|

तनहुँ : देशैभरका धेरैजसो स्थानीय तहले बिहीबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। १० वटा स्थानीय तहमध्ये बिहीबार आठ पालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् भने दुई वटामा स्थगित भएको छ।

जिल्लाको सबैभन्दा पुरानो अर्थात जेठो स्थानीय तह व्यास नगरपालिकाले ३५औं नगरसभामा आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम र बजेट बिहीबार सार्वजनिक गरेको छ। नगरपालिकाले भौतिक पूर्वाधारदेखि सहरी विकाससम्मका विषयलाई ७८/७९ को नीति तथा कार्यक्रममा समावेश गरी बजेट सार्वजनिक गरेको हो। 

व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले२०७८/७९ का लागि एक अर्ब दुई करोड ८७ लाख १२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेकी छन्। नगरपालिकाको ३५औं नगरसभामा जोशीले आगामी वर्षका लागि उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

नगरपालिकाले चालु आर्थिक वर्षमा भन्दा आगामी वर्षका लागि २५ करोड रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ५२ करोडको बजेट ल्याएको थियो।

कुल विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ १० करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फ ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ दुई करोड ५४ लाख ६६ हजार छ। 

चालु खर्चतर्फ एक अरब दुई करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ रु.७५ करोड दुई लाख विनियोजन गरिएको गरिएको छ। उपप्रमुख जोशीका अनुसार कुल बजेटमध्ये आर्थिक विकासमा ५.६९ प्रतिशत, सामाजिक विकासमा ५२.३८ प्रतिशत, पूर्वाधार विकासमा २५.५१ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ १३.८० प्रतिशत विनियोजन भएको छ। 

उक्त बजेटमध्ये संघ सरकारको सशर्त अनुदानबापत ५६ करोड १७ लाख रुपैयाँ, संघ सरकारको सामाजिक सुरक्षा अनुदान बापत २१ करोड, आन्तरिक स्रोतको आयबाट २० करोड ५० लाख, संघ सरकारको वित्तीय समानीकरण अनुदानबापत १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट १५ करोड ३७ लाख १२ हजार, संघ सरकारको राजश्व बाँडफाँटबाट १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ। 

त्यस्तै नगर विकास कोष ऋणबाट १० करोड, प्रदेश वित्तीय समानीकरण अनुदान वापत दुई करोड ४४ लाख ७८ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट एक करोड ६५ लाख, संघ विशेष अनुदान एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदान एक करोड, प्रदेशको सशर्त अनुदान एक करोड आम्दानी हुने अनुमान गरिएको छ। 

ऋषिङको बजेट ५२ करोड २९ लाख ५३ हजार 

ऋषिङ गाउँपालिकाले ५२ करोड २९ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापाले आर्थिक वर्ष २०७८/७९को लागि ५२ करोड २९ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। 

कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको सुधार, सबै वडामा पुग्ने गरी पक्की कालोपत्रे सडक बनाउने कार्यलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। 

म्याग्देको बजेट ६५ करोड ८२ लाख

म्याग्दे गाउँपालिकाले दशौं गाउँसभामा बिहीबार २०७८/७९ का लागि ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभामा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हुन्। 

चालतर्फ ३८ करोड सात लाख १५ हजार र पुँजीगततर्फ २७ करोड ७५ लाख ४६ हजार विनियोजन गरिएको छ। गाउँपालिकाले कृषि, पशु, घरेलु तथा साना उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई बढी प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष मायादेवी राना आलेले बताइन्। 

आँबुखैरेनी गाउँपालिकाको बजेट ६१ करोड ७० लाख ६१ हजार 

आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको छैटौं गाउँसभामा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर बिहीबार बजेट सार्वजनिक गरेको हो। 

गाउँपालिकाले ६१ करोड ७० लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। उनका अनुसार आर्थिक विकासतर्फ ५ करोड २७ लाख ४५ हजार, सामाजिक विकासतर्फ २१ करोड २३ लाख ९० हजार, पूर्वाधार विकासतर्फ १७ करोड नौ लाख ६० हजार, सुशासन तथा अन्त सम्बन्धित एक करोड २७ लाद ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ९ करोड ८२ लाख १६ हजार र सामाजिक सुरक्षामा ७ करोड विनियोजन गरिएको छ। 

गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। यससँगै गाउँपालिका नदीको जोखिम रहेकाले विपद व्यवस्थापनलाई समेत विशेष समेटिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन्। 

बन्दीपुरको बजेट ५१ करोड ३४ लाख 

बन्दिपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९को लागि ५१ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले बजेटमा कोरोना रोकथाम र नियन्त्रण, पर्यटन पुर्वाधार निर्माणमा जोड दिएको गाँउपालिका अध्यक्ष पूर्ण सिंह थापाले बताए। 

कृषिमा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप कृषि उत्पादनमा आधारित बजेटलाई विशेष प्राथमिकता दिइएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताइन्। गाउँसभामा उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि ५१ करोड ३४ लाख एक हजार ५ सय रुपैयाँ बजेट सार्वजनिक गरिएको छ।  

गाउँपालिकाद्वारा नीति तथा कार्यक्रममा अघिल्लो आर्थिक वर्षमा सुरुवात भएको काम निरन्तरता दिने तथा घोषणा गरेको छ। खानेपानीको समस्या भोगिरहेकामा विगतदेखि थालिएको अभियानअन्तर्गत अब एक घरमा एक धारा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको छ।

देवघाटको बजेट ५० करोड

देवघाट गाउँपालिकाको गाउँसभाले ५० करोडको बजेट सार्वजनिक गरेको छ।  स्वास्थ्य, शिक्षा र आन्तरिक राजश्व वृद्धिलाई प्राथमिकतामा राखेको छ। 

गाउँपालिकाले सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य तथा आन्तरिक राजश्व वृद्धि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए। गाउँपालिकाले कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा पकेट क्षेत्रको विकास गर्ने नीति लिएको गाउँपालिकाले उल्लेख गरेको छ।  

कोभिड–१९ को संक्रमण र बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पंशुपक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको बताइएको छ।

घिरिङको ४५ करोड

घिरिङ गाउँपालिकाले ४५ करोडको प्रस्तुत गरेको छ। घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निशुल्क उपलब्ध गराउने, १० शैय्याको कोभिड अस्पताललाई २० शैयाको बनाउने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको छ।

दुई पालिकाको नगरसभा स्थगित 

जिल्ला दुई पालिकाको बजेट सार्वजानिक कार्यक्रम स्थगित भएको छ। शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको नगरसभा रोकिएको हो। 

शुक्लागण्डकीको कोभिड १९ को संक्रमणबाट वडा सदस्यको मृत्यु भएकाले शोक सभा गरी नगरसभा स्थगित गरेको छ। त्यस्तै भानुको रकम बाँडफाँटमा विवाद भएकोले स्थगित गरिएको नगरपालिकाले जनाएको छ। 

शुक्लागण्डकी–६ का वडा सदस्य श्रीबहादुर थापाको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थगित गरिएको हो। नगरसभा सदस्य थापाको बुधबार ६५ वर्षको उमेरमा निधन भएको थियो।

भानुको कार्यालय भवन स्थानान्तरण र तयारी नपुगेको भन्दै विरोध आएपछि स्थगित भएको नगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.