|

डडेल्धुरा : टी–२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीका युवा फास्ट बलर शाहीनशाह अफ्रिदीले भारतविरुद्ध शानदार बलिङ गरे।

उनले रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहलीलाई आउट गरेका थिए। त्यतिबेला उनीमा खुसीको सीमा नै थिएन। उनले पहिलो विकेट लिएपछि बाउन्ड्री लाइनमा उभिएर उत्सव मनाए। तर, यो खुसी केही दिनको पाहुना मात्र बन्यो। यो खुसी अष्ट्रेलियाको टोलीले खोसिदियो। भारतीय टोलीको टपअर्डर तहसनहस पारेका थिए।

पावरप्लेमा पहिलोपटक तीन ओभर बलिङ गरेका शाहीनले पहिलो दुई ओभरमा दुई विकेट लिएर पाकिस्तानलाई उत्कृष्ट सुरुवात गराएका थिए। रोहितलाई शून्य र राहुललाई ३ रनमा आउट गरेका उनले कप्तान कोहली (५७) को समेत विकेट लिए। शाहीनले चार ओभरमा ३१ रन दिएका थिए। तर, सेमिफाइनल म्याचमा अफ्रिदीमाथि अष्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड हाबी भए।

अ​फ्रिदीले सेमिफाइनल म्याचको १९औं ओभरका अन्तिम तीन बलमा लगातार तीन छक्का खाए। जुन कुरा उनले सधैं सम्झिरहनेछन्। वेडले पाकिस्तानविरुद्धको १९औं ओभरको अन्तिम तीन बलमा तीन छक्का प्रहार गर्दै पाकिस्तानबाट खेल खोसेका थिए। उनले यी तीन छक्का अफ्रिदीविरुद्ध प्रहार गरेका थिए।

शाहीनले यो ओभरअघि मात्र ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए। तर, १९ औं ओभरमा उनले २२ रन दिएपछि खेल पाकिस्तानको हातबाट चिप्लियो।

उनले अष्ट्रेलियासँगको खेलमा ४ ओभरमा ३५ रन खर्चिएर १ विकेट मात्र लिन सके। भारतविरुद्ध तीन विकेट बाहेक अफ्रिदीले पूरै प्रतियोगितामा कुनै पनि खेलमा एकभन्दा बढी विकेट लिन सकेका छैनन्।

नामिबियाविरुद्ध उनी विकेट विहीन रहेका थिए। अष्ट्रेलियाले अफ्रिदी र पाकिस्तानी टोलीलाई दिएको नमिठो चोटलाई कसैले भुल्ने छैन। किनकी पाकिस्तान टी–२० विश्वकपमा लिग चरणमा सबै खेल जित्ने एकमात्र टोली थियो।

पाकिस्तानलाई ५ विकेट हराउँदै अष्ट्रेलिया उपाधि नजिक पुगेको छ। अब अष्ट्रेलियाले उपाधिका लागि आइतबार न्यूजिल्याण्डसँग खेल्नेछ। न्यूजिल्याण्ड पनि इंग्ल्याण्डलाई पाँचै विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ।

शाहीद अफ्रिदी असन्तुष्ट

पाकिस्तानका पूर्वअलराउन्डर शाहीद अफ्रिदीले अष्ट्रेलियासँगको सेमिफाइनल खेलमा पाकिस्तानी क्रिकेट टोलीको पराजयप्रति प्रतिक्रिया दिएका छन्। शाहीन अफ्रिदीलाई निशाना बनाउँदै उनले १९ औं ओभरमा निकै खराब बलिङ गरेको बताएका हुन्।

शाहीद अफ्रिदीका अनुसार शाहीनले आफ्नो दिमाग प्रयोग गर्न पर्दथ्याे। तर, उनले त्यसो नगरेको शाहीदको भनाइ छ। पाकिस्तान र अष्ट्रेलियाबीचको खेलपछि एक टेलिभिजनसँग कुरा गर्दै अफ्रिदीले शाहीनशाह अफ्रिदीले गरेको १९औं ओभरका बारेमा प्रतिक्रिया दिएका हुन्। जसमा म्याथ्यु वेडले तीन छक्का प्रहार गरेर खेलको अन्त्य गरेका थिए।

शाहीद शाहीन अफ्रिदीको बलिङबाट खुसी थिएनन्। ‘म शाहीनसँग एउटा कुरामा खुसी छैन। हो, हसन अलीले क्याच छोडे तर यसको मतलब यो होइन कि तपाईंले खराब बलिङ गर्नुहुनेछ र लगातार तीन छक्का प्रहार गर्न दिनुहुनेछ। शाहीनसँग धेरै गति छ र यसलाई वुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्दथ्यो,’ उनले भने, ‘क्याच छोडेको भएपनि उसले आफ्नो वुद्धि प्रयोग गरेर अफ स्टम्पबाहिर द्रुत योर्कर बलिङ गर्नु पर्दथ्यो। उनी त्यस्तो बलर होइनन्, जसकोविरुद्धमा यस्तो ब्याटिङ गर्न सकिन्छ।’

टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियासँग हार बेहोरेको थियो। यससँगै उसको विश्वकप जित्ने सपना पनि चकनाचुर भयो। १७७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया टोली एक समय निकै कठिन अवस्थामा थियो।

टोलीलाई अन्तिम दुई ओभरमा २२ रन चाहिएको थियो तर वेडले शाहीन अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए। सोही ओभरमा हसन अलीले वेडको क्याच पनि छोडेका थिए।

को हुन् अफ्रिदी ?

२१ वर्षीय अफ्रिदी पाकिस्तान क्रिकेट टोलीका स्टार बलरहरूमध्ये एक हुन्। उनले पाकिस्तानका लागि तीनवटै प्रारूपको क्रिकेटमा नियमित सहभागिता जनाइरहेका छन्।

उनी अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानको खैर जिल्लामा हुर्किएका हुन्। सात भाइहरूमध्ये अफ्रिदी सबैभन्दा कान्छा हुन्। उनका जेठा भाइ रियाज अफ्रिदी हुन्। रियाज र शाहीनको उमेर अन्तर १५ वर्षको छ।

शाहीनलाई क्रिकेटमा ल्याउने श्रेय उनका दाइ रियाज अफ्रिदीलाई जान्छ। रियाजले पनि पाकिस्तानबाट क्रिकेट खेलिसकेका छन्। उनले सन् २००४ मा एक मात्र टेष्ट खेल खेलेका थिए।

शाहीनले आफ्नो क्रिकेट करियर भने लान्डी कोटलको टाटारा मैदानबाट सुरु गरेका हुन्। जुन नजिकैको टाटार पहाडहरूको नाममा राखिएको हो। शाहीन चार वर्षको उमेरदेखि नै क्रिकेट खेल्दै आएका छन्।

रियाजले २०१५ मा ‘एफटिए’ अन्डर–१६ ट्रायलमा शाहीनलाई हार्ड–बल क्रिकेटमा परिचय गराउँदासम्म शाहीनले टेनिस–बल क्रिकेट मात्र खेलेका थिए। यस स्तरको सफलताले शाहीन नोभेम्बर २०१५ मा अष्ट्रेलिया भ्रमणको लागि छनोट भएका थिए।

जहाँ उनले एक दिवसीय र टी–२० शृंखलामा २–१ को जितमा चार विकेट लिएका थिए। त्यसपछि उनले विभिन्न उमेर समूहको क्रिकेट खेल्ने क्रम जारी राखे। सन् २०१८ मा उनी अन्डर–१९ विश्वकपका लागि पाकिस्तानी टोलीमा छनोट भएपछि उनले अन्तरराष्ट्रिय मान्यता पाएका थिए। जहाँ उनले ५ खेलमा १२ विकेट लिए।

सोही वर्षको अन्त्यमा उनले पाकिस्तानको लागि डेब्यू गर्ने मौका पाए। र, उनी २१औं शताब्दीमा जन्मेका पहिलो क्रिकेटर बने। जसले पाकिस्तान टोलीमा खेल्ने मौका पाए।

शाहीनले ३ अप्रिल २०१८ मा वेस्टइण्डिजविरुद्ध आफ्नो टी–२० डेब्यू गरेका हुन्। सोही वर्ष सम्पन्न एसियाकप एकदिवसीय क्रिकेटमा डेब्यू गर्ने मौका पनि पाए।

सोही वर्षको अन्त्यमा न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजमा उनले टेष्टमा डेब्यू गर्ने मौका पाए। ६ फिट ६ इन्च उचाईं भएका अफ्रिदीले हालसम्म १९ टेष्ट खेलमा ७६ विकेट, २८ वान डेमा ६३ विकेट र ३६ टी–२० मा ३९ विकेट लिएका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.