पर्सा : कोरोनाले गत वर्ष खुलेर मनाउन नपाएका भोजपुरावासीले यस वर्ष भव्य रुपले छठ मनाएका छन्।
छठको मुख्य दिन यहाँका सबै नदी, तलाऊ र पोखरीमा श्रद्धालु तथा भक्तजनले बुधबार साँझ ‘सँझिया घाट’ बाट सूर्यलाई अर्घ्य दिँदै भव्य रुपले पर्व मनाएका हुन्।
स्थानीय नदी, तलाऊ र पोखरीहरू बेहुलीजस्तै सिंगारिएका छन्। पर्साको घडिअर्वा पोखरी, स्विमिङ पुल परिसर, मुर्ली, रानीघाट, छपकैया, नगवा, तिलावे नदीलगायत नदी तथा पोखरीहरू साँझमा धपक्कै बलेजस्ता छन्।
हिमानी शाह घडिअर्वामा सरिक
भोजपुरा क्षेत्रको वीरगन्जस्थित घडिअर्वा पोखरी परिसरमा पूर्वयुवराज्ञी हिमानी शाहले पनि दीप प्रज्ज्वलन गर्दै सूर्यनारायण मन्दिरमा पूजाआजा गरी छठ पर्व मनाएकी छन्।
उनको आगमनले श्रद्धालु तथा भक्तजनको मात्र नभई स्थानीय सर्वसाधारणको आकर्षण पनि घडिअर्वा पोखरीतर्फ ह्वात्तै बढेको थियो।
घडिअर्वा पोखरी परिसरमा पूरै परिक्रमा गर्न नमिल्ने गरी एउटा गेटबाट प्रवेश गरी लगत्तै अर्को गेटबाट बाहिरिने व्यवस्था गरिए पनि चार गेट भएर पनि त्यहाँ थामिनसक्नु भीड रह्यो।
भीडको व्यवस्थापन गर्न पोखरी व्यवस्थापन समिति, त्यहाँ खटेका सुरक्षाकर्मी र स्वयंसेवकलाई हम्मेहम्मे हुँदा श्रद्धालु तथा भक्तजन र पूर्व युवराज्ञी हिमानीले पनि निकै असहज महसुस गरेको प्रत्यक्षदर्शीले बताए।
वीरगन्जको मुटुमा रहेको घडिअर्वा पोखरी परिसरमा छठ मनाउनेको यतिकै भीड हुने ठाउँमा नै राजतन्त्र समर्थकले हिमानीलाई उपस्थित गराएपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई हिमानीलाई गन्तव्यसम्म पुर्याउन निकै सकस भएको थियो।
बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन
नहाएखाए गरी ४ दिनसम्म विशेष श्रद्धापूर्वक मनाइने यो पर्वमा व्रतालुले ३६ घण्टा पानीसमेत नखाई व्रत बसेर पर्व मनाउँदै छन्।
उनीहरूले मंगलबार साँझ रसियाउ रोटी खाएपछि बिहीबार बिहान उदाउँदो सूर्यलाई पनि अर्घ्य दिएपछि मात्र पानी तथा खाना खाने चलन छ।
बिहीबार बिहान पनि स्थानीय नदी, तलाऊ र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ सकिने भक्तजनले बताए।
पर्सा, बारा र रौतहट समेटिएको भोजपुरा क्षेत्रमा कोरोनाको संक्रमण कम हुँदै गएपछि यो वर्ष छठ पर्व भव्य मनाइएको स्थानीय मनोज साहले बताए।
'पूर्वयुवराज्ञी हिमानी पनि छठ पर्वको मुख्य दिन वीरगन्ज आएपछि भने यो वर्ष भोजपुरा क्षेत्रको पर्सामा छठ अझ विशेष बन्यो,' उनले भने।
तस्वीरमा वीरगन्जको छठ:
तपाईंको ईमेल गोप्य राखिनेछ ।