'खोप नलगाएसम्म विद्यालय जाँदैनाैं'

|

बर्दिया : वैशाख २७ गते नेपाल शिक्षक महासंघ बर्दियाकी सदस्य माया खत्रीले कोरोनाका कारण ज्यान गुमाइन्।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि उनी सावधानी अपनाएरै बसेकी थिइन्। एक्कासि उनलाई रुघाखोकी र जोरो आयो, स्वास फेर्न पनि अप्ठ्यारो भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिइन्। रिपोर्ट आउन समय लाग्यो। 

उनलाई गाह्रो भयो भनेपछि अस्पतालमा अक्सिजनसहित भर्ना गरियो। तर उनलाई बचाउन भने सकिएन। कोरोनाले उनलाई लग्यो। 

उनका श्रीमान नेपाली सेनामा जागिरे थिए। जागिरकै क्रममा नेपाली सेनाबाट उनी फुटबल पनि खेल्थे। उनले जागिर छाडेर एउटा बैंकको शाखामा सुरक्षा गार्डको रुपमा काम गर्न थाले। ड्युटी आउने जाने क्रममा उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो।

श्रीमानको मृत्युपछि पनि उनले अर्को विवाह गरेकी थिइनन्, बरु एक्लै जीवन जिउने निर्णय गरेर छोरालाई हुर्काउँदै थिइन्। तर कोरोनाले उनलाई खुसीसाथ बाच्न दिएन।

श्रीमानको मृत्युपछि सासु र छोराको साहारा बनेकी मायाले पनि यो संसारबाट बिदा लिएको खबरसँगै सिंगो गाउँलाई नै शोकमा डुबाइदियो।

एक शिक्षिका गुमाएको पीडा सकिन नपाउदै बर्दियाले अर्का शिक्षक गुमाउनुपर्‍यो। जेठ २ गते राति अर्का शिक्षक कामेश्वर मण्डलको कोरोनाकै कारण ज्यान गयो। शिक्षा क्षेत्रका बलिया खम्बाहरू एकपछि अर्को गरी गुमाउँदै गएपछि सबैलाई पीडा थपिदियो। 

गएको वर्ष कोरोना संक्रमणका कारण बर्दिया सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पस प्रमुख विनोद कुमार अग्रवालको ज्यान गएको थियो। 

होम क्वारेन्टाइनमा बसिरहेका उनलाई स्वास्थ्यमा जटिल समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुन नपाउँदै उनले ज्यान गुमाउनुपर्‍यो।

बर्दियाका प्रजिअ लीलाधर अधिकारी, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, मधुवन नगरप्रमुख गणेश केसी, बर्दियाका प्रहरी प्रमुख केदार रजौरेलगायत उपस्थितिमा बबई बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख विनोद अग्रवालको भादाघाटमा नेपाली सोनाको टोलीले उनको दाहसंस्कार गरे।

कोरोनाको पहिलो चरणको महामारी फैलिएको समयमा असोज १० गते उनको ज्यान गएको थियो। क्याम्पस प्रमुख अग्रवालको असामयिक निधनले सिंगो बर्दिया जिल्लाकै शिक्षा क्षेत्रका अविभावक गुमाउन पुगेको भन्दै शिक्षाप्रेमीहरूले दुःख व्यक्त गरे।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। कोरोना महामारी सुरु भएयता मात्रै पहिलो र दोस्रो चरणमा गरेर बर्दियाका ७ सहित देशभरबाट २ सय बढी शिक्षकको ज्यान गइसकेको छ।

कोरोना महामारी सुरु गएपछि देशभरका अग्रपंक्तिमा रहेर काम गर्ने सबैलाई सरकारले कोरोनाविरुद्ध खोपको व्यवस्था गर्यो। तर आफूहरूलाई भने खोपबाट सरकारले बञ्चित गरेको शिक्षकहरू गुनासो गर्छन्। 

पहिलो चरणको महामारीमा बन्दाबन्दीको अवस्थामा शिक्षकहरूले पनि आफ्नो तर्फबाट योगदान गरेका थिए। सहरी क्षेत्रतिर भर्चुअल माध्यमबाट शैक्षिक क्रियाकलाप अगाडि बढाएका थिए भने ग्रामीण क्षेत्रमा शिक्षकहरूले टोल टोलमा सानो समूहमा सुरक्षाका मापदण्ड अपनाउँदै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गराएका थिए। उनीहरूले समाजमा जनचेतना जगाउने कार्यसमेत गरेका थिए।

कोभिड–१९ ले विश्व नै आक्रान्त पारिरहेको अवस्थामा विश्वका हरेक देश, हरेक नागरिक, हरेक क्षेत्र र हरेक पेशाकर्मीलाई असर गर्यो। यसबाट शिक्षकहरू अछुतो रहने कुरै भएन।

कतिपय निजी विद्यालयका शिक्षकहरूको त रोजिरोटी अर्थात् पारिश्रमिकसमेत गुमाउनुपरेको अवस्था छ। जसले गर्दा कतिपयको हातमुख जोड्न मुस्किल परेको शिक्षकहरूको गुनासो छ।

दोस्रो चरणमा देखिएको कोरोना महामारीले शिक्षक उच्च जोखिममा परेका छन। अज्ञानबाट ज्ञानतर्फ डोर्‍याउने शिक्षकलाई सरकारले खोप नदिएका कारण उनीहरू दोस्रो लहरमा उच्च जोखिममा पर्दै गएका छन्।

अन्य कर्मचारी निजामती, विभिन्न गैरसरकारी संस्थासहित, ज्येष्ठ नागरिकलाई सरकारले खोप दिए पनि शिक्षकलाई खोप नदिँदा उनीहरू उच्च जोखिममा परेका छन्। 

'हजारौँको भीडमा काम गर्ने हामी सरकारी शिक्षकलाई सरकारले वास्ता नै गरेन,' नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष यज्ञ नेपालले भने, ‘यो त अति नै भयो, खोप नपाउँदा शिक्षकको मृत्युदर बढ्यो।’ 

आफूहरूलाई कोरोनाविरुद्ध खोप दिनमा बेवास्ता गरेको भन्दै शिक्षकहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्ने गरेका छन्। भविष्यका कर्णधार यो देशको शैक्षिक जनशक्ति उत्पादन गर्ने शिक्षकमाथि सरकारले जहिले नै विभेद गरेको भन्दै समयमै खोप नपाउँदा शिक्षकको मृत्युदर बढेको शिक्षकहरू बताउँछन्।

एक शिक्षकले दुख पोख्दै भने, 'एकातिर कोरोनाले एकपछि अर्को गरी शिक्षकहरू खोसेर लाँदै छ, अर्कोतर्फ सरकार शिक्षकहरूलाई खोप दिन बेवास्ता गर्दै आएको छ।'

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारले तयारी गर्‍यो। तर शिक्षकहरू भने खोप नलगाई विद्यालय प्रवेश नगर्ने अडान लिँदै आएका छन्। शिक्षकलाई खोप दिने भन्ने सरकारले तयारीसम्म गरेको छैन।

कतिपय स्थानीय तहले भने आधारभूत तहसम्मको शिक्षाको जिम्मेवारी पालिकाको भएको भन्दै शिक्षकलाई पनि खोप लगाए, तर बर्दियाका कुनै पनि पालिकामा शिक्षकहरूलाई खोप दिने योजना सम्म नबनेको शिक्षकहरू गुनासो गर्छन्।

अहिले बर्दियाका ८ वटै पालिकाका विद्यालयमा आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन भइरहेको छ। ठाकुरबाबा नगरपालिकाका त्रिभुवन मावि, किसान मावि बबई शिशु मावि लगायत विद्यालयले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिसकेका छन्। अन्य विद्यालय पनि यस्तै गर्ने तयारी गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.