कतै गर्भवतीको निधन,कतै विवाहको १५ दिनमै मृत्यु
कतै गर्भवतीको निधन,कतै विवाहको १५ दिनमै मृत्यु
बर्दिया : कोरोना महामारी सुरु भएयता कसैको मनमा शान्ति छैन। शारीरिक, मानसिक रूपमा सबै उथलपुथल बनाइदिएको छ। मानिसको दैनिकी फेरिएको छ। घरभित्रै बस्नुपर्दा धेरै मानिस मानसिक समस्यामा पनि परेका छन्।
कोरोना माहामारीमा कसैले परिवारका सदस्य गुमाइरहेका छन्, त कसैले छिमेकी तथा आफन्त गुमाइरहेका छन्। छोराछोरी गुमाउँदा बाबुआमा समस्यामा छन् भने बाबुआमा गुमाउँदा छोराछोरीको विचल्ली भएका धेरै घटनाहरु छन्।
गर्भवतीको मृत्यु
यस्तै, कहाली लाग्दा थुप्रै घटना बर्दियामा पनि घटिरहेका छन्। कोरोनाका कारण जेष्ठ १ गते बर्दियाकी एक गर्भवती महिलाको ज्यान गयो। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ घर भएकी ३४ वर्षकी महिलाले कोरोनाका कारण ज्यान गुमाउनुपर्यो। उनमा वैशाख २२ गते पसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको थियो। २ दिन अस्थायी कोभिड अस्पतालमा उपचार गराएपछि अवस्था गम्भीर बन्दा उनलाई वैशाख २४ गते भेरी अस्पताल नेपालगञ्ज भर्ना गरियो।
उनको जेष्ठ १ गते बिहान झण्डै ३ बजेतिर उपचारकै क्रममा ज्यान गएको बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए। उनलाई जति प्रयास गर्दा पनि बचाउन सकिएन। उनका श्रीमान शिक्षक हुन्। उनका ८ वर्ष र दुई वर्षका दुई छोरी छन्। गर्भमा हुर्किंदै गरेको सन्तानसँगै आफ्ना साना कलिला छोरीहरुलाई छोडेर उनी यो संसारबाट अस्ताउनुपर्यो।
यो घटनाले बर्दियामा केही दिन निकै कोलाहल छायो। उनका श्रिमानले आफ्नी सानी छोरीलाई नानी मैलै तिम्री आमालाई बचाउन सकिनँ भन्दा उनको अन्तिम संस्कारमा पुगेका कसैले आँशु लुकाउन सकेनन्। श्रदाञ्जली दिन पुगेका मेयर पनि केही बोल्न नसकी फर्किए।
विवाहको १५ दिनमै मृत्यु
यस्तै, कहालीलाग्दो अर्को घटना त्यसको १ दिन लगत्तै घट्यो। जेष्ठ २ गते बर्दियाको ठाकुरबाबा ९ का एक अर्का २५ वर्षीय पुरुषले कोरोनाकै कारण ज्यान गुमाए। नेपालगञ्जको भेरी अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको थियो।
ठाकुरबाबा नगरपालिकामा व्यवसाय गर्दै आएका युवाले वैशाख १८ गते विवाह गरे। विवाहको १५ दिनमै उनले संसार छोड्नुपर्यो। बैशाख १८ गते भौतिक दूरी कायम गर्दै थोरै आफन्तको उपस्थितिमा परिवारले ठाकुरबाबाकै एक युवतीसँग उनको विवाह गराइदिएका थिए।
संसार सजाउने सपना सजाउँदै गरेका नवदम्पतीमध्येमा श्रीमानलाई दैवले खोसेपछि अहिले परिवारमा कहालीलाग्दो पीडा थपिएको छ। श्रीमानलाई अस्पताल पठाएकी श्रीमती घरमा अझै श्रीमान कुरेर बस्छिन्। उनलाई लाग्दो हो, श्रीमान् कहिले फर्केर आउँछन् भन्ने। तर उनका श्रीमानले सदाका लागि यो संसार छोडेर यो धर्तीबाट आकाशबाट अस्ताइसकेका छन्।
यो घटनाले दुई परिवारमा मात्रै होइन सिंगो ठाकुरबाबा र बर्दियाभरीलाई नै शोकमा डुबाइदियो। यति कलिलै उमेरमा ज्यान गुमाएका उनी त यो संसारबाट बिदा भए नै सँगसँगै परिवारको खुसी पनि खोसिएको छ।
पेटको सन्तानलाई संसार देखाउन पाइनन्
यी दुई घटना सेलाउन नपाउँदै बर्दियाबासीले अर्को कहालीलाग्दो घटनाको सामना गर्नुपर्यो। बर्दियाकै ठाकुरबाबा नगरपालिकामा मेडिकल सञ्चालन गर्दै आएका मेडिकल सञ्चालककी श्रीमतीले पनि कोरोनाकै कारण ज्यान गुमाउनुपर्यो।
उनको जेष्ठ ५ गते बिहान १ बजे नेपालगञ्जमै उपचारका क्रममा ज्यान गयो। उनी पनि गर्भवती थिइन्। आफ्नो कोखका हुर्किंदै गरेको सन्तानलाई संसार देखाउन नपाइकनै उनी यो संसारबाट अस्ताइन्। उनका एक पूर्ण अपांग छोरा र सानी कलिली छोरी छन्।
उनका श्रीमानले धेरै स्थानीयको ज्यान बचाए। तर, अहिले आफ्नै श्रीमती गुमाउनुपर्दा उनलाई ठूलो पीडा परेको छ। सधैँ मुस्कुराइरहने सबैको मन मुटुमा बस्न सफल भएका उनको मुहारको मुस्कान खोसिएको छ। उनी भन्छन्, ‘आफूलाई जस्तो पीडा अरू कसैलाई भोग्न नपरोस्।‘
कोरोना महामारीले देश काक्रान्त भइरहेका बेला स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेर जोखिमबाट बचाउनु त छ नै, अब ती कलिला सन्तानलाई हुर्काउने जिम्मेवारी पनि उनकै काँधमा आइपुगेको छ। यो घटनाले उनी र उनको परिवारलाई मात्रै होइन पूरै बर्दियाबासीलाई रुवायो। सिंगो ठाकुरबाबा नगरपालिका निःशब्द भयो।
फूलजस्तै फक्रिन लागेका जिन्दगी अस्ताउँदै
यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन जिल्लाभरी हेर्ने हो भने भर्खरै फूलजस्तै फर्किन लागेका थुप्रै जिन्दगीहरू कोरोनाले अकालमै अस्ताउने गरेका छन्। साना कलिला नानीहरूलाई सुन्दर संसार देखाउने सपना बोकेका आमाहरु, भर्खरै विवाह बन्धनमा बाँधिएमा मनहरु सबैसबै कोरोनाले चुँडिदिने गरेको छ। परिवारका खुसी, आशा अपेक्षा सबै तहसनहस हुने गरेका छन्।
अस्पताल गएर नयाँ जिन्दगी लिएर आउनेहरु पनि छन् भने कतिपय अस्पताल पुगेर कहिल्यै नफर्किने गरी सदाका लागि अस्ताउने गरेका छन्।
दैनिक यति धेरै संख्यामा ज्यान गुमाइरहेको देख्दा यो दृश्य कुनै ठूलो युद्धको भन्दा कम देखिँदैन। अहिले विषेगरी युवा वर्गहरुले बढी ज्यान गुमाइरहेका छन्। धरैले त अस्पतालमा बेड नपाएरै ज्यान गुमाउँछन्। मृत्यु अंगालेकाले जीवन गुमाउँछन् भने परिवारले खुसी गुमाउँछन्।
बर्दियाका जटिल प्रकृतिका बिरामीको उपचारका लागि नेपालगञ्ज नै पुग्नुपर्छ। गाउँमै सामान्य रुघाखोकी त हो नि भनेर औषधि सेवन गर्ने अनि ढिलो गरी अस्पताल पुग्ने र अस्पतालमा पनि समयमै बेड नपाउने, अनि बेड पाए पनि, अक्सिजन अभाव हुने लगायतका समस्याले स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।