|

डोल्पा : दुनैमा बन्न लागेको पुष्पलाल स्मृति प्रतिष्ठान भवन नबन्दै लाखौँ रुपैयाँ ऋण लागेको छ। तीन वर्ष अघि जगमात्र उठाइएको भवन पहिलो चरणमै ३४ लाख रुपैयाँ ऋणमा डुबेको हो।

जग्गा धनीको २७ लाख र कामदारको ७ लाख गरेर ३४ लाख रुपैयाँ रकम उधारो तिर्न बाँकी छ। भवन निर्माणकार्य शुरू गरिएपनि जग्गाको भुक्तानी अझै नपाएको जग्गाधनीले बताएका छन्‌।

'भवन बनाउनका लागि ३३ लाख रुपैयाँमा ५ सय ३९ वर्गमिटर जग्गा दिएँ,गत साल भदौ मसान्तसम्म पैसा तिर्ने सम्झौता थियो,तीन वर्ष बित्यो, तर पैसा पाइएन,' जग्गाधनी जितेन्द्र शाहीले गुनासो गरे, 'मेरो जग्गामा भवन ठडिइसक्यो,सबै गरेर ६ लाखमात्र पाएको छु, बाँकी पैसा दिने सुरसार छैन, विभिन्न निकायबाट लाखौँ रुपैयाँ भित्रिएको सुन्छु,तपाईंलाई दिने पैसा होइन भन्दै निर्माण समितिले टारिरहेको छ।'

अब आफूलाई रकम नचाहिने र जग्गा खाली गरिदिए हुने उनले बताए। सदरमुकाममा रहेको करोडौं रकम पर्ने जग्गा पुष्पलाल स्मृति भवन बनाउने वहानामा हडपिएको भन्दै आफू प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, एमालेको केन्द्रीय कार्यालयमा समेत पुगेको, तर कसैले सुनुवाइ नगरेको उनको भनाइ छ।

आफूले बालबच्चाको पढाइलेखाइ र घर व्यवहार टार्न सजिलो हुने आशमा जग्गा दिएको, तर रकम नै नदिइ झुलाएकाले अब अदालत जाने शाहीले बताए। सो जग्गा उनकी श्रीमती नन्दा शाहीको नाममा छ।

काम गर्ने श्रमिकले पनि सात लाख पाएनन्

उक्त भवनको जग निर्माणमा खटिएका मजदुरहरूले पनि लाखौँ रकम पाएका छैनन्।

ठेक्कामा भवन निर्माणको जिम्मा लिएर पहिलो चरणमा जग हालेका रुकुम (पश्चिम) आठबीसकोट नगरपालिकाका कामदारहरूले करिब सात लाख रुपैयाँ तीन वर्षसम्म नपाएका हुन्।

'अर्काको बिरानो ठाउँमा आएर मजदुरी गर्न लागेको करिब तीन वर्ष भयो, कमाउने आशमा पचासौं जना मान्छे लाएर जग हाल्यौँ ,तर काम गरेको ६ लाख ८० हजार रुपैयाँ अझै पाएका छैनौं,' रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका-५ का टीकाराम थापाले भने, 'निर्माण समितिले मजदुरी गरेको पैसा पनि ठगेको छ, अर्काको ठाउँमा हाम्रो खानेबस्ने ठेगान छैन, समितिबाट ज्याला उठाइदिन आग्रह गर्छौं।' आफूहरूले श्रम गरेको ज्याला जसरी पनि दिनुपर्ने, नत्र ठगीको मुद्दा हाल्ने उनले चेतावनी दिएका छन्‌।

समितिले ​सिमेन्ट, छड लगायतका निर्माण सामग्री खरिदमा खर्च भएको दाबी गरेपनि व्यापारी हेमन्त विष्टले अझै भुक्तानी नपाएको बताएका छन्‌। 

रकम नभएकाले तिर्न सकिएन

पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष दत्तबहादुर रोकायाले रकम नभएर भवनको उधारो रकम तिर्न नसकिएको बताए।

निर्माण शीर्षकमा मात्र बजेट आउने र उक्त रकम निर्माणमै लगाउनुपर्ने भएकाले जग्गाको रकम अझै तिर्न नसकिएको रोकायाले स्वीकारे।

'पहिलो चरणमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ४० लाख रुपैयाँ आएको थियो, त्यो रकम सामान जुटाउँदै जग हाल्नै खर्च भयो,' रोकायाले भने।

रकम जुटाउन प्रयास गरिरहेको र जिल्लाका स्थानीय तहलाई पनि सहयोगका लागि आह्वान गरेको, तर सहयोग नपाएकाले रकम नै जुटाउन नसके जग्गा फिर्ता गर्ने उनले बताएका छन्‌। जिल्लाका आठवटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले जितेको छ।

'पहिलो चरणको रकमबाट आठ लाख रकम जग्गा धनीलाई दिइसकिएको छ, दोस्रो चरणमा प्रदेशबाटै आएको २० लाख रुपैयाँ रकम विवादका कारण फ्रिज भयो, त्यसपछि कतैबाट पनि पैसा आएको छै,' रोकायाले भने।

जग्गाको पैसाका तिर्न खरिद शीर्षकमा बजेट पार्ने र जग्गाको बाँकी रकम तिर्ने भन्दै अर्थ मन्त्रालयलगायत विभिन्न निकायमा दुई/तीन वर्ष धाउँदा पनि रकम पार्न नसकिएको उनको भनाइ छ।

कामदारको बाँकी रकम चुक्ता गर्ने विषयमा डोल्पाबाट निर्वाचित सांसद तथा पूर्वराज्यमन्त्री धनबहादुर बुढासँग कुरा भइसकेकाले केही समयमै पैसा पाउने उनले विश्वास दिलाए। जिल्लामा पार्टीको आन्तरिक विवादका कारण पनि भवन निर्माणले गति लिन नसकेको उनको भनाइ छ।

कम्युनिष्ट पार्टीका संस्थापक नेताको स्मृतिमा बन्न लागेको भवन यसरी ऋणमा डुबेर अलपत्र पर्दासमेत कसैको ध्यान नजानु दुःखद कुरा भएको एमालेका नेताहरू बताउँछन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.