|

काठमाडौं: सरकारले विदेशमा रोजगारीमा गएका वा काम विशेषले गएका नेपालीले भन्सार तिरेर वा नतिरी ल्याउन पाउने वस्तुका लागि शनिबारदेखि नयाँ व्यवस्था गरेको छ। 

विदेशबाट आउँदा काँचो सुनचाँदी ल्याउन शनिबारदेखि पूर्ण रूपमा प्रतिबन्ध लगाईएको छ। ५० ग्रामसम्मका सुनका गहना, पाँचसय ग्रामसम्म चाँदीका गहना र १ लाख रुपैंया मूल्यसम्मका जवाहरात जडित गहना भन्सार नतिरी ल्याउन पाईनेछ। 

सुनको गहना ५० ग्राम भन्दा बढी र चाँदीको गहना ५ सय ग्राम भन्दा बढी विदेश लैजानु परे भन्सार प्रक्रिया पुरा गरी लगत राखेर मात्रै लैजान पाउनेछन्। यस्तै, ५ हजार अमेरिकी डलर वा त्यस बराबरको अन्य विदेशी मुद्रा भन्दा बढी नगद साथमा राखेर नेपाल बाहिर लैजान पाईने छैन। 

विदेशबाट आउँदा ट्याबलेट, ल्यापटप, कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाईल र पेनड्राईभ एक/एक थान र एक लिटरसम्मको मदिराको बोतल कर वा शुल्क नबुझाई ल्याउन पाईने भन्सार विभागले जनाएको छ। 

वैदेशिक रोजगारीमा गई लगातार १ वर्ष काम गरी आउँदा ३२ ईन्चसम्मका टेलिभिजन पनि भन्सार नतिरी ल्याउन पाइने छ भने अरुले प्रति ईन्च महसुल बुझाई ल्याउन पाउनेछन्। फ्रिज, पंखा, रेडियो, लुगाफाटो तथा अरु घरायसी प्रयोगका सामानमा एकमुण्ठ ४० प्रतिशत महसुल बुझाउनुपर्नेछ। 

शनिबारदेखि परिवर्तित नियम विपरीत ल्याईएका सामान जफत गरिने भएकाले तोकिएको नियम पालना गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.