|

भक्तपुर : कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लागु गरिए पनि भक्तपुरका किसानहरु गहुँ भित्र्याउन व्यस्त भएका हुन। धानपछिको मुख्य बाली गहुँ समयमा नभित्र्याए असिना, पानीले नास गर्ने चिन्ता किसानहरुमा छ।

‘निषेधाज्ञा भए पनि अहिले पानी, असिना पनि आउन सक्ने र पाकेको गहुँबाली नष्ट हुने चिन्ता छ,’ छालिङका कृषक अनिल फोँजूले भने, ‘त्यसैले निषेधाज्ञाका बीच पनि गहुँ काट्न व्यस्त छौं।’

यस वर्ष भक्तपुरमा ईंटाभट्टा सञ्चालन नहुँदा गहुँ खेती बृद्धि भएको छ। कोरोना भाइरस महामारीका कारण गत वर्ष सिजनको बीचमै ईंटाभट्टा बन्द गरेका उद्योगी व्यवसायीहरुले यस वर्ष पनि संक्रमणको जोखिमलाई ध्यानदिँदैं भट्टा सञ्चालन नगर्ने निर्णय गरेको थिए।

गहुँ खेती बृद्धि भएसँगै प्रविधि पनि भित्रिएको छ। गहुँ काटेर चुट्नलाई धेरै समस्या हुने र ज्यामी पनि नपाउने समस्याका कारण किसानहरुले थ्रेसर लगाएका छन्। तर, थ्रेसरले गहुँ चुट्दा छ्वाली काम नलाग्ने कृषक फोँजुले बताए। ‘थ्रेसरमा गहुँको बोटैसँग राख्दा छ्वाली धूलो हुने र सो धूलो गाईबस्तुलाई सोत्तर राख्न मात्र काम लाग्छ। अन्य कामको लागि काम नलाग्ने हुँदो रहेछ,’ उनले भने, ‘यद्यपि छिटो छरितो हुने हुँदा किसानहरु थ्रेसरप्रति आकर्षित भएका छन्।’

चाँगुनारायण नगरपालिका क्षेत्रमा गहुँ खेती व्यापक बृद्धि भएको छ। यस नगरपालिकाको दुवाकोटमा गहुँखेतीमा केही कमी आएपनि छालिङ, बागेश्वरी, विशेषगरी सुडाल र ताथलीमा गहुँ खेती बृद्धि भएको छ। 

भक्तपुरको मध्यपुर थिमि र भक्तपुर नगरपालिका क्षेत्रमा बढ्दो आवादीका कारण खेती योग्य जमिन घट्दै गएको छ। सोही कारण यी दुई नगरमा गहुँबाली नगन्य मात्रामा गरिएको पाइन्छ। सूर्यविनायक नगरपालिकाको दधिकोट, सिरुटार, गुन्डु, सिपाडोल, चित्तपोल र नँखेलक्षेत्रमा गहुँ खेती गरिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.