्न हतार हुन्छन्। सबैभन्दा बढी हतार त नयाँ ठाउँमा घुम्न गएकाहरूलाई हुने गर्दछ। 

यही अवस्थालाई बुझेर पर्यटकीय तथा हिमालपारिको जिल्ला मुस्ताङमा २० लाख रुपैयाँ लगानीमा सेल्फी पार्क नै निर्माण गरिएको छ। बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा उपल्लो र तल्लो मुस्ताङका विभिन्न प्राकृतिक दृश्यहरू देख्न सकिने गरी सेल्फी पार्क निर्माण गरिएको स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङले जानकारी दिए।

‘यहाँ आउने पर्यटकहरूले व्यवस्थित रूपले फोटो खिच्न सकून् भनेर यो पार्कको निर्माण गरिएको हो। यसले मुस्ताङ आउने पर्यटकहरूलाई थप आनन्दित बनाउने छ,’ उनले भने, ‘यो पार्कबाट उपल्लो र तल्लो दुवै मुस्ताङका निकै मनमोहक दृश्यकहरु देख्न पाइन्छ।’

गुरुङका अनुसार पार्कबाट उपल्लो मुस्ताङसहित त्यहाँका विभिन्न हिमाल, तल्लो मुस्ताङमा रहेको पवित्र धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ मन्दिर तथा कागबेनी क्षेत्र, कालीगण्डकी नदी, निलगिरि र धौलागिरि हिमाल, टुकुचे पिक, थोरङला पासलगायत देख्न सकिन्छ। पार्कमा सिमेन्ट र बालुवाबाट आकर्षक शैलीको शालीग्राम पनि निर्माण गरिएको छ।

संघीय सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि दुई वर्षअघि पार्कको निर्माण सुरु गरिएको थियो। सरकारले दिएको बजेटबाहेक स्थानीय क्लब र गाउँलेहरू मिलेर उठाएको पाँच लाख रुपैयाँबाट पार्कसँगै जोडेर रेस्टुरेन्ट समेत बनाइएको छ। 


तस्बिर सौजन्य : छेप्तेन गुरुङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.